च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इलाम – पाइलट भएर हवाइजहाज उडाउने सपना थियो, इलामका मन्दिप राईको । तर आफ्नो सपना बिपना नहुने भएपछि उहाँ एकदिन अर्कैले उडाएको जहाज चढेर काम गर्न मलेसिया जानुभयो ।
पाइलट बनेर जहाजको उडान भर्ने मन्दिपका सपना अहिले पनि सचित्र छन् सम्झनामा । पाईलट बन्ने जोश र जाँगरका साथ एसएलसी पास गरेका मन्दिप जिन्दगी चलाउन घरमा थाहै नदिई मलेसिया उड्नुभएको थियो ।
‘भन्छन् नि देखेको होइन लेखेको पाइन्छ,’ पूरा नभएका सपनासँग चित्त बुझाएझैँ गरी मन्दिप भन्नुहुन्छ, ‘आफ्नो भाग्यले जहाँ डोर्याउँछ त्यहीँ जानु पर्ने रहेछ ।’
भाग्यले मलेसिया पुगे पनि उहाँलाई कर्मले फेरि गाउँमै फर्काएको छ । बाल्यकालमा जे सिक्नुभयो, त्यही सिकाइ नै गुजारा चलाउने बाटो बनेको छ । अहिले गर्दै गरेको फर्निचर व्यवसाय उहाँले सानोमा बुवासँग सिक्नुभएको हो ।
बाल्यकालमा बुवाबाट सिकेको त्यही सीपलाई मलेसियामा पनि तिखार्न पाउनुभयो । हिजाआज उहाँलाई लाग्छ, फर्निचरको कामसँग रगतको नाता छ । मिस्त्रीको काम गर्ने बुवाले सिकाएको सीपलाई मलेसियामा तिखारेपछि अहिले त्यही सीप मन्दिपको भविष्य र लक्ष्य बनेको छ ।
मन्दिप परिवारका जेठो सन्तान । उहाँले देखेको पाइलट बन्ने सपना, उहाँका बुवाले पनि छोराका लागि देखेको सपना थियो । तर मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने परिवारमा मन्दिपको सपना फक्रन पाएन ।
मन्दिपका बुवा घर बनाउने, काठका सामान बनाउने मिस्त्रीको काम गर्नुहुन्थ्यो । मन्दिप पनि सानैदेखि बुवाले गर्ने काममा रुची राख्नुहुन्थ्यो ।
रहरै रहरमा बुवासँग काम गर्दा मन्दिपको मन त्यही काममा बस्यो । ‘पाइलट बन्ने सपना त १२÷१३ वर्षको भएपछि बुवाले गर्ने कामतिर पो सर्याे’ मन्दिपलाई आफ्ना लक्ष्य आफूले थाहै नपाई बदलिएको समेत पत्तो भएन ।
‘हाम्रो परिवार सम्पन्न थिएन, पाईलट पढ्नको लागि चाहिने खर्च जुटाउन सक्ने अवस्था थिएन, जब मैले यो कुरा बुझें तब मेरा सबै जिम्मेवारी आफैंले पूरा गरें,’ मन्दिपले आफ्नो आँट, रहर र सपनाका पोको फुकाउँदै जानुभयो ।
मन्दिपको जिन्दगी सपनाबाट निस्केर यथार्थसँग जोडियो । बाल्यकालको सपना पाईलट बन्ने थियो । तर उमेर बढ्दै जाँदा उहाँको नाता काठ र ढुङ्गा माटोसँग गाँसियो ।
मन्दिपले स्कुल पढ्दा पढ्दै गाउँमा किराना पसल खोल्नुभयो । चटपटेदेखि चकलेट बिस्कुट बेचेर आफ्नो खर्च आफैंले जुटाउनु भयो । अनि फुर्सदका बेला बुवालाई सघाउनुभयो ।
‘१२/१३ वर्षको हुँदा मलाई टेबल बनाउन र घरको गारो लगाउन आउँथ्यो,’ बावुले गरेको देखेर जानेको सीप सुनाउँदा मन्दिपको मुहारमा सन्तुष्टीको भाव झल्किन्थ्यो ।
आफूले बिताएको परिवेश र परिवारप्रतिको जिम्मेवारी आज पनि उस्तै छ मन्दिपमा, जसका लागि उहाँले आफ्नो सपना मोड्नुभयो । एसएलसी दिँदा गाउँका सबैजना साथीहरु विदेश जाने तरखरमा थिए ।
विदेश गएर फर्किएका गाउँका दाजुभाइ राम्रा सरसामान लिएर आउँथे । संगीतमा रुची राख्ने भएकाले मन्दिपलाई लाग्यो – विदेशमा कमाएर बाजाहरु किनेर ल्याउँछु र गीत गाउँछु ।
तर १५ वर्ष मात्रै लागेकाले नागरिकता बनेन । उमेर नपुगे पनि व्यवहारले परिपक्व भएका मन्दिप दार्जिलिङ लाग्नुभयो ।
‘दार्जिलिङमा पनि काठको काम गर्ने र घर बनाउने ठाउँमा काम गरें, बुवाबाट सिकेको भन्दा धेरै कुरा मैले त्यहाँ सिक्न पाएँ,’ मन्दिपले दार्जिलिङ बसाइ सम्झनुभयो ।
दार्जलिङमा ४५० भारु थियो उहाँको दैनिक कमाइ । पैसा भन्दा पनि उहाँले दार्जिलिङमा आफूलाई बुझ्न पाउनुभयो । परदेशमा पराइ देशका मानिसले परको व्यवहार गर्दा आमाको निकै याद आउँथ्यो । आफ्नो गाउँ सन्दकपुरको माइमझुवामा बिताएका दिनहरुले औधी सताउँथ्यो ।
६ महिना काम गरेपछि मन्दिप दार्जिलिङबाट फर्किनुभयो ।
घमण्ड होे या आत्मविश्वास मन्दिपलाई थाहा छैन । तर उहाँलाई लाग्थ्यो आफ्नो लागि बुवाआमालाई दुःख दिनु हुँदैन । दार्जिलिङबाट घर फर्किएपछि उहाँले विदेश जान पासपोर्ट बनाउनुभयो । तर घरमा भन्नुभएन ।
म्यानपावरले मलेसियाको मेसो मिलाइदिए । कन्स्ट्रक्सनको काममा २०७२ सालमा उहाँ मलेसिया उड्नुभयो । ‘घरमा त मैले निकै पछि मात्र मलेसिया आएको छु भनेको थिएँ, मेरो कारणले बुवाआमालाई किन दुःख दिनु जस्तो लाग्थ्यो, त्यसैले नभनि मलेसिया गएको थिएँ,’ मन्दिपले खबर नगरी मलेसिया पुग्नुको कारण भन्नुभयो ।
मलेसिया उड्दा मन्दिपसँग ठूला सपना थिएनन् । मलेसियामा राम्रो बाजा किनेर आफ्नो स्वरलाई तिर्खानु थियो । संगीतमा सुर मिलाउनु थियो । तर संगीतमा रुची राख्ने मन्दिपको मलेसिया यात्राको लय के नपुगेर हो, मिलेन ।
मलेसियाको विमानस्थलमा पाइला टेक्दा उहाँलाई नेपाल नै फर्किन मन लागेको थियो । प्रहरीले विमानस्थलमै रोके । उनीहरुका भाषा नबुझ्ने भएकाले किन भन्ने जवाफ उहाँले पाउनुभएन ।
‘१८ घण्टासम्म विमानस्थलमा यसै बस्नु पर्यो, झोला सिरानी हालेर सुतियो, त्यो बेला त यस्तो नराम्रो लाग्यो कि, आमा सम्झेर मनमनै रोइयो,’ मन्दिप विदेशी विमानस्थलमा पाएका दुःख सम्झनुहुन्छ ।
१९ वर्षको उमेर । झोला बोकेर कलेज जानुपर्ने उमेरको मान्छे सपना बोकेर पराइ देश पुग्दा खेपेका हैरानी सुनाएर साध्य छैनन् ।
‘विमानस्थलमा प्रहरीले प्लास्टिकमा दाल र रोटी दिए, त्यो बेला त मलाई कुकुरजस्तै अनुभव भएको थियो’ मन्दिप एकछिन रोकिनुभयो र फेरि थप्नुभयो ‘बुवालाई ढाँटेर बेकार आएछु भन्ने पछुतो लागेको थियो त्यो बेला ।’
कम्पनीको नाम हेवेन्ली ल्याण्ड । नाम त स्वर्गभूमी । मन्दिप कम्पनीको नाम अथ्र्याउँदै भन्नुहुन्छ ‘काम त स्वर्गभूमीमा जस्तो हैन नर्कमा जस्तो गर्नुपर्ने रहेछ, अहिले त सम्झन मन लाग्दैन ।’
कम्पनीले दिएको बस्ने ठाउँ, खानाका लागि बन्दोबस्त मिलाउन खेपेको हैरानी र भाषा नजान्दाको अप्ठ्यारो उहाँले मलेसिया छाडे पनि बिर्सनु भएको छैन ।
‘काँटी ल्याउ भन्दा भाषा नबुझेर बोतल लगेको पनि उदाहरण छ, तर भाषा नजाने पनि मलाई फर्निचरको काम आउने भएकाले अलिक माया गर्थे’ मन्दिप हाँस्दै सुनाउनुहुन्छ ।
भर्याङ बनाउने, स्ल्याव जोड्ने, प्लाइउडको काम र आल्मुनियमको काम गर्नुभयो उहाँले मलेसियामा । मलेसियामा गर्नुपर्ने काम धेरैजसो जानेकाले भाषा सिक्दै गएपछि तलब पनि बढ्दै गयो ।
सुरुमा २५० रिंगिट थियो उहाँको मासिक तलब । तर हातमा अलिअलि भएको सीप निखार्दै लैजाँदा उहाँले फर्किने बेलासम्ममा २५ सय रिंगिटसम्म कमाउनुभयो ।
उमेरले सानै हुनुहुन्थ्यो । तर आत्मविश्वास बलियो थियो ।
काममा दुःख थियो । धुलोसँगै दिन बिताउन पर्थों । तर उहाँले संगीतलाई छाड्नुभएन । परदेशमा पनि संगीत उहाँको विरह पोख्ने माध्यम बन्यो ।
तीन वर्षको करार अवधि सकिंदा मन्दिपले पनि विदेशका दुःख सधैंलाई बिसाउने निधो गर्नुभयो । २०७४ फागुनमा मलेसियाको तीन वर्षे दुःखलाई उतै मिल्काएर घर फर्किनुभयो । साथमा सीप, गीत र बाजा ल्याउनुभयो ।
मलेसियाले उहाँलाई सीप मात्र सिकाएन । परदेशमा एक्लै छँदा खेपेका पीडा समेटेर बनाएका गीत पनि लिएर आउनुभयो । बाजा किन्ने सपना त पूरा भैसकेकै थियो ।
‘मैले फर्किंदा सीप, गीत र बाजा ल्याएँ,’ मन्दिप सुनाउनुहुन्छ, ‘माइक्रोफोन र एम्प्लीफायर चाहिँ ल्याउन पाएँ, गिटार पनि किनेको थिएँ, सामान धेरै भएर उतै फालेर फर्किएको हुँ ।’
मलेसियाबाट फर्किएपछि उहाँको जीवनमा धेरै कुरा फेरिए । विदेशमा गरेका संघर्षले नै उहाँलाई स्वदेशमा नयाँ यात्रा सुरु गर्न सहज बनायो ।
२०७४ फागुनमा मलेसियाबाट घर फर्किएका मन्दिपले २०७५ वैशाखदेखि व्यवसायिक यात्रा सुरु गर्नुभयो । मलेसियामा सँगै काम गरेका इलामकै लक्ष्मण घिमिरे उहाँको यात्राको सहयात्री हुनुभयो ।
तीन वर्ष मलेसियामा सँगै दुःख गरेकाले आफ्नै गाउँठाउँमा पनि मिलेर दुःख गर्दा सफल भइन्छ भन्ने विश्वास थियो मन्दिपलाई । उहाँको विश्वासको दियोमा तेल थप्नुभयो लक्ष्मणले पनि ।
‘विदेशमा सीप सिकिएको छ, यसै किन बस्नु काम सुरु गरौं भन्दा लक्ष्मणले पनि हुन्छ नै भन्नुभयो‘ व्यवसाय सुरु गर्दाको क्षण सम्झँदै मन्दिप भन्नुहुन्छ, ‘विदेशमा सिकेको कुरा नेपालमा देखाउन पाए त कस्तो हुन्छ होला भयो, अरु साथीहरु त फेरि बिदेश गए, हामीले विदेश नजाने वाचा गर्दै आफ्नै देशमा दुःख गर्न थाल्यौं ।’
मन्दिप २३ वर्षको हुनुभयो भने लक्ष्मण २६ वर्षको ।
अल्लारे उमेर भएकाले सुरु सुरुमा त ग्राहकले पनि दुवैलाई विश्वास गर्न गाह्रो मान्थें । तर दुवैको सीपले नै ग्राहकको अविश्वास चिर्यो । मलेसियाबाट फर्किंएर काम थालेको भन्ने थाहा पाउनेहरुले उहाँहरुको पौरखलाई ताली बजाएरै तारिफ गरे ।
उहाँहरु डाइनिङ टेवल, लोबेड, बक्स पलाङ, मन्दिर लगायत ग्राहकको इच्छा अनुसारका सबैखाले फर्निचर बनाउनुहुन्छ । ‘हामी ग्राहकले जस्तो भन्नुहुन्छ त्यस्तै बनाउँछौं आजसम्म गुनासो आएको छैन’ मन्दिप उज्यालो अनुहार लगाउदै भन्नुहुन्छ, ‘हामीले बनाएको सामान देखेर नै हो ग्राहक आकर्षित हुने ।’
मन्दिपलाई हिजोआज लाग्छ – विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नु ठूलो काम रहेछ । आफ्नै ठाउँमा गरेको काममा विदेशमा भन्दा दुःख कम छ तर कमाइ उस्तै छ ।
‘विदेशमा त दुःख परे पनि कसलाई पुकार्नु र’ मन्दिप भन्नुहुन्छ, ‘यहाँ त दुःखसुख दुवैमा आफ्नाको साथ र सहयोग छ, बल्ल बुझियो यो कुरा ।’
लक्ष्मण र मन्दिप दुवैले लगानी बराबर नै गर्नुभएको छ, फ्रेण्डसिप फर्निचर उद्योगमा । ७० हजार रुपैयाँमा किनेको उद्योगमा दुवैले लगानी गरेर मेशिनहरु थप्नुभएको छ । एक जनालाई रोजगारी पनि दिनुभएको छ । मासिक झण्डै ५० हजार रुपैयाँ छ उहाँहरुको आम्दानी । भनौं मलेसियाको कमाइलाई जितेको छ ।
सानै उमेरमा व्यवसायमा सफल भएर उदाउँदै गरेका मन्दिपलाई अरुले इलाम जिल्लामै कम उमेरको दोस्रो व्यवसायी भनेर पनि चिन्छन् हिजोआज ।
मन्दिपको गाउँ सन्दकपुर माइमझुवाबाट इलाम बजार झर्ने सबै आफन्तले उहाँको सीप र आँटमा गर्व गर्छन् । बुवाका साथीहरुले पनि आफ्नो कामको प्रशंसा गर्दा मन्दिपलाई काम गर्न थप जोश र जाँगर मिल्छ ।
पाईलट बन्ने सपना अधुरै छाडेर फर्निचर व्यवसायी भएका मन्दिपलाई लाग्छ आफूले गरिरहेको काम र मिलेको सफलताको आधार सानैमा बुवाबाट सिकेको सीप र विदेशको संघर्ष हो । मन्दिपले गरिरहेको कामले बुवाआमाको मुहारमा पनि खुशी छाएको छ ।
बुवाले सिकाएकै कामलाई व्यवसायिक रुपमा अघि बढाउँदा मिलेको खुशी साट्दमन्दिपले भन्नुभयो, ‘अझैं गर्न बाँकी नै छ, जिन्दगीका सजिला अप्ठ्यारा अझै अनगिन्ती छन्, तर जे परे पनि अब फेरि विदेश चाहिँ जाँदिन ।’
जुन पेशाले आफूलाई हुर्कायो, त्यही पेशालाई हुर्काउन जिन्दगीभर लाग्ने मन्दिपले प्रण गर्नुभएको छ ।
पढाईले पठायो विदेश, प्रेमले फर्कायो स्वदेश (भिडियाेसहित)
कतार पुग्दा भत्कियो घर : अहिले स्वदेशकै मेहनतमा भर (भिडियोसहित)
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।