भर्ना अभियान शुरु हुनुअघि नै विद्यार्थीकाे हातहातमा पाठ्यपुस्तक पुर्‍याउने तयारी

 चैत २, २०८० शुक्रबार १२:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ शुरु हुनअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने तयारी गरेको छ । केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर गरेर काठमाण्डौ उपत्यकाबाहेक सात वटै प्रदेशमा रहेका केन्द्रको नौ वटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण शुरु गर्ने जनाएको छ ।

केन्द्रले अहिले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताउनुभयो । आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न शुरु गर्ने प्रबन्ध निर्देशक झाले बताउनुभयो ।

उहाँका अनुसार पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र, तेस्रोमा तराईमा र अन्तिममा काठमाण्डौ उपत्यकामा पुस्तक वितरण गर्ने तयारी छ ।

केन्द्रले आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिक सत्रका लागि गएको वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र शुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया