पढाईले पठायो विदेश, प्रेमले फर्कायो स्वदेश (भिडियाेसहित)

 माघ ९, २०७५ बुधबार ७:३९:१८ | सन्जिता देवकोटा

झापा – कतारमा काम गर्दै गर्दा डिल्लीराज उप्रेतीलाई प्रेमिका दीक्षाले भनिन् ‘मसँग विवाह गर्ने भए, सधैंलाई विदेशको काम छाडेर फर्कनुपर्छ’ । अथवा बिहे गरेर कतार जाने हो भने बिहे नगरेकै राम्रो । तर उप्रेतीका लागि प्रेमिकाको यो शर्त त्यति सजिलो थिएन । 

कतारमा डिल्लीराजको भर्खरै बढुवा भएको थियो । मासिक तलब एक लाख रुपैयाँभन्दा माथि नै हुन्थ्यो । यति राम्रो काम र दाम हुँदाहुँदै दीक्षाले राखेको शर्त डिल्लीराजका लागि अनौठो थियो ।

डिल्लीराज र उहाँकी श्रीमती दीक्षा 

निकै सोच विचार गरेपछि डिल्लीराजलाई जीवनका उकाली ओराली सँगसँगै गर्ने भनेर प्रेममा बाँधिएकी प्रेमिकाले राखेको बिहेको शर्त अर्थपूर्ण लाग्यो । त्यसैले डिल्लीराजले आफ्नो प्रेमका लागि कतार र कतारको लोभलाग्दो कमाइ छाडिदिनुभयो । प्रेमिकासित बिहे गर्न २०६८ सालमा उहाँ कतारबाट झापा फर्कनुभयो ।

आफ्नो ८ वर्षे वैदेशिक रोजगारीको यात्रालाई टुङ्ग्याएर फर्किंदा डिल्लीका हातमा न पैसा थियो, न त बिहेपछि स्वदेशमै केही गर्ने व्यवसायिक योजना । दीक्षासँग बाँकी जीवन सुखैले जीउने सपना र आत्मबल बाहेक अरु केही थिएन । 

डिल्लीराजले जीवनको दोस्रो इनिङसमा उठाएको ठूलो जोखिम थियो यो । तर दीक्षासँग सुखी जीवन बिताउने डिल्लीराजको सपना प्रेमकै कारण विपनामा परिणत भयो । विदेश त्यागेका डिल्लीराज गाउँघरमै सफल किसान हुनुभयो । 

पढाईले विदेश पुर्यायो, प्रेमले स्वदेश फर्कायो

मुम्बईमा होटल व्यवस्थापनसम्बन्धी बीएचएम पढ्दै हुनुहुन्थ्यो डिल्लीराज । पढ्दा पढ्दै कतारमा होटलकै काम पाएर भिसा लाग्यो । २०६० सालमा उहाँ आफ्नो पढाइ अनुसारकै काम गर्न कतार पुग्नुभयो । 

इच्छा थियो, होटल म्यानेजमेन्ट पढ्ने र होटलमै काम गर्ने । होटलकै काममा कतार पुग्दा डिल्लीराजको त्यो मनोकामना पूरा भएको थियो । तर लामो समयसम्म होटलको काम गर्नुभएन ।

कतार पुगेको दुई वर्षपछि २०६२ सालमा काम गर्ने फिल्ड परिवर्तन गर्नुभयो । त्यसपछि एलजी इलेक्ट्रोनिक्स् कम्पनीमा काम गर्नुभयो । त्यो काम पनि बदलेर सुपरमार्केटमा काम गर्नुभयो ।

‘मैले फर्किने बेलासम्ममा त महिनाकै लाखभन्दा बढी कमाउँथें, तर त्यो बेलामा पैसाको सदुपयोग हुँदैन थियो’ डिल्लीराज सम्झनुहुन्छ, ‘विदेशमा एक जना कमाउने भए घरमा सबैजना बसेर खाने नेपालीको चलनले बिगार्छ, मेरो हकमा पनि लगभग त्यस्तै भयो ।’

कतारमा छँदा घर खर्चदेखि दाजुभाइका छोराछोरीलाई समेत उहाँले नै पढाउनुभएको थियो । त्योबाहेक उहाँको कमाइले झापामा चार बिगाह जमिन जोड्नुभयो । झापामै घर बनाउनुभयो, अनि ताप्लेजुङमा रहेका बुवाआमालाई तराई झार्नुभयो । 

उहाँकै कमाइले घर जमेको थियो । कमाइले परिवारमा सबैथोक पुगेको थियो । तर विवाह गरेर नयाँ घरजम गर्न कमाइ हुने बाटो छाडेर फर्किनुभयो  । बिहे पछि के गर्ने अनिश्चित थियो । स्वदेशमै गरिखाने कुनै विकल्प नभेटे पनि विदेश नजाने कुरा चाहिँ निश्चित थियो । 

२०६८ सालमा डिल्लीराज र दीक्षाले बिहे गरे । एक हिसाबले प्रेम त सफल भयो । तर जिन्दगी कसरी सफल बनाउने त ? दुवैले सल्लाह गरे । विदेशको कमाइले झापामा किनेको जमिन बाँझै थियो । त्यही बाँझो जमिन हराभरा बनाएर जिन्दगी पनि हराभरा बनाउने जुक्ति निस्क्यो ।

‘जमिन थियो तर जताततै काँसघारी, मलाई चाहिँ यही बाँझोमा कृषिको काम गर्ने भन्ने लाग्यो, उहाँले मैले भनेको नमान्ने कुरा भएन, हाम्रो परिचय भएदेखि नै एकअर्काले भनेको नमान्ने भन्ने भएकै छैन,’ दीक्षाले सुनाउनुभयो । 

जमिनमा के लगाउने, कसरी लगाउने, फलाउने भन्नेबारे कुनै ज्ञान थिएन । दीक्षाले माइतीमा आमाबुवाले तरकारी खेती गरेर सफल भएको देख्नुभएको थियो । तर काम भने गर्नु भएको थिएन । 

आपसमा छुट्नुलाई दुःख र जुट्नुलाई सुख ठान्दाको सफलता

ताप्लेजुङमा जन्मिए पनि डिल्लीराजले खेतबारीको काम गर्नुभएको थिएन । त्यसमा पनि परिवारको जीविकाको लागि निर्वाहमुखी ढंगले खेती गर्नु र भविष्य नै त्यसमै देखेर व्यवसायिक कृषि गर्नुमा निकै फरक छ ।

डिल्लीराज १९ वर्षकै उमेरमा कतार पुगेर होटल र सुपरमार्केटमा काम गरेर फर्किनुभयो । झण्डै एक दशक पराइ भूमिमा बिताउँदा खेतिपाती त मनबाट पनि हटिसकेको थियो । जे होस्, जोखिम मोलेरै भए पनि दुवैले कृषिलाई नै आफ्नो भविष्य बनाउन सुरुमा टमाटर खेती थाल्नुभयो । 

 

‘सुरुमा हामीले टमाटर खेती गर्दा आम्दानीको त अपेक्षा नै गरेका थिएनौं, तर हामीले सोचेभन्दा राम्रो भयो झण्डै ३६ हजार कमायौं हामीले,’ डिल्लीराजले कृषिबाट मिलेको पहिलो सफलताको खुशी हाँस्दै साट्नुभयो । 

ठूलो व्यवसाय गर्न त्यो बेलामा उहाँहरुसँग लगानी थिएन । ऋण लिएर काम गरौं भन्दा ऋण पाईंदैन थियो । आफूसँग भएको ५० हजार रुपैयाँ लगानी गरेर मिलेको सफलता शब्दमा सुनाउँदा डिल्लीराज भावुक हुनुभयो ।

सोच्दै नसोचेको यो सफलता हात पर्नुमा दीक्षासँगको साथ, प्रेम र आपसी विश्वास सबैभन्दा महत्वपूर्ण छ । दीक्षा र डिल्लीलाई कुनै पनि हालतमा सँगै बस्नु थियो । सँगै बस्नका लागि आइपर्ने हरेक दुःख र असफलतासँग पौंठेजोरी खेल्न तयार थिए दुवै ।  त्यसैले पहिलो काममा नै सफलता मिल्यो । पहिलो सफलताले दीक्षा र डिल्लीराजलाई काम गर्न थप हौसला दियो । 

‘टमाटरबाट राम्रो आम्दानी भएपछि, हामीले टमाटर जस्तै छिटो आम्दानी हुने बालीको खोजी गर्न थाल्यौं, त्यो बेला त कमाउने भन्दा पनि हामीले बाँच्न गरेको संघर्ष थियो,’ छेवैमा बसेकी श्रीमती दीक्षातिर हेर्दै डिल्लीराजले भन्नुभयो ।

‘हो हामीले एकअर्कासँग छुट्नुलाई दुःख मान्यौं, तर सँगै गर्ने कामलाई कहिल्यै दुःख ठानेनौं, सबै कुरा मिलेरै गर्‍यौं,’ दीक्षाले श्रीमानको कुरामा सही थप्नुभयो ।

दीक्षा र डिल्लीको कृषि कर्म टमाटर खेतीमा मात्र सीमित रहेन । मौसमअनुसारका तरकारी र कागती खेती गर्न थाल्नुभयो । सँगै विभिन्न विरुवाहरु पनि उत्पादन गर्नुभयो । 

घरको कामदेखि बजारसम्म सँगसँगै

घरधन्दादेखि व्यवसायसम्मको काममा दीक्षा र डिल्लीराजले कहिल्यै साथ छोड्नुभएन । बारीमा तरकारी लगाउन, गोडमेल गर्न अनि त्यसलाई बेच्न दुवै सँगसँगै खटिनुभयो । 

२०६९ सालदेखि डी एण्ड डी बायोप्लान्टेक नाम दिएर उहाँहरुले व्यवसायिक रुपमा नै कृषि कर्मलाई अघि बढाउनुभयो । आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन पनि दुवैजना लाग्नुभयो ।

‘हामीले सिर्जनसील बजार नीति लिएका थियौं, दीक्षा र म धेरैका घरदैलो पुग्थ्यौं र हाम्रो उत्पादन लिइदिनुस् भनेर बेच्थ्यौं,’ ती दिन सम्झँदै डिल्लीराज भन्नुहुन्छ, ‘दुःखमा पनि साथ भएर होला त्यति दुःख लागेन ।’

दीक्षाले आम मानिसले सुख ठानेर पैसालाई मात्र खुशी ठान्नेहरुको जीवनमा कहिल्यै सुख र खुसी देख्नु भएन । दीक्षालाई लाग्छ – खुशी हुन सम्पति हैन सपना चाहिन्छ, सपना पूरा गर्ने संघर्षमा सधैं आफ्नो मान्छेको साथ चाहिन्छ ।

‘बजारमा ठूलो घर होस्, दिनभरी घरमा बसौं, बेलुका बजारबाट झोलाभरि सब्जी बोकेर ल्याऔं अनि खाऔं भन्ने सोच र प्रवृत्तिलाई म कहिले पनि सुख भन्दिनँ, म त दुःखमा पनि खुशी खोज्ने मान्छे हुँ,’ दिक्षा आफूले खोजेको खुशी प्रष्ट्याउनुहुन्छ । दीक्षाको जीवनमा खुसीको परिभाषा नै यही हो ।

‘प्रगतिको पहिलो पाइला पारिवारिक प्रेम हो’

दीक्षा र डिल्लीराज घरको कामदेखि फार्मको कामसम्म मिलेर गर्नुहुन्छ । दीक्षाले खाना पकाउँदा डिल्लीराज श्रीमतीलाई भाँडा माझ्न सघाउनुहुन्छ । घरआँगन बढार्नेदेखि व्यवसाय सपार्नेसम्मको काममा दुवैजना सँगसँगै खट्नुहुन्छ । 

बायाँतर्फबाट क्रमश : डिल्लीराज, उहाँकी श्रीमती दीक्षा, छोरी, आमा र बुवा 

डिल्लीराजलाई लाग्छ, सफलताको पहिलो खुड्किलो पारिवारिक प्रेम हो । ‘गलत समयमा गलत कामहरु हुन्छन्, र मानिसले त्यही गलत समयमा आफ्नो भविष्यलाई खरानी बनाइदिन्छ,’ डिल्लीराज भन्नुहुन्छ ।  मानिसको जीवनमा सफलता र असफलता उसको बानी र व्यवहारमा भर पर्ने डिल्लीराज बताउनुहुन्छ । 

जो निरन्तर मेहनत गर्छ, उ असफल हुँदै हुँदैन । यही शास्वत सत्य डिल्लीराजको जीवनमा पनि लागू भयो । उहाँले जीवनमा खराब कुराहरुलाई कहिल्यै स्थान दिनु भएन । 

बाँझो जमिन खनीखोस्री गरेर उर्बर बनाउन र त्यसैलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाउन दीक्षा र डिल्लीराजले हैरानी त धेरै सहनुर्‍यो । पाखुरा बजार्दै फलाएर मात्र भएन ।

त्यसलाई बजारसम्म पुर्‍याएर बेच्नु पनि पर्‍यो । झापाको सानो धुलाबारी बजार । बजारमा उहाँहरुले जस्तै व्यवसायिक खेती गर्ने त थिएनन् होला, तर तरकारी फलाएर बेच्नेको कमी थिएन । 

आफ्नो उत्पादनको प्रचार गर्न डिल्लीराज र दीक्षा घामपानी नभनी धेरैका दैलोदैलो पुग्नुभयो । आफ्नो उत्पादनको बारेमा बताउनुभयो । सम्झाई बुझाई गर्नुभयो । र अर्को पटकदेखि आफ्नै फार्ममा किन्न आउनुपर्ने गरी आकर्षण थप्नुभयो ।

सुखमा होस् या दुःखमा परिवारसँग मिलेर नै हरेक परिस्थितिको सामना गर्नुभयो दुवैले । हिजोआज डिल्लीराजलाई लाग्छ, परिवारसँग टाढा भएर भाेगेका हरेक सुख भन्दा परिवारसँग मिलेर खेपेका कठिन सहज हुन्छ ।  

माया, विश्वास र मेहनतले मिलेको सफलता

‘विदेशमा त कति दुःख भोगियो नि, जे पनि एक्लै गर्न पर्‍यो, त्यो मेरो एक्लो लडाईं थियो, त्यहाँ अरुको काम गर्थें, यहाँ म मेरो मालिक हुँ,’ डिल्लीराज गर्वका साथ भन्नुहुन्छ, ‘मेरो उत्पादन बजारमा वा सबैको ढोकामा पुर्‍याएर लिइदिनुस् न भन्दा मलाई गर्व लाग्छ ।’

अहिले दीक्षा र डिल्लीले कृषी तथा बन सम्बन्धी काम गर्नुहुन्छ । रक्तचन्दन लगायतका २५ प्रकारका बिरुवा उत्पादन गर्नुहुन्छ । बेमौसमी र मौसमी फलफूलको उत्पादन उहाँहरुको प्रथमिकतामा पर्छ । यसका लागि १२ लाख रुपैयाँ खर्चेर हाइटेक नर्सरीसमेत बनाउनु भएको छ । 

अहिले हिउँदका बेलामा पनि उहाँको फार्ममा मेवा लटरम्मै फलेका छन् । हाइटेक नर्सरीमा फागुनमा बजारमा पुर्‍याउने गरी खर्बुजा फल्ने तयारीमा छन् । कागती पनि उसैगरी फलेका छन् । 

पहिलोपटक डिल्लीराज र दीक्षाको घरमा पुग्ने जोकोहीलाई बगैंचा हो कि मानिस बस्ने घर छुट्याउनै मुस्किल पर्छ । वरिपरि फूल, हरिया बिरुवा, मेवा र तरकारीका माझमा छ उहाँहरुको चिटिक्क परेको एकतले घर । घरमा पनि डिल्लीराज र दीक्षाको प्रेम फक्रिरहेको जस्तो लाग्छ । 

५० हजार रुपैयाँबाट सुरु भएको उहाँहरुको कृषि व्यवसाय अहिले एक करोड रुपैयाँ बराबरको भएको छ । हाइटेक नर्सरीका लागि मात्रै उहाँहरुले १२ लाख रुपैयाँ खर्च गर्नुभएको छ । चार बिगाह जमिनमा फैलिएको छ, डी एण्ड डी बोयोप्लन्टेक । आफूलाई चाहिले कम्पोष्ट मलदेखि सबै कुरा उहाँहरु आफैं बनाउनुहुन्छ । 

आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन दीक्षा र डिल्लीराजको धुलाबारी बजारमा पसल पनि छ । दिउँसो दीक्षा पसल सम्हाल्नुहुन्छ । डिल्लीराज चाहिँ आफूजस्तै कृषि कर्म गर्नेलाई प्राविधिक कुरा सिकाउने र फार्म सम्हाल्ने गर्नुहुन्छ ।

नियमित तीन जनालाई रोजगारी दिनुभएको छ । अघिपछि आवश्यकता अनुसार कामदार दैनिक ज्यालामा लगाउनुहुन्छ । भ्याएसम्म काम आफैं गर्नुहुन्छ । 

दीक्षा र डिल्लीलाई काममा बुवाआमा र छोरीले पनि सघाउँछन् । ‘मेरी छोरी ६ वर्षकी भइन तर उनलाई पनि बारीमा जाने, पानी हाल्ने बानी परिसक्यो हामीसँगै काम गर्छिन,’ डिल्लीराजले खुशी हुँदै छोरीले गर्ने काम सुनाउनुभयो । 

छोरी जन्मिएपछि दीक्षाले फार्म र घरव्यवहार तथा डिल्लीराजले बजार र प्राविधिक काममा बढी ध्यान दिन थाल्नुभएको हो । कहिलेकाहीँ डिल्लीराजलाई कामको व्यस्तताले सँगै भएर पनि छोरीलाई प्रशस्त समय दिन सकिन कि भन्ने लाग्छ । 

‘उनले कहिले यस्तो चाहियो बुवा भनिनन्, हामी काममा जाँदा कहिले रोइनन्, मैले पनि कामले गर्दा मोटरसाइकलमा अरुलेझैं छोरी अगाडि राखेर घुमाउन पाइनँ, यो सफलतामा उनको पनि त्याग छ,’ छोरीका कुरा सुनाउँदा डिल्लीराजका आँखा रसाए ।

तर जिन्दगीमा निराशाभन्दा धेरै आशालाग्दा पाटा छन् । अहिले विदेशको भन्दा राम्रो आम्दानी छ । घरमै बसेर वार्षिक १२ लाख रुपैयाँसम्म कमाउनुहुन्छ । त्यही कमाइ व्यवसाय बढाउन लगाउनुभएको छ । 

‘रहरै रहरमा र कहरै कहरमा सुरु गरेको व्यवसायमा अहिले सफल भएका छौं, यही दिनको त प्रतिक्षा थियो,’ यसो भन्दै गर्दा डिल्लीका आँखाबाट खुशीका आँसु खसे । 

डिल्लीराजले कृषि कर्मलाई अझै आधुनिक रुपमा अघि बढाउन तालिम लिन पाउनुभएको छैन । यूट्युव र कृषि गर्नेहरुसँगको छलफलबाट नै व्यवसायलाई ‘अपग्रेड’ गरिरहनुभएको छ ।

तर यति मात्र पर्याप्त छैन । बेलाबेलामा प्राविधिक समस्या परिरहन्छ । ‘गरेर र परेरै सिक्ने हो, हामी मेहनत गर्छाैं, त्यसैले होला असफल भएका छैनौं,’ डिल्लीराजले आफ्नो अनुभव साट्नुभयो । 

विदेशबाट फर्किंदा के गर्ने, कसो गर्ने, बाटो पहिल्याउन गाह्रो थियो । भविष्य अनश्चित भए पनि दीक्षालाई स्वदेशमा सम्भावना हुँदाहुँदै विदेशमा बस्ने मानिस मन पर्दैन थियो । मायालाई पेशाले किन छेक्थ्यो र !

डिल्लीराजलाई होटलको पढाईले बिदेश पठायो, तर प्रेमिकाको मायाले विदेशबाट सधैका लागि नयाँ काम र नयाँ जीवनमा फर्कायो । र, परदेशी डिल्लीराजलाई दीक्षाको प्रेमले सफल कृषक पनि बनायो । 


 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया