माल्दिभ्स पुग्ने भारतीय पर्यटककाे सङ्ख्या ३३ प्रतिशतले घट्याे, कुटनीतिक विवादकाे असर पर्यटनमा

 फागुन २६, २०८० शनिबार १५:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या गएको वर्षको तुलनामा ३३ प्रतिशतले घटेको छ । न्यु दिल्ली र मालेबीचको कुटनीतिक विवाद निरन्तर बिग्रँदै गएको कारण माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्यामा उच्च गिरावट आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै त्यहाँको बेबसाइट अधाधुले जनाएको छ ।

पर्यटन मन्त्रालयको २०२३ को तथ्याङ्कअनुसार गएको वर्षको मार्च ४ सम्म ४१ हजार ५४ जना भारतीयले माल्दिभ्स भ्रमण गरेका थिए । यो वर्षको मार्च २ सम्म भने जम्मा २७ हजार दुई सय २४ जना भारतीय पर्यटक माल्दिभ्स पुगेका खबरमा उल्लेख छ । यो वर्ष गएको वर्षको तुलनामा १३ हजार जनाभन्दा कम भारतीय पर्यटक माल्दिभ्स पुगेका हुन् ।

गएको वर्षको यही अवधिमा भारत १० प्रतिशत बजार हिस्सेदारीसहित माल्दिभ्समा पर्यटकका लागि दोस्रो सबैभन्दा ठूलो स्रोत बजार थियो । तर अहिले छ प्रतिशत बजार हिस्सेदारीसहित भारत छैटौँ स्थानमा आइपुगेको छ । समाचार एजेन्सी एउनआईका अनुसार हरेक वर्ष दुई लाख जनाभन्दा धेरै पर्यटकका साथ भारत सन् २०२१ देखि २०२३ सम्म माल्दिभ्सका लागि शीर्ष पर्यटन बजार बनेको थियो । तर यो वर्ष ५४ हजार जनाभन्दा धेरै पर्यटकसहित चीन शीर्ष बजार बनेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर माल्दिभ्सका तीन जना उपमन्त्रीले अपमानजनक टिप्पणी गरेपछि दुई देशबीचको विवाद बढ्दै गएको छ । त्यसयता भारतीयहरूले माल्दिभ्सको सट्टा लक्षद्वीप नै घुम्न जाने अभियान नै चलाउँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया