काठमाण्डौ महानगर र २३ वटा क्याम्पसबीच सीपमूलक तालिम सञ्चालनका लागि सम्झौता

 फागुन २५, २०८० शुक्रबार ९:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सीपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ।यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सीप विकास तालिम सञ्चालन हुन्छन् ।

सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सीप नजानेका र सीपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सीप सिकाउने तथा सीपको स्तरोन्नति गराइने महानगरले जनाएको छ । १५ हजार जना व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने कार्यक्रमको लक्ष्य रहेको छ । सम्झौता अनुसार कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् ।

प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रमको सुखद् थालनी नतिजामा देखिनुपर्ने बताउनुभयो ।  सीपमूलक तालिम लिनका लागि अहिलेसम्म १० हजार जनाको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो छ ।

विभागका निमित्त प्रमुख कोइरालाका अनुसार महानगरपालिकामा बसोबास गरिरहेका व्यक्ति र फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिक लक्षित वर्ग तोकिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया