डलर, युरो र रियालको भाउ बढ्यो
मंसिर २८, २०८१ शुक्रबार
अर्जुन पोख्रेल
काठमाण्डौ – ‘पैसाले पैसा तान्छ ।’ यो उखान मात्रै होइन, धेरैको जीवनसँग मेल खाने सत्य कहानी पनि हो । रुपन्देहीकाे बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का चार जना पौरखी महिलासँग पनि यो उखान मेल खान्छ । वैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएको पैसालाई सही ठाउँमा लगानी गरेर उहाँहरूले थप पैसा जोडिरहनुभएको छ । यो आँट र सफलता वित्तीय साक्षरता कक्षाबाट मिलेको हो । बुटवल–३ की ओसिड थापा गुरुङ, सुनिता गुरुङ, सविता थापा क्षेत्री र खोपकुमारी गुरुङको पहिला मन मात्र मिल्यो । मिलेको मनले व्यवसाय गर्ने सपना देख्यो । त्यही मिलेको मनले उहाँहरूको सफल व्यवसायको सपना पूरा गर्दैछ ।
चारै जनाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा देशबाहिर छन् । ओसिडका श्रीमान् यूएईमा जानुभएको चार वर्ष भयो । त्यस्तै सुनिताका श्रीमान् कतारमा, सविताका श्रीमान् साउदीमा र खोपकुमारीका श्रीमान् चार वर्ष यूएईमा काम गरेर भारतमा काम गर्दै हुनुहुन्छ । सामान्य गृहिणीको रूपमा घर चलाइरहेका चार जना महिला यति बेला जुत्ता व्यवसायमा व्यस्त छन् । उभिएर कसैसँग पनि दोहोरो कुराकानी गर्ने फुर्सद छैन उहाँहरूलाई । आशाको थोपा थोपा जम्मा भएर व्यावसायिक सफलताको पोखरी भरिँदैछ ।
श्रीमानले कमाएको पैसाले भविष्यका सबै सपना पूरा नहुने थाहा पाएपछि उहाँहरूले सामूहिक लगानीमा जुत्ता चप्पल व्यवसाय गर्ने निधो गर्नुभयो । भगवानले पनि ‘तँ आँट् म पुर्याउँछु’ भन्छन् भनेझैँ उहाँहरूको भेटघाट र चिनाजान पुरानै भए पनि वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाले व्यवसाय गर्नेसम्मको सहकार्य जुट्यो भन्नुहुन्छ ओसिड गुरुङ ।
२०७९ सालको कात्तिक महिनामा बुटवल उपमहानगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वडास्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा वडा नम्बर ३ को लक्ष्मीनगर टोलमा भएको सफल वित्तीय साक्षरता तथा मनोसामजिक परामर्श कक्षामा खोपकुमारी गुरुङ र सविता थापा क्षेत्री सहभागी हुनुभयो । मङ्सिर महिनादेखि साप्ताहिक रूपमा चलेको कक्षामा सहभागी भएर उहाँहरूले परिवार व्यवस्थापन, परिवार निर्माणका विधि, वित्तीय लक्ष्य, पारिवारिक बजेट, विप्रेषणको सदुपयोग, व्यावसायिक योजना, सूचना प्रविधि र उद्यमशीलतालगायतका विषयवस्तुमा जानकारी लिनुभयो । कक्षामा छलफल गरिने विषयहरूको बारेमा उहाँहरूलाई जानकारी भए पनि त्यसलाई व्यवस्थापन गर्ने तरिका नौलो लाग्यो । कक्षामा बसेपछि उहाँहरू श्रीमानको कमाइको मात्रै भर पर्ने अवस्थाबाट माथि उठ्ने कोशिशमा लाग्नुभयो । विप्रेषणको परनिर्भरता कम गर्न नसकिए विदेश बसिरहेको घरका मुली घरदेश फर्कन नसक्ने कुराको निष्कर्षमा पुग्नुभयो ।
विदेशको कमाइ स्थायी होइन र खानकै लागि विदेशको भर पर्दा आफूले कल्पना गरेको सुख प्राप्त नहुने भयो भनेर उहाँहरूले थाहा पाउनुभयो । वित्तीय साक्षरता कक्षाले उहाँहरूको सोचमा परिवर्तन ल्यायो । कक्षामा सहभागी भएपछि आफैँले कमाउनुपर्छ भन्ने भयो । तर हातमा सीप नभएकोले कसरी कमाउने भनेर चिन्ता थपियो । कक्षामा नियमित जान थालेपछि भने गाउँमा कसैले नगरेको व्यवसाय चलाउने निष्कर्षमा पुग्नुभयो । वित्तीय साक्षरता सहजकर्ताले वडाध्यक्षसँग समन्वय गर्नुभयो । उहाँहरूले कक्षामा राखेको कुरालाई वडाध्यक्षले गम्भीर रूपमा लिनुभयो । वडाध्यक्षकै सक्रियतामा सहभागीहरूलाई जुत्ता बनाउने सात दिने निःशुल्क तालिमको आयोजना भयो । सविता थापा र खोपकुमारी गुरुङ जुत्ता बनाउने सात दिने तालिममा सहभागी हुनुभयो । आफूले सिकेका कुरा आफ्ना साथीहरू ओसिड थापा गुरुङ र सुनिता गुरुङलाई पनि सुनाउनुभयो ।
सफल वित्तीय साक्षरता कक्षाका २१ वटा सत्र सम्पन्न भएपछि पनि हरेक महिना बैठक हुन्थ्यो । महिनाको एकपटक बस्ने बैठक छ महिनासम्म चल्यो । बैठकमा कक्षा सम्पन्न भएपछि कक्षामा सिकेको कुरा घर व्यवहार चलाउँदा प्रयोगमा आयो कि आएन भन्ने विषयमा छलफल हुन्थ्यो । त्यही बैठकमा छलफल हुँदा खोपकुमारी र सविताले कक्षामा बसेर आफूले जानेका कुरा प्रयोगमा ल्याउने निर्णय गर्नुभयो । कुनै पनि व्यवसाय शुरु गर्नुभन्दा अगाडि बजारको अवस्था, काममा दक्षता, जोखिमको विश्लेषण गर्नुपर्छ भन्ने थाहा पाउनुभयो । उहाँहरूले कक्षामा सिकेझैँ गरी व्यवसाय चलाउने योजना बनाउनुभयो । सानो लगानीबाट व्यवसाय शुरु गरेर त्यही व्यवसायबाट कमाउँदै व्यवसाय बढाउँदै लैजाने निष्कर्षमा पुग्नुभयो । सविता थापा र खोपकुमारी गुरुङले कक्षामा सहभागी नभएका ओसिड गुरुङ र सुनिता गुरुङलाई आफूले कक्षामा जानेका कुरा बुझाउनुभयो । कक्षामा छलफल भएका कुराले कक्षामा सहभागी नभएका ओसिङ गुरुङ र सविता गुरुङको मन फेरियो । अनि चारै जनाको मन मिल्यो ।
दुई वटा कोठाको मासिक आठ हजार रुपैयाँ भाडा तिर्ने गरी चार जना मिलेर २०८० सालको असोज महिनादेखि व्यवसाय थालनी भयो । चार जनाले तीन लाख रुपैयाँ लगानी गर्नुभएको छ । अहिलेसम्म उहाँहरूले सात सय जोर जुत्ता उत्पादन गर्नुभएको छ । उहाँहरूको कारखानामा बन्ने एक जोर जुत्ताको मूल्य तीन सय ५० देखि आठ सय रुपैयाँसम्म पर्छ । व्यवसाय गर्ने उद्यमी सफल बन्नका लागि व्यवसायको प्रवर्द्धन हुन जरुरी हुन्छ । त्यसैले बुटवल र अरू ठाउँमा हुने प्रदर्शनीमा लगेर जुत्ता बेच्ने उहाँहरूको रणनीति छ । उहाँहरूले भविष्यमा यसलाई उद्योगको रूपमा विकास गरी व्यवसाय विस्तार गर्ने सोच पनि राख्नुभएको छ । ग्राहकहरूको रुचि, चाहना र क्षमताअनुसार जुत्ता चप्पल उत्पादन गर्न मद्दत पुगेको उहाँहरू बताउनुहुन्छ । निरन्तर यही पेशामा रहेका उहाँहरू यसरी कमाउने कामका लागि नगरपालिकाले उत्प्रेरणा गरेकोमा निकै खुशी हुनुहुन्छ । वित्तीय साक्षरता कक्षा र उपमहानगरपालिकाको उत्प्रेरणाले गर्दा बुटवलका चार जना महिला उद्यमी बनेको सफलताको कथापछि अब लागौँ वित्तीय साक्षरता कक्षाले बाँकेकी अञ्जु रोकामगरको जीवन कसरी बदलियो भन्नेतर्फ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ सिन्दुरीकी ३६ वर्षीया अञ्जु रोकामगरको परिवारको दैनिकी जसोतसो चलेकै थियो । तर ससुरा बुबाको क्यान्सर उपचारका लागि लिएको ऋणको भारी थेग्न परिवारलाई गाह्रो भयो । ऋण तिर्न र बुबाको उपचारका लागि उहाँका श्रीमान् तीन जना छोराछोरी र श्रीमतीको साथ छोडेर २०७३ सालको मङ्सिरमा वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभयो । परदेशमा सोचेजस्तो कमाइ भएन । तै पनि महिनामा झन्डै ३० हजार रुपैयाँ घर पठाउनुहुन्थ्यो । त्यसले अञ्जुलाई घर खर्च चलाउन, कक्षा १२ र ६ मा पढ्दै गरेका छोराछोरीको पढाइ खर्च धान्न निकै हम्मेहम्मे पर्यो । अञ्जुलाई आफ्ना छोराछोरीसँगै आमाजू र जेठाजुका तीन जना छोराछोरीको पनि जिम्मेवारी बोक्नुपरेको थियो । किनकि जेठानी र आमाजू पनि रोजगारीका लागि कुवेतमा थिए ।
अञ्जुलाई श्रीमान्ले पठाएको पैसाले ऋण तिर्न पुग्दैन थियो । घर खर्च चलाउन र छोराछोरी पढाउन निकै गाह्रो परिरहेको थियो । उहाँले थप आम्दानीको बाटो खोजिरहनुभएको थियो । समस्या परेकै बेला उहाँले सामीको वित्तीय साक्षरताबारे थाहा पाउनुभयो । अनि उहाँलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी हुने मौका पनि मिल्यो ।
अञ्जु २०७७ सालको पुस १ गतेदेखि कक्षामा सहभागी हुनुभयो । कक्षामा नियमित रूपमा आउने उहाँले व्यावसायिक खेती गर्दा आफ्नो आयस्रोत बढाउन सक्ने बुझ्नुभयो । सहकारी, सङ्घ–संस्था र समूहबाट ऋण निकालेर केही गर्न सकिन्छ भन्ने पनि बुझ्नुभयो । आफ्नो बारीमा तरकारी खेती बढाउने र त्यसलाई बेचेर आम्दानी बढाउने योजना बनाउनुभयो ।
वित्तीय संस्थाबाट ४० हजार रुपैयाँ ऋण लिनुभयो । त्यसमध्ये २० हजार रुपैयाँमा दुई वटा बाख्रा किन्नुभयो । तरकारी खेतीलाई अझै बढाउने हिसाबले १५ हजार रुपैयाँ खर्चेर तरकारीको बीउबीजन र मल किन्नुभयो । बाँकी पाँच हजार रुपैयाँले छोराको विद्यालयको शुल्क तिर्नुभयो । बिस्तारै तरकारी बेचेर आम्दानी गर्न थाल्नुभयो । एक वर्षभित्र हुर्केका दुई वटा खसी बेचेर ३० हजार रुपैयाँ आम्दानी गर्नुभयो । तरकारी बेचेर मात्र चार महिनामा २० हजार रुपैयाँ कमाउनुभयो ।
‘थोरै पूँजीले पनि आम्दानी बढाउन सकिँदो रहेछ’, अञ्जु भन्नुहुन्छ, ‘श्रीमान् विदेशबाट फर्केर सँगै यही पेशामा लाग्ने इच्छा थियो जुन अहिले पूरा भएको छ ।’ उहाँका श्रीमान् विदेशबाट फर्केपछि फेरि विदेश जाने सोच बनाउनुभएन । अहिले उहाँ पनि बाख्रापालन र तरकारी खेती गरेर परिवारसँग रमाएर बस्नुभएको छ । तरकारी खेती नियमित छ । ‘श्रीमान् वैदेशिक रोजगारीबाट गए सालको कात्तिकमा फर्केपछि मलाई निकै सजिलो भएको छ’, अञ्जु खुशी व्यक्त गर्नुहुन्छ ।
वित्तीय साक्षरताको कक्षाले पोखराकी सरस्वती विकको जीवन पनि मज्जाले बदलिएको छ । सरस्वती विकको सङ्घर्ष, साक्षरता कक्षा र घरपरिवारमा आएको परिवर्तन अबको पालोमा ।
कुरा एक वर्षअघिको हो । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमाराकी सरस्वती विकले यूएईको दुबईमा रहेका श्रीमान्लाई फोन गरेर पासपोर्ट र त्यहाँको कम्पनीले काममा लगाएका कागजातका फोटोकपी मगाउनुभयो । श्रीमतीले एकाएक पासपोर्ट र कागजात मगाएपछि १२ वर्षदेखि विदेशमा काम गर्दै आएका सरस्वतीका श्रीमान् लक्ष्मण झस्किनुभयो । विदेशमै रहेकी आफ्नी दिदीलाई लक्ष्मणले सोध्नुभयो, ‘सरस्वतीले त मेरो पासपोर्ट मागेकी छिन्, तपाईँले बुहारीलाई पनि विदेश ल्याउन थाल्नुभयो कि क्या हो ?’ तर कुरा विदेश जाने थिएन । सरस्वती विकले सुरक्षित आप्रवासन सामी कार्यक्रमबाट वित्तीय साक्षरताको कक्षा लिएपछि पाएको ज्ञानका कारण श्रीमान्का कागजात मगाउनुभएको रहेछ । कक्षामा बसेपछि सरस्वतीले थाहा पाउनुभएको थियो, ‘विदेशमा कुन बेला के आपत् पर्छ थाहै हुन्न, त्यही भएर विदेशमा हुने श्रीमान्–श्रीमती वा छोराछोरीका कागजात सुरक्षित राख्नुपर्छ ।’
सरस्वतीले एक दिन सासू ससुरा र छोरीलाई सँगै राखेर भन्नुभयो, ‘अब सबैले आफ्ना कपडा आफैँ धुने । खाली हात नबस्ने, घरमा कसैले काम गर्दै गरेको देखेमा सहयोग गरिहाल्ने ।’ सरस्वतीको यो प्रस्ताव सुनेर सासू ससुराले चित्त दुखाउनुभयो । ‘अलिकति कमाउने भएपछि त बुहारीले शिरमै टेक्न थालिन्, घरमा मान सम्मान भन्ने चिज हरायो’ लगायतका कुरा सुन्नुपर्यो । छोरीको गनगन त छँदै थियो । तर केही समयपछि यो कुरा सामान्य बन्दै गयो । घरमा आफ्ना कपडा आफैँले धुन थाले, खाली हात बस्नै छाडे । सासू ससुराले हाँसीखुशी काम गर्नुहुन्छ । कक्षा ८ मा पढ्ने छोरीले पनि कपडा आफैँ धुन थालिन् । स्कुल लैजाने खाजा पनि आफैँ बनाउँछिन् । घरमा यो परिवर्तन पनि सरस्वतीले सामीले दिएको वित्तीय साक्षरता कक्षा लिएपछि आएको हो ।
धेरैले वित्तीय साक्षरताको कक्षामा पैसा जोगाउने र जोगाएको पैसा राम्रो ठाउँमा लगानी गर्ने वा उद्यम गर्ने भन्ने बुझ्छन् । तर पोखराकी सरस्वती विक भन्नुहुन्छ, ‘वित्तीय साक्षरताको कक्षामा त विदेशमा रहेका आफन्तका कागजातका फोटोकपी आफूले पनि राख्ने, उनीहरूलाई पनि आम्दानी र खर्चको तालिका सिकाउने, घरमा आफ्नो काम आफैँ गर्न प्रेरित गर्ने, अरूलाई सघाउन सिकाउने, ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने लगायतका कैयौँ कुरा सिक्न पाइने रहेछ ।’
कास्कीको कोत्रेमा माइती भएकी सरस्वतीले २०६५ सालमा कास्कीकै पोखराको बाघमारामा बिहे गर्नुभएको थियो । बिहे गरेको अर्को वर्ष २०६६ सालमा छोरी जन्मिन् । घर खर्च चलाउन धौधौ परेपछि सरस्वतीले ऋण खोजेर श्रीमान्लाई साउदी अरबमा पठाउनुभयो । तर ड्राइभरको काम भनेर साउदी पठाएको दलालले होटलको काममा लगाएछ । कमाइ थोरै, दुःख धेरै । आफू जाँदा लागेको ऋण तिरेपछि श्रीमान् नेपाल फर्किनुभयो र यूएई जानुभयो ।
घरमा एउटा कपडा सिलाउने मेशिन खिया लागेर थन्किएको थियो, श्रीमान् विदेश गएपछि सरस्वतीले त्यही मेशिन मर्मत गरेर कपडा सिलाउने योजना बनाउनुभयो । तर सासू ससुराको साथ पाउनुभएन । त्यसै बेला गाउँमा सिलाइबुनाइकाे तालिम आयो, एक सय जना सहभागी तालिममा २० जना मात्रै पास भए, सरस्वती दोस्रो नम्बरमा पर्नुभयो । सामान्य कपडा सिलाउन जान्ने सरस्वतीलाई गाउँलेहरू घरमै आएर कपडा सिलाउन दिन्थे ।
अब सरस्वतीले फेन्सी पसल खोल्ने र पसलमै कपडा पनि सिलाउने पसल खोल्ने सुरसार गर्नुभयो । सासू ससुरासँग यो प्रस्ताव राख्दा नसोचेको गाली पाउनुभयो । मेलापात नै गरेर कमाउने तर पसल राख्नै नहुने सासू ससुराको अडान थियो । तर सरस्वतीले आँट गरेर मुक्तिनाथ विकास बैंकबाट दुई लाख रुपैयाँ ऋण लिनुभयो । झोला, जुत्ता चप्पल, कपडालगायतको पसल खोल्नुभयो । ‘दुई लाख रुपैयाँले त पसलको अलिकति पनि र्याक भरिएनन्, त्यसैले फेरि ऋण लिएँ र सामान थपेँ’ सरस्वतीले सुनाउनुभयो । पसलसँगै उहाँले सामान्य कपडा सिलाउन थाल्नुभयो । केही समयपछि खादा सिलाउने काम ठेक्कामा आइलाग्यो । पसलमा सामान बेच्नेसँगै खादा सिलाउने व्यवसाय मज्जाले चल्यो । पहिले चित्त दुखाएका सासू ससुरा अब खुशी हुन थाल्नुभयो । पहिले कच्ची घर थियो, ऋणधन गरेर सरस्वतीले पक्की बनाउन थाल्नुभयो । पाँच वर्षअघि साढे २३ लाख रुपैयाँमा घर ठडियो । अहिले घरको किस्ता तिरिरहनुभएको छ ।
यसैबीचमा उहाँले सामीको वित्तीय साक्षरताको कक्षा लिने अवसर पाउनुभयो । यो कक्षा त झन् वरदान साबित भयो । घरैमुनिको महिला समूहको हलमा २१ हप्तासम्म लिएको तालिमले आम्दानी र खर्चको व्यवस्थापनका साथै कैयौँ व्यावहारिक कुरा सिकायो । ‘पहिले बजार जाँदा घरबाट थुप्रै पैसा लगेर गइन्थ्यो, यो देखे पनि किन्ने, त्यो देखे पनि किन्ने । घर आउँदा सबै पैसा सकिन्थ्यो, अहिले त किन्नैपर्ने सामानको सूची बनाउँछु, त्यो सूचीमा नभएका सामान किन्दिनँ । मेरो धेरै पैसा बचेको छ’, सरस्वतीको अनुभव छ । घरका सबैले आफ्नो काम आफैँ गर्छन्, काममा कसैको बाटो हेर्दैनन् । एकअर्कामा सम्मान र माया छ । सफा सुग्घरदेखि खानपानका कुरा पनि वित्तीय साक्षरताकै कक्षाले सिकायो ।
अहिले सासू ससुराले पनि पसलको हिसाबकिताब राख्न जान्ने हुनुभएको छ । सरस्वती नहुँदा पसलको व्यापार उहाँहरूले नै धान्नुहुन्छ । अहिले पसलबाट कुनै महिना त दुई लाख रुपैयाँसम्मको व्यापार हुन्छ । थोरैमा पनि ३० हजार रुपैयाँ त हरेक महिना फाइदा हुन्छ । घर बनाएको ऋण लगभग तिरिसक्नुभएको छ । विभिन्न सहकारीमा दैनिक २५ सय रुपैयाँ बचत गर्नुहुन्छ । पहिले पसलमा आफूले मात्रै खादा सिलाउने सरस्वतीले अहिले अरूलाई पनि काम दिनुभएको छ । कुनै कम्पनी वा संस्थाले यति हजार वटा खादा सिलाइदिनु भन्ने अर्डर गर्छन्, सरस्वती एक्लैले भ्याउनुहुन्न, गाउँका अरू महिलालाई पनि खादाको कपडा दिएर सिलाउन लगाउनुहुन्छ, अरू महिलाले पनि आम्दानी गरिरहेका छन् ।
अब त उहाँले विदेशबाट श्रीमान्लाई पनि नेपालमै बोलाउने र खादाको गार्मेन्ट नै खोल्ने विचार गरिरहनुभएको छ । वित्तीय साक्षरताको यो कार्यक्रम देशैभर चलाएमा गाउँदेखि शहरसम्मका महिलाको जीवन कायापलट हुने सरस्वतीको अनुभव छ । ‘वित्तीय साक्षरता कार्यक्रमका लागि अहिले घरदैलोका सरकार भनेर स्थानीय सरकारहरू नै तात्तिनुपर्छ । म त ठोकुवा गरेरै भन्छु, यस्तो कार्यक्रमले देशमा लाखौँ उद्यमी जन्माउँछ’, सरस्वतीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो ।
वित्तीय साक्षरता कार्यक्रमका लागि स्थानीय सरकार अग्रसर
अहिलेसम्म वित्तीय साक्षरतामा स्थानीय तहहरूले खासै ध्यान दिएका छैनन् । सामीको वित्तीय साक्षरता कक्षा निकै प्रभावकारी भएपछि स्थानीय तहहरूले विभिन्न रणनीति, कार्यक्रम र योजना बनाइरहेका छन् । वित्तीय साक्षरता कार्यक्रममा पैसा कमाउने मात्रै नभई समाजका अन्य विकृति र भेदभाव हट्ने भएकाले यसतर्फ धेरै स्थानीय तहको चासो बढेको छ ।
महिलाहरू घरखर्चको हिसाबकिताब राख्न सक्ने भएका छन् : शम्भु साह, मेयर–गौर नगरपालिका
केही वर्ष पहिले गाउँका धेरै मानिसमा कमाउनुपर्छ, कमाएर बचत गर्नुपर्छ र बचत गरेको पैसाले उद्यम गर्नुपर्छ भन्ने सोच थिएन । तर सामीले वित्तीय साक्षरताको कक्षा चलाएपछि गाउँलेहरूमा धेरै परिवर्तन आएको छ । अहिले नगरपालिकामा हरेक हप्ता चार वटा ठाउँमा चार वटा कक्षा चलिरहेका छन् । यी कक्षामा पैसा कसरी कमाउने, कसरी बचाउने र बचेको पैसा कहाँ लगानी गर्ने भन्ने जानकारी दिइन्छ । घरखर्चलाई कसरी किफायती बनाउन सकिन्छ भन्नेलगायतका कुरा पनि कक्षाबाट सिकाइन्छ । पहिले मानिसहरू पैसा फाइनान्स, लघुवित्त र बैंकमा राख्न डराउँथे । जब वित्तीय साक्षरताको कक्षा दिन शुरु भयो, त्यसपछि त उनीहरूले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न थालेका छन् । उनीहरूले बचत मात्रै गरेका छैनन् आफ्नै उद्यम पनि शुरु गरेका छन् ।
मेरो जानकारीमा आएअनुसार गौर नगरपालिकामा ९५ जनाले वित्तीय साक्षरताको तालिम लिएकोमा २५ जनाले व्यापार व्यवसाय थालिसकेका छन् । तालिम लिएका सबैमा केही गरौँ भन्ने सोच पलाएको छ । हामीले वित्तीय साक्षरताको कक्षा दिएपछि विशेष गरेर महिलाहरूमा आत्मबल बढेको छ । पहिले घरबाहिर गएर बोल्न नसक्ने महिलाहरू अहिले बोल्न सक्ने भएका छन् । गाउँगाउँमा महिलाहरूले विभिन्न समूह बनाएका छन् । आफ्नो घरखर्चको हिसाबकिताब राख्न सक्ने भएका छन् । यहाँको राम्रो पक्ष भनेको हामीले कार्यक्रम सञ्चालन मात्र गर्दैनौँ, अनुगमन गरेर प्रभावकारिता पनि जाँच गर्छाैँ । म आफैँ धेरैजसो अनुगमनमा जाने गरेको छु । कतिपय ठाउँमा त म आफैँले नसोचेको परिवर्तन देख्छु । महिलाहरू बोल्न सक्ने भएका छन्, प्रश्न गर्न हिम्मत राख्छन् ।
अहिलेसम्म त सामी कार्यक्रमले यहाँ वित्तीय साक्षरताको कक्षा चलाइरहेको छ । तर अब नगरपालिका आफैँले पनि यस्ता कक्षा चलाउने तयारी गरिरहेका छौँ । आउँदो वर्षदेखि नै हामीले एउटा महिला लक्षित कक्षा चलाउने र एउटा स्कुले बालबालिका लक्षित कक्षा चलाउने योजना समावेश गर्ने तयारी गरिरहेका छौँ । नाै वटै वडामा यो कक्षा चल्छ । अहिले सामीले वैदेशिक रोजगारीमा गएका घरपरिवारलाई लक्षित गरेर कक्षाहरू चलाइरहेको छ । तर वित्तीय साक्षरता भनेको बालबच्चालाई पनि जरुरी छ । उनीहरूले पनि बचत गर्ने, परिवारमा हुने अनावश्यक खर्च रोक्ने र घरपरिवार तथा समाजमा सकारात्मक सन्देश फैलाउन सक्छन् । अब वित्तीय साक्षरताको कार्यक्रम बाल क्लब र विद्यालयहरूमा पनि चलाउने गौर नगरपालिकाको तयारी छ । वित्तीय साक्षरताको कार्यक्रम तयार गर्दा पिछडिएका, दलित र मुस्लिम समुदायलाई बढी लक्षित गर्ने योजना रहेको छ । किनकि यी समुदायबाट विद्यालयमा नजाने बालबालिका धेरै छन्, शिक्षाको कमी छ, चेतनाको अभाव छ । पैसा कमाउने र बचत गर्ने बानी बसाल्न सकेमा पिछडिएका, दलित र मुस्लिम समुदाय पनि अब समाजको मूलधारमा आउने विश्वास छ ।
वित्तीय साक्षरताका कक्षामा पालिकाको अग्रसरता बढ्नुपर्छ : ओजबहादुर बुढाथोकी, अध्यक्ष–छत्रेश्वरी गाउँपालिका
छत्रेश्वरी गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सामीमार्फत कार्यक्रम चलाइरहेका छौँ । गएको आर्थिक वर्षदेखि सञ्चालन भएको यो कार्यक्रमले अहिलेसम्म चार वटा वडामा कक्षा दिइरहेको छ । गएको वर्ष वडा नम्बर ६ र ७ मा दुई/दुई वटा समूह बनाएर वित्तीय साक्षरताका कक्षाहरू सञ्चालन भएका थिए । यो आर्थिक वर्षमा वडा नम्बर ५ मा चार वटा समूह बनाएर यो कार्यक्रम चलिरहेको छ । वित्तीय साक्षरताको कक्षामा ९८ प्रतिशत महिला र दुई प्रतिशत पुरुष हुनुहुन्छ ।
हाम्रो पालिकामा वैदेशिक रोजगारीमा गएका घरका श्रीमती र आमाबुबालाई लक्षित गरेर कक्षा चलाइएको छ । विदेश गएकाहरूले पठाएको पैसा धेरै सदुपयोग नभइरहेको अवस्थामा सामी र हामीले सहकार्य गरेर कक्षाहरू चलाइरहेका छौँ । यी कक्षाहरूमा शुरुमा त विदेशबाट वैधानिक माध्यममार्फत नै आफन्तलाई पैसा पठाउन लगाउने सल्लाह दिइन्छ । हुन्डी र अरू गैरकानुनी माध्यमबाट पैसा पठाउँदा पैसा हराउने वा लुटिने जोखिमसँगै सरकारबाट कारबाहीमा परिने डर हुन्छ । त्यसैले नेपाल सरकारबाट मान्यता प्राप्त रेमिट्यान्स र वित्तीय संस्थाबाटै पैसा पठाउन प्रेरित गरिन्छ ।
हाम्रो पालिकामा विदेशबाट आएको पैसा सदुपयोग नगर्ने समस्या धेरै छ । विदेश जाँदा लिएको ऋण तिरेपछि मनपरी खर्च गर्ने, गाउँमा खेती गर्न छाडेर शहर बजारबाट किनेर खाने, अरूलाई देखाउनकै लागि नयाँनयाँ लुगाकपडा किनिरहने, भोजभतेरमा जाँड–रक्सीको खोलो बगाउने, गाउँमा बस्न छाडेर शहरतिर डेरा गरेर बस्नेलगायतका विकृति देखिएका छन् । वित्तीय साक्षरताको कक्षामा हामीले यस्ता कुरा रोक्ने प्रयास भएको पाउँछौँ । विशेष गरेर महिला समूहलाई लक्षित गरी कार्यक्रम चलिरहेका छन् । विदेशबाट कति पैसा आयो, कहाँ खर्च गर्ने र बचेको पैसा कसरी बचत गर्ने भन्ने सिकाइन्छ । अनावश्यक खर्च घटाउने कुरा बढी जोड दिएर सिक्ने र सिकाउने काम हुन्छ । खर्च घटाएर बचत भएको पैसा कसरी उद्यम र व्यवसायमा लगाउने भन्नेबारेमा पनि कक्षामा सिकाइन्छ । उद्यम वा व्यवसाय गर्दा अनिवार्य रूपमा व्यावसायिक योजना बनाउने, आफूले गरेको उद्यम र व्यवसायको बजार अध्ययन गर्ने कुरा पनि वित्तीय साक्षरताको कक्षामा सिकाउने गरिन्छ । यदि बचत र उद्यम गर्दै गएमा वैदेशिक रोजगारीमा गएकाहरूको भर नपरेर नेपालमै बसेर पनि आम्दानी गर्दै घरखर्च चलाउन सकिन्छ भन्ने केही उदाहरण पनि प्रस्तुत गरिन्छ ।
अहिलेसम्म सामीले गरेको कार्यक्रममा पालिकाले सहजीकरण मात्रै गरिदिएको हो । तर अब पालिकाले नै अग्रसरता लिएर वित्तीय साक्षरताका कक्षा चलाउनुपर्ने आवश्यकता देखिएको छ । जति कमाए पनि बचत नगर्ने र बचतलाई उद्यम वा व्यवसायमा नलगाउने हो भने मानिस आत्मनिर्भर नबन्ने कुरा पालिकाले बोध गरेको छ । अब सामीको साथमा पालिकाले पनि वित्तीय साक्षरताको क्षेत्रमा लगानी गर्छ । अहिले पालिकाले वैदेशिक रोजगारीमा जाने, वैदेशिक शिक्षामा जाने र फर्किएकाहरूको विवरण राख्न थालिसकेको छ । अब कसलाई के तालिम चाहिन्छ, तालिम दिने र आवश्यक परेमा अनुदान पनि दिने हो । आउँदो वर्षको बजेटमा नै हामीले वित्तीय साक्षरताको विषय समावेश गर्छाैँ ।
वित्तीय साक्षरताको कक्षाले महिलाहरूको चौतर्फी विकास भएको छ : सावित्री सुनुवार, उपाध्यक्ष–उमाकुण्ड गाउँपालिका
हाम्रो पालिकामा पनि वित्तीय साक्षरताको कार्यक्रम चलिरहेको छ । सुरक्षित आप्रवासन कार्यक्रम सामीले पैसाको महत्त्व बुझाउने र यसको सदुपयोग गराउनका लागि सहयोग गरेको छ । हाम्रो पालिकामा वित्तीय साक्षरता कार्यक्रमको सहजकर्ताका रूपमा सुमित्रा दाहालले दुर्गम गाउँगाउँसम्म पुगेर महिलाहरूलाई पैसाको महत्त्व बुझाउने काम गरिरहनुभएको छ । पालिकाका सबै वडामा यो कार्यक्रम पुगेको छ । हाम्रो गाउँपालिकाबाट पनि सयौँ जना वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न देशमा पुगेका छन् । उनीहरूमार्फत आएको पैसालाई घरखर्च र घर व्यवहारमै सक्ने अनि विदेशबाट फर्किएको केही महिनामै फेरि उतै जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी वित्तीय साक्षरताको कार्यक्रम चलेको छ ।
अहिले उमाकुण्ड गाउँपालिका आफैँले वित्तीय साक्षरताको कुनै कार्यक्रम चलाएको छैन तर सामीजस्ता गैरसरकारी संस्थाले गरिरहेका कार्यक्रममा सहजीकरण गरिरहेको छ । म पनि यो कार्यक्रममा सहभागी हुन धेरै गाउँमा पुगेको छु । वित्तीय साक्षरताको तालिम लिएका महिलाहरूले आम्दानी र खर्चको तालिका नै बनाएको, घरमा बाख्रा र कुखुरा पालेर थोरै भए पनि आम्दानी गरिरहेको, केहीले नयाँनयाँ व्यवसाय गर्ने योजना बनाएकोलगायतका कुरा थाहा पाउँछु । पैसा घरमा नराखी बैंक तथा वित्तीय संस्थामै राख्नुपर्छ भन्ने ज्ञान पाएको देखिएको छ । महिलाहरूले बचत गर्न सिकेका मात्रै छैनन् पैसाले कसरी पैसा तान्न सकिन्छ भनेर चासो दिएको पनि पाइयो । वित्तीय साक्षरताको २१ हप्ते कक्षा लिएपछि महिलाहरूमा समूह बनाउन, अरूको सामु बोल्न र तर्क दिन सक्ने क्षमता पनि बढेको छ । पैसा मात्र नभएर समय व्यवस्थापनमा पनि यो कार्यक्रमले सहयोग पुर्याएको कुरा मलाई सुनाउनुभएको थियो । वित्तीय साक्षरता कक्षा लिएका महिलाहरूलाई पालिकाले अनुदान, तालिम र महिला लक्षित कार्यक्रममा पनि प्राथमिकता दिँदै आएको छ ।
सामीले दिने वित्तीय साक्षरता कक्षा
सामीको वित्तीय साक्षरता कार्यक्रमले वैदेशिक रोजगारबाट प्राप्त भएको कमाइलाई सदुपयोग गर्न र सही वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान तथा सीप वित्तीय साक्षरता कार्यक्रमले प्रदान गरिरहेको छ । यस कार्यक्रममा परिवार व्यवस्थापन, आय व्यय विश्लेषण, पारिवारिक बजेट, बचत वृद्धि, ऋण, उद्यमशिलता तथा जोखिम न्यूनीकरण र मनोसामाजिक परामर्शका विषयवस्तुहरूसहित २१ वटा कक्षा समावेश गरिएका छन् जसमध्ये चार वटा कक्षा मनोसामाजिक परामर्शसँग सम्बन्धित रहेका छन् । यसले वैदेशिक रोजगारीबाट रेमिट्यान्स प्राप्त गर्ने घर परिवारका सदस्यहरू, विशेषगरी महिलाहरूलाई लक्षित गरेको छ ।
अहिले सामीले वित्तीय साक्षरताको तेस्रो चरणमा कार्यक्रम सञ्चालन गरिरहेको छ । सातवटै प्रदेशका ३८ वटा जिल्लाका एक सय ५६ वटा पालिकामा वित्तीय साक्षरताको कार्यक्रम चलिरहेको छ । यसका लागि तालिम प्राप्त सहजकर्ता परिचालन भएका छन् । सहजकर्ताहरूको क्षमता विकास तथा गुणस्तरवृद्धिका लागि डिप्रोक्स नेपालले प्राविधिक सेवा प्रदान गरेको छ । तेस्रो चरणमा मात्रै झन्डै ६० हजार जनाले वित्तीय साक्षरता कक्षा पूरा गरेका छन् । वित्तीय साक्षरताको कक्षा लिनेहरूमा ५७ हजार सात सय २३ जना अर्थात् झन्डै ९८ प्रतिशत महिला रहेका छन् । यस्ता कक्षामा सहभागीमध्ये झन्डै २२ प्रतिशत दलित समुदाय, ३९ प्रतिशत जनजाति र २० प्रतिशत मधेशी समुदायको सहभागिता रहेको थियो ।
(सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । )