इजरायली आक्रमणले गाजामा हजाराैँ बालबालिका घाइते अवस्थामा छटपटाउँदै, डाक्टरकाे मुटु ‘छियाछिया’

 माघ १७, २०८० बुधबार १८:६:१७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजलायलको अन्धाधुन्ध आक्रमणका कारण प्यालेस्टिनको गाजाका बालबालिका घाइते, भोक र एक्लोपनामा बस्न बाध्य भएका छन् ।

बीबीसीले गरेको खोज समाचारअनुसार गाजामा झन्डै चार महिनाको अवधिमै ११ हजार पाँच सय जना बालबालिकाले ज्यान गुमाएका छन् । हजारौँ बालबालिका घाइते अवस्थामा छटपटाइरहेका छन् । उनीहरूले राम्रोसँग उपचार र खानेकुरा पाएका छैनन् । कैयौँ नवजात शिशुका आमाबुवा मारिएका छन् वा हराइरहेका छन् ।

सुत्केरी हुन ठिक्क परेको बेला इजरायली आक्रमणमा हन्ना अबु अम्शाको ज्यान गयो, उनको पेट चिरेर डाक्टरले एउटी छोरी निकालेका थिए । अहिले एक महिनाको उमेरकी शिशुको नाम डाक्टरले हन्ना अबु अम्शाकी छोरी राखिदिएका छन् । शिशुले आमाको काखमा बस्न पाइनन्, आमाले छोरीको अनुहारसमेत देख्न नपाई प्राण त्यागिन् । शिशुका बुबा कहाँ छन् थाहा छैन, आफन्त पनि भेटिएका छैनन् ।

गाजामा यस्ता हृदयविदारक हजारौँ दृश्य देखिने डाक्टरहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आमाबुबा गुमाएका नवजात शिशुको स्याहार र उपचार गर्दा आफूहरूको मुटु छियाछिया हुने उनीहरूको भनाइ छ । गाजामा २४ हजारभन्दा धेरै बालबालिकाले आमा, बुवा वा आमाबुवा दुवै गुमाएका छन् । उनीहरूको जीवन रक्षा र हेरचाह ठूलो चुनौती बनेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।

अभिभावक र आफन्तको टुङ्गो नभएका केही बालबालिका सडकमा भौतारिरहेका भेटिन्छन् । धेरै बालबालिका डर र एक्लोपनामा बाँचिरहेका छन् । छिनछिनमा हुने इजरायली आक्रमणका कारण कैयौँ बालबालिकाको होस गुमेको छ । युनिसेफले गाजाका लगभग सबै बालबालिकालाई अब मानसिक स्वास्थ्य सहयोगको खाँचो रहेको बताएको छ । युद्धले गाजाको सिङ्गो नयाँ पुस्ता नै सङ्कटमा परेको र अब युद्ध रोकिए पनि बालबालिकाको जीवन सहज नहुने देखिएको छ । समुद्रकाे पानी 'फिल्टर' नगरि पिउँदा सयौँ बालबालिका बिरामी परेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया