आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस : सुरक्षित भौतिक संरचनाले भूकम्पबाट हुने क्षति धेरै कम गर्ने

 माघ २, २०८० मंगलबार ६:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । यसपालि ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराकासाथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।     

भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा हुँदैछ । ललितपुर र भक्तपुरमा पनि कार्यक्रम हुनेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।

प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । ९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।     

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार १९९० को भूकम्पमा परि आठ हजार पाँच सय ९१ जनाको ज्यान गएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार ४० संरचना भत्किएको थियो ।

त्यस्तै, २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परि आठ हजार ८ सय ५७ जनाको ज्यान जानुकासाथै सात लाखभन्दा धेरै आवासमा क्षति पुगेको थियो ।

वरिष्ठ भूकम्पविद् अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भएकाे छ । 

उहाँले भन्नुभयो,‘पछिल्लो समय जाजरकोट, बझाङ र डोटीको भूकम्पदेखि विगतको ९० सालको भूकम्पबाट पाठ सिकेर अहिलेसम्म तयारी राम्रो पुगेको छैन भन्ने कुरा हाम्रो वर्तमान पूर्वतयारीको अवस्थाले देखाउँछ।’

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया