ऊर्जमन्त्रीकाे दाबी– ‘नेपालले आउँदाे १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्नेछ’

 माघ ४, २०८० बिहिबार १५:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आउँदाे १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने दाबी गर्नुभएकाे छ ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको जग बसेको दाबी गर्नुभएको हो । उहाँले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘अबकाे १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ । आउँदाे १२ वर्षमा हामी २८ हजार ७ सय मेगावाट बिजुली उत्पादन गर्न सक्छाैँ । यो उपलब्धिले हाम्रा सामु नयाँ सम्भावना, अवसर पनि सिर्जना गरेको छ । तर हरेक उपलब्धि, सम्भावनासँगै नयाँ चुनौती पनि सिर्जना भएका छन् । चुनौतीको उचित व्यवस्थापन गर्ने र सम्भावनालाई अझ व्यावहारिक बनाउँदै इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ । अहिले सरकार त्यही बाटोमा अघि बढिरहेको छ ।’

मन्त्री बस्नेतले पछिल्लो ८ वर्षमा २२ सय मेगावाट बिजुली उत्पादन गरेको र अबको ३ देखि ४ महिनाभित्र ४/५ सय मेगावाट उत्पादन हुने बताउनुभयो । लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बस्नेतकाे भनाइ छ । लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको उहाँको दाबी छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया