नेपालमा ८६ प्रतिशत परिवारसँग आफ्नै स्वामित्वको घर, अनुदान लिएर घर बनाउने १२ प्रतिशत

 चैत ४, २०८० आइतबार १८:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जाकाे वालिङ नगरपालिकामा रहेका एकै रङ्गका घर । फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को ‘घर र पारिवारिक अवस्थाको प्रतिवेदनको सारांश’ प्रतिवेदनले नेपालमा अहिले धेरै परिवारको आफ्नै घर रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार ८६ प्रतिशत परिवार आफ्नै स्वामित्व भएको घरमा बसोबास गरिरहेका छन् भने १२ दशमलव ८ प्रतिशत परिवार भाडामा लिएको घरमा बसोबास गरिहेका छन् । यस्तै झण्डै एक प्रतिशत परिवार सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारको आवासीय एकाइमा रहेका तथ्याङ्कले देखाएको छ ।

प्रतिवेदनअनुसार सहरी परिवारको ठूलो बहुमत अर्थात् ८९ दशमलव ५ प्रतिशत पक्की घर र झण्डै ८ प्रतिशत परिवार अर्धपक्की घरमा बसिरहेका छन् । जनगणनाले १२ प्रतिशत परिवारले घर बनाउनका लागि आंशिक वा पूर्ण अनुदान प्राप्त गरेको देखाएको छ । यो सहयोग हिमालय क्षेत्रमा सबैभन्दा धेरै ३२ दशमलव २ प्रतिशत छ । तराई क्षेत्रमा सबैभन्दा कम ४ प्रतिशत परिवारले मात्रै घर अनुदानबाट बनाएका छन् । प्रादेशिकरूपमा सबैभन्दा बढी बाग्मतीका ३६ र गण्डकी प्रदेशका १७ प्रतिशत परिवारले घर निर्माणमा अनुदान पाएका छन् ।

यस्तै देशभर एक तले घर ६० प्रतिशतभन्दा बढी, दुई तले घर २९ प्रतिशत, तीन तले घर ९ प्रतिशत र चार वा त्योभन्दा बढी तले घर ४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । प्रादेशिकरूपमा मधेश प्रदेशमा ८४ प्रतिशतभन्दा धेरै एक तले घर छन् । यस्तै कोशीमा ६४, लुम्बिनीमा ६३ र कर्णाली प्रदेशमा २९ प्रतिशत घर एक तले छन् ।

प्रतिवेदनअनुसार ३३ प्रतिशत परिवारले बसोबास गरिहेका घरको जग माटोले जडान गरिएको इँटा–ढुङ्गा प्रयोग गरेर बनेका छन् । यस्तै २९ दशमलव ८ प्रतिशत घर सिमेन्ट जडित इँटा–ढुङ्गा र झण्डै २२ प्रतिशत घरको जग ढलान पिलरसहितको छन् । यस्तै ५२ दशमलव २ प्रतिशत घरको बाहिरी गारो सिमेन्ट जडित इँटा/ढुङ्गाले बनेका छन् । यस्तै ३१ प्रतिशत घर माटो जडित इँटा/ढुङ्गा र ११ दशमलव ७ प्रतिशत घरको गारोमा बाँसजस्ता परम्परागत सामग्रीको प्रयोग भएको छ ।

घरको छानोअनुसार ८० प्रतिशत घरमा ग्याल्भेनाइज्ड जस्तापाता अथवा आरसीसी (रिइन्फोस्र्ड सिमेन्ट कङ्क्रिट) छन् । नेपाली घरको झण्डै आधा ४६ दशमलव २ प्रतिशत घरमा माटोको भुइँ प्रचलित रहेको र झण्डै ४७ दशमलव ३ प्रतिशत घरमा सिमेन्ट र प्लास्टर गरिएको प्रतिवेदनमा उल्लेख छ । सिरेमिक टाइल्सको प्रयोग भने झण्डै ३ प्रतिशत घरमा मात्र सीमित छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया