बालकुमारी घटनामा प्रधानमन्त्रीको अनुमान– गणतन्त्रविरुद्धको 'डिजाइन' हुन सक्छ

 पुस १६, २०८० सोमबार १७:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई जना युवाको ज्यान गएकाे र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको दाबी गर्नुभएकाे छ ।

आज सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताउनुभएको हो । उहाँले आफूले सम्बन्धित निकायसँग घटनाबारे 'ब्रिफिङ' लिँदा सामान्य नलागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अस्तिको घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । घटनाकाे अर्काे दिन बिहान घटनाक्रमको 'ब्रिफिङ' लिइयो । म अहिले सबै भन्न चाहन्न । केही कुरा गम्भीर लागेको छ । दुई जना युवाको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपीएसमा जे–जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो गतिविधि भएको छ । घटना जस्ताे देखिएकाे छ त्यस्ताे छैन । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त हाेइन भन्ने अनुमान छ । त्यसै कारण याे घटनासँग सम्बन्धितलाई निलम्बन गरिएकाे छ र उच्चस्तरीय छानबिन आयोग बनाइएकाे छ । सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भीर ढङ्गले समीक्षा गरिएको छ ।’

प्रधानमन्त्रीले मृतकका परिवारलाई रोजगारी दिने र शहीद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँले नागरिकलाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारोबाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने उल्लेख गर्नुभयाे ।

प्रचण्डले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिचकिचाउन सत्तारूढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अपिल गर्नुभयो । उहाँले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सहमति भएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया