फेब्रुअरीमा हवाई माध्यमबाट भित्रिए ९७ हजार जनाभन्दा धेरै पर्यटक

 फागुन १९, २०८० शनिबार ९:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सन् २०२४ को फेब्रुअरी महिनामा ९७ हजार चार सय २६ जना विदेशी पर्यटक हवाई माध्यमबाट मात्र नेपाल भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्ष अर्थात सन् २०२३ को तुलनामा ३३ प्रतिशत धेरै हो । सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक हवाइमार्गबाट नेपाल भित्रिएका थिए ।

यस्तै कोरोना महामारी शुरु हुनु भन्दा अघिको वर्ष अर्थात सन् २०१९ को फेब्रुअरीको तुलनामा ९५ दशमलव १२ प्रतिशत कम मात्रै पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ अहिलेसम्म सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको वर्ष हो । 

कोरोना महामारीले सन् २०२०, २०२१ र २०२२ मा विश्वभरकै पर्यटन व्यवसाय प्रभावित भएको थियो।अहिले रुस–युक्रेन तथा मध्यपूर्वमा चलेको युद्ध र विश्वव्यापी आर्थिक मन्दीका कारण पर्यटक घट्ने चिन्ताकाबीच सन् २०२४ को शुरुमा पर्यटक आगमन उत्साहजनक रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

नेपालमा पर्यटकीय सिजन मार्चदेखि शुरु हुने भएकोले यो वर्ष पर्यटक सङ्ख्या उल्लेख्य बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । गएको फेब्रुअरी महिनामा सबैभन्दा धेरै भारतीय पर्यटकको सङ्ख्या २५ हजार ५ सय ७८ जना रहेको छ । स्थलमार्गबाट आउने पर्यटकको सङ्ख्या गणना नहुने भएकोले भारतीय पर्यटकको सङ्ख्या अझै धेरै हुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया