कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैन : ओली

 पुस १६, २०८० सोमबार १६:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो । कांग्रेस सत्ताको अमनचयनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको उहाँले भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन । कुनै अमनचयनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला 'भ्यु टावर' बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो भनी प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘विश्वप्रकाशजीले अग्ला घर किन बनाइस् ? कलकता जान गङ्गाको बाटो किन खनिस् ? ट्रक कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् ? ट्याङ्कर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस् ? बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस् ? त्यत्रो साढे आठ लाख पुनर्निमित घरहरू त्यति छोटो अवधिमा बनाएर पीडितहरूलाई किन हस्तान्तण गरिस् भनेर भन्नुभयाे । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नुभयो । त्यसको पनि म जवाफ दिन्न । म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिन । यत्ति हो, यो देशमा कहिले–कहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको दाबी गर्नुभयाे । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको उहाँकाे भनाइ थियो ।

ओलीले एमालेले राष्ट्रियताको प्रश्न, देशको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मलेमिलाप गरेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया