थापाथली प्रसूति गृहबाट बच्चा लगेको आरोपमा महिलासहित उनकी दिदी र श्रीमान् पक्राउ

 फागुन १२, २०८० शनिबार ९:५१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा लगेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् । शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ ।

आरोपित महिला दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ । शिशु लैजाने महिलालाई उनकी दिदीले पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । यसबारेमा दिदी र महिलाका श्रीमान्सँग सोधपुछ भैरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीका अनुसार विस्तृत विवरण अनुसन्धानपछि खुल्नेछ । हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएको उजुरी परेको थियो । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी ती महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएपछि हुलियाका आधारमा खोजी थालिएको थियो ।

शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले उजुरी दिनुभएको थियो । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया