सुन तस्करी प्रकरणको छानबिनमा सीआईबीले त्रुटि गरेको आयोगको निष्कर्ष

पूर्वसभामुख महरासहित थप ७ जनालाई मुद्दा चलाउन सिफारिस

 चैत २, २०८० शुक्रबार १४:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सुन तस्करीको छानबिनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रुटि गरेको निष्कर्ष निकालेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा सीआईबीले गम्भीर त्रुटि गरेको निष्कर्षसहित ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगले सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरेकाे छ ।

यस्तै आयोगले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित थप सात जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । यस्तै आयोगले सहसचिव एवम् अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रशासक अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

यसैबीच सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुका ५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।

आज बिहान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । गृहमन्त्री लामिछानेसँग छलफल गरेपछि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । गृहमन्त्री लामिछानेले सुन तस्करीको अनुसन्धानमा गम्भीर लापर्बाही गरेको पाइएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया