च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
मोरङ – ‘सबिता तिमी तयार हौ है, तिमीले काम पायौ, तिमीलाई लिन आएका छन्,’ कुवेतमै रहेकी नेपाली एजेन्टले सबिता राईलाई बोलाइन् ।
घरबाट विदेश हिँडेको एक महिनापछि काम पाएकोमा मोरङकी सबिता फुरुँग हुनुभयो । नयाँ लुगा लगाउनुभयो । झोलामा सबै लुगाफाटा हालेर हतारिंदै निस्कनुभयो, कोठाबाट बाहिर ।
बाहिर अर्कै खालका मान्छे थिए । शरीरमा कालो लुगा, त्यो पनि शीरदेखि पाउसम्म ढाक्ने खालको । केटा हुन् कि केटी छुट्याउनै मुश्किल । यसअघि आफूले कहिल्यै नदेखेको लुगा लगाएका मानिस पो लिन आएछन् । आफूलाई लिन आएका मानिस देखेपछि सबिताको मनमा चिसो पस्यो ।
उनीहरुले के बोले, बुझ्नुभएन । उनीहरुले गाडीमा बस्न इसारा गरे । गाडीतिर लम्किँदै गर्दा दुईमध्ये एक महिलाले कुवेतमा आफूलाई काम खोजीदिने नेपाली महिलालाई पैसाको बिटो दिए । त्यसपछि सबिताको पाइला रोकियो ।
‘आफ्नै आँखा अगाडि पैसा दिएको देख्दा कस्तो नराम्रो लाग्यो, गाउँमा बस्तुभाउ किनेझैं गरेर पैसा दिएको देख्दा डरले खुट्टा लुगलुग काँप्यो, मलाई त नेपालीले नै बेचिहाले अब लगेर मार्ने हुन् कि झैं लाग्यो,’ सबिताले कुवेतमा आफू बेचिँदाको क्षण सुनाउनुभयो ।
त्यो क्षण सबिताले आफूलाई जीवनमै पहिलो पटक पशुसँग तुलना गर्नुभयो । ‘मलाई त घरका गाईबाख्रा बेचेझैं बेचिदिए भनेर रुन मन लाग्यो’ सबिताको आँखा रसाए।
त्यो बेला मात्रै सबितालाई बन्द आँखाले दलालमाथि गरेको विश्वास र विदेशमा धेरै कमाइ हुने लोभले गाउँमा छाडेको जागिर सम्झेर पछुतो लाग्यो ।
साहुनीले आफ्नै आँखा अगाडि पैसाको बिटो दिएको देखेपछि सबिताले आफ्ना सपना र सुखका दिन सकिएको अड्कल काट्नुभएको थियो । सुरुवाती दिनमा भाषा र काम नजान्दा दुःख त भयो, तर सबिताको मेहनत र सघर्षले उहाँलाई खद्दामा (काम गर्ने मानिस, घरेलु कामदार) बाट कुवेतमा आमा बनायो ।
मोरङ कानेपोखरी गाउँपालिकाको ददेली चोकैमा रहेको बन्दै गरेको घर । घरको अघिल्तिरको सडकमा उभिइरहेकी सबिता । मोटो ज्यान । गोरो अनुहार ।
कुवेतमा आठ वर्ष घरेलु काम गरेर फर्किएपछि गाउँघरमै अरु विदेश जानेलाई सूचना दिँदै बसेकी सबिताले घर अघिल्लितिर रहेको स्कूल देखाउँदै आफू विदेश जाँदाको क्षण सम्झनुभयो ।
२०६० साल कात्तिक २९ गते सबिता त्यही घर अघिल्तिरको स्कूलमा पढाउँदा पढाउँदै हाफछुट्टि भएको बेला कसैलाई नभनी झोला बोकेर हिँड्नुभएको थियो ।
‘बडीआमाले कानेपोखरी चोकमा कुरिहनुभएको थियो, हिँड्न त परिहाल्यो तर त्यो बेला विद्यार्थीको माया लागेर रुँदै रुँदै गएको नि म त’ सबिताले कुवेत जान भनेर स्कुल छाड्दाको क्षण सम्झिनुभयो ।
स्कुलमा मासिक तलब १५ सय रुपैयाँ थियो । एसएलसी पास गरेपछि थालेको स्कुलको जागिरले घरको चुल्हो बलेको थियो । तर ५ जना दिदीबहिनीलाई पढाउनु पथ्र्यो । खेतबारी र बुवाको जागिर पनि नभएकाले सबिताकै कमाइमा सबैको भर थियो ।
‘विदेशमा भयो भने कमाइ राम्रो हुन्छ, बहिनीहरुले पनि पढ्न पाउँछन् भन्ने कुरा गर्नुभयो,’ सबिताले विदेश जानुको कारण खुलाउनुभयो, ‘मलाई पनि सबै राम्रो हुन्छ भने त विदेश जाउँ जस्तो लाग्यो र गएँ तर त्यसरी बेचिइन्छ भन्ने त के थाहा र ?’
विदेशमा कमाइ हुन्छ भन्ने सुन्नुभएको थियो । तर आफू जाने देश र कामको बारेमा उहाँलाई थाहा थिएन । फेरि त्योबेला घरको अभाव पूरा गर्न सबिताले कुनै न कुनै जोखिम मोलेर अघि बढ्ने बाहेक अर्को विकल्प थिएन ।
आफूले गरेको निर्णयमा कसले के भने सबितालाई त्यसको परवाह नै भएन त्यो बेला । बस् कमाउनु थियो । बुवाआमालाई सुखको गाँस खुवाउन थियो । त्यसैले कसैलाई नभनी बडीआमा (ठूलीआमा)को पछि लाग्नुभयो ।
२० वर्षको उमेर । गाउँ छाडेर कहिल्यै कतै जानु भएकै थिएन । काकडभिट्टा हुँदै दिल्ली पुर्याए । दिल्लीमा २२ दिने बसेपछि कुवेत जाने मेसो मिल्यो ।
कुवेत पुगेको पनि चार दिन पछि काम मिल्यो । ‘नामको मात्रै काम, खासमा त हामीलाई काम दिने प्रलोभन देखाएर उनीहरुले पैसा कमाउने रहेछन्,’ सबिता भन्नुहुन्छ ।
नदेखेको भए त ठीकै हुन्थ्यो । तर आफ्नै आँखा अगाडि आफ्नो मूल्य अरुले लिएको देखेकी सरितालाई साह्रै पछुतो लाग्यो । मन भतभती पोल्यो ।
सँगै गएका साथीमध्ये सबैभन्दा पहिला उहाँले नै काम पाउनुभएको थियो । काम गर्दै जाँदा, भाषा बुझ्न थालेपछि सबैभन्दा पहिले आफूले काम पाउनुको कारण पनि उहाँले थाहा पाउनुभयो । कारण रहेछ – मोटोघाटो र देख्दा धेरै राम्रो हुनु ।
घरको सरसफाइ, खाना पकाउने, भाँडा माझ्ने र बच्चा हेर्ने काम सबितालाई छुट्याइदिए । तर उहाँसँग काम गर्न सीप थिएन । नजानेको काम सोध्न, रोइरहेको सानो बच्चोलाई फकाउन भाषा आउँदैनथियो । न उनीहरुले बोलेको आफू बुझिन्छ, न आफूले बोलेका उनीहरु बुझ्छन् । तर पनि काम त गर्नु नै छ । घरको गर्जो टार्नु नै छ ।
‘उनीहरुले कालो भन्दा आफू सेतो बुझिन्छ, कहिले त के भनेको के चुपचाप बस्नु पर्छ, पढेलेखेकै किन नहुन तर उनीहरुले नबुझ्ने रहेछन्,’ सबिता दुःख सम्झिनुहुन्छ, ‘आखिर हामी त कामदार न हो, जसको कुनै महत्व छैन, उनीहरुकै भाषामा भन्दा खद्दामा ।’
नयाँ ठाउँ, नौलो बोलीचाली र रहनसहन । मानिसले मानिसको भाषा बुझ्दैन । सुरुवाती दिनमा सबितालाई परदेशले एक्लो बनायो ।
बुवाआमा, भाइबहिनी र स्कुलका विद्यार्थीको यादले खुवै रुवायो उहाँलाई । खानै रुचेन । सबिताको जीवनमा यस्तो पहिलो पटक भयो, जुन यसअघि उहाँले कल्पना पनि गर्नुभएको थिएन । तर त्यही अनुभवले उहाँलाई विस्तारै जीवनमा नयाँ कुरा दियो ।
काम सिकेपछि साहुनीको माया मिल्न थाल्यो । बस्दा र रहँदा उहाँको माया त्यही घर र बालबच्चासँग बस्यो । समयसँगै सबितालाई आफ्नो गाउँ र बुवाआमा नै भुलेझैं बनायो त्यही घरले ।
सबिताले काम गर्ने घरमा साहु थिएनन् । पाँच जनाको परिवार थियो । तीन छोरी । सात वर्षका एक छोरा र साहुनी ।
उहाँले त्यो घरमा काम गर्न थालेपछि साहुनीकी जेठी छोरीको बिहे भयो । साहुनी काममा जाने भएकाले घरको व्यवस्थापनदेखि सानो छोराको जिम्मा सबिताकै थियो ।
‘मेरो नाम सबिता भए पनि मलाई त्यहाँ सबिता भन्न नजानेर सनिता भन्ने, साहुनीको बुढा बितेको रहेछ, मैले राम्रोसँग घर सम्हाल्दै गएपछि साहुनीले मलाई तिमी चाहिँ यो घरको बाबा म चाहिँ मामा भन्थिन्,’ सबिता काम गर्दा साहुनीले गरेको माया सम्झनुहुन्छ ।
दुई तलाको घरको रेखदेख र खटनपटन सबिताकै भयो । घरका बालबच्चा सबितासँग नै धेरै रमाए । ‘सनिता अप भन्ने, साहुनीको छोरो र जेठी छोरीको बच्चा जन्मिए पछि त मैले मलाई त्यो घर आफ्नै जस्तो लाग्यो,’ सबिता भन्नुहुन्छ, ‘मैले त बिस्तारै आफ्नो गाउँघर र बुवाआमा नै भुलेकी थिएँ ।’
काम र भाषा जानेपछि सबितालाई साहुको घरमा माया र इज्जत मिल्यो । कामदार भए पनि सबिता घरको आमा हुनुभयो । तर उहाँलाई साहुनीले मायाले आमाको दर्जा दिएकी होइनन् । उहाँको व्यवहार, संघर्ष र कामले नै विश्वास बढायो ।
‘पछिपछि त त्यो घर मेरै इशारामा चल्थ्यो, २/४ वर्षपछि मलाई म त्यो घरमा कामदार हुँ भन्ने लाग्न छाडेको थियो,’ घरेलु कामको सुखद अनुभुति सुनाउनुहुन्छ, बबिता।
घरमा आउन उहाँलाई रोकछेक थिएन । सुरुवाती दिनहरुमा ४० अर्थात झण्डै १० हजार रुपैयाँ थियो मासिक तलब । वर्षहरु बढ्दै जाँदा तलब पनि बढ्दै गयो । सबिताको पनि काम र साहुको घरसँग माया बस्दै गयो । आठ वर्ष त पत्तै नपाइ बित्यो ।
आठ वर्षको अवधिमा उहाँ तीन पटक घर आवतजावत गर्नुभयो । आठौं वर्षमा तेस्रो पटक घर बिदामा आएपछि भने उहाँलाई फर्किन मन लागेन ।
आठ वर्ष विदेशमा बस्दा र तीन पटक आवतजावत गर्दा जीवनमा धेरै कुरा मिल्यो । यो अबधिमा कति कमाएँ भन्ने हिसाब छैन उहाँसँग । तर घरको चुल्हो उहाँकै कमाइले बल्यो । बहिनीहरुले सुखैले पढ्न पाए । अलिअलि जग्गा पनि जोड्नुभयो । अनि जीवनसाथी पनि भेट्नुभयो ।
‘म दोस्रो पटक छुट्टीमा आउँदा नाइट बस चढेर घर गएकी थिएँ, त्यो बेला श्रीमानसँग भेट भएको हो, उहाँ गाडी चलाउनुहुन्थ्यो, चिनजान भयो, पछि बिहे पनि गर्यौं,’ सबिता सुनाउनुहुन्छ ।
घर बिदामा आउँदा गाडीमा भेटिएका चालकसँग बसेको माया सबिता विदेश छँदा पनि मरेन । मायामा छँदा सबितालाई लागेको थियो – कतै परिवारले नमान्ने हो कि !
जातभातका कुरा गर्लान् भन्ने डर थियो । राई परिवारकी छोरीलाई सप्तरीका मण्डल परिवारले बुहारीका रुपमा स्वीकार गर्ने हुन् कि होइनन् भन्ने चिन्ता थियो । तर त्यसो भएन । परिवारकै सहमतिमा विदेशबाट फर्किएको एक वर्षपछि २०६९ सालमा लगन गाँठो कस्नुभयो ।
बिहेपछि पनि श्रीमानले गाडी चलाए । सबिताले घर चलाउनुभयो । श्रीमानका बुवाआमा बितिसकेका थिए । यता सबिताको माइतमा दाजुभाइ नभएकाले बुवाआमा र बहिनीहरुकोे जिम्मेवारी उहाँकै काँधमा थियो । त्यसैले उहाँ माइतीनै बस्नुभयो । त्यसमा श्रीमानको पनि सहयोग थियो ।
भूकम्पपछि भारतको नाकाबन्दीको असर गाडीमा पनि प र्यो । गाडीबाट राम्रो आम्दानी नभएपछि घरसल्लाहमै सविताका श्रीमान् पैसा कमाउन साउदी लागे ।
सबिता बुवाआमाको रेखदेख गर्न मोरङमा नै बस्नुभएको छ । उहाँ ओरेक नेपालले मोरङ कानेपोखरीमा सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रमा काम गर्नुहुन्छ।
विदेश जान खोज्नेहरुलाई परामर्श दिनुहुन्छ । गाउँगाउँमा पुगेर दिदीबहिनीहरुलाई विदेश जानुअघि र विदेशमा गएपछि अपनाउनुपर्ने सावधानीका बारेमा सचेत गराउनुहुन्छ ।
विदेश जान लागेकाहरु सूचना केन्द्रमा भन्दा बढी उहाँकै घरमा सरसल्लाह लिन आउछन् । आफूले भोगेको र देखेको विदेशको बारेमा बताएर सचेत गराउन पाउँदा सबितालाई आनन्द लाग्छ ।
‘म जाने बेला त कुन देश जाने हो भन्ने थाहै थिएन, कुवेत पूर्वमा पर्छ कि पश्चिममा भन्ने पनि थाहा थिएन,’ सबिता भन्नुहुन्छ, त्यसैले मलाई लगेर पैसामा बेचिदिए, मेरो भाग्यले पो दुःख पाइनँ त, मजस्ता अरुले पाएको दुःख त कति देखियो त्यो देशमा ।’
सबितालाई अहिले पनि साहुनीले काममा आउ भनेर फोन गर्छिन् । तर सबितालाई अब विदेश जान आवश्यक छैन जस्तो लाग्छ । कलिलै उमेरमा उहाँलाई धेरै पैसा कमाएर घरको अभाव टार्ने इच्छाले विदेश पु र्यायो ।
अब उहाँलाई अर्काको देशमा अरुकै बालबच्चा र घर स्यार्हानुभन्दा पनि आफ्नै बुवाआमाको हेरचाह गर्नु छ । ‘मेरा दाजुभाइ छैनन्, बुवाआमाका लागि म आफैं विदेश गएर आएँ, अब बुढेशकालमा उहाँहरुलाई नै पाल्छु,’ सबिताले अब विदेश नजाने योजना सुनाउनुभयो ।
नबुझेरै विदेश पुग्दा बेचिनु परे पनि किन्ने साहुनीले किनेकोजस्तो व्यवहार गरिनन् । त्यसमा सबिता आफूलाई भाग्यमानी ठान्नुहुन्छ । त्यो बेला अहिले जस्तो विदेशको बारेमा जानकारी दिनेहरु पनि थिएनन् ।
अहिले जानकारी लिने ठाउँहरु प्रशस्त छन् । तर धेरैजना लहलहैमा नै परदेश जाने निर्णय गर्छन् । ‘अर्काको देशमा कमाउन जान्छु भनेर खुट्टा उचाल्नु अघि राम्रोसँग बुझ्नुपर्छ,’ सबिता यहीकुरा सबैलाई बुझाउने कोसिस गर्नुहुन्छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।