चार अस्पतालको फोहर सङ्कलनमा काठमाण्डाै महानगरको रोक

 फागुन १४, २०८० सोमबार ९:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ । महानगरले कलङ्की क्षेत्रमा शहीद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चाबहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै रोक लगाएको हो । यसअघि पनि महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।

फोहर सङ्कलनमा रोक लगाइएका अस्पतालहरूलाई सङ्क्रमित फोहर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका सङ्घघसंस्थाहरूको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरपालिकाले विगत दुई हप्तादेखि अस्पतालजन्य फोहरको नियमित अनुगमन र आवश्यक निर्देशन दिँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया