धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
मोरङ – मोरङकी मनमाया मगर आफूलाई असफल प्रेमिका र अभागी आमा भन्नुहुन्छ । १५ वर्षकै उमेरमा प्रेम विवाह गरेकी मनमाया १६ वर्षमा नै आमा बन्नुभयो।
जीवन केही वर्षसम्म त ठिकठाकै चल्यो । तर लामो समयदेखि मनमायाको मनमा शान्ति छैन । जीवनका उकालीओराली सँगै गर्ने वाचा गरेका श्रीमानले बीच बाटोमै साथ छाडिदिए ।
श्रीमानले साथ छाडेपछि बालक छोरालाई हुर्काउन र बढाउन उहाँलाई परदेश जानुपर्ने बाध्यता आइपर्यो । दुई महिनाको छुट्टिमा कतारबाट घर आएका बेला मोरङमा भेटिएकी मनमायाले सम्झनै मन नलाग्ने जिन्दगीका कथाव्यथा सुनाउनुभयो ।
१९ वर्षको उमेरमै विदेश जानु त्यो पनि दुई वर्षे छोरालाई छाडेर । यो कुरा कुनै पनि आमाले सोच्न सक्दैनन् । तर मलाई बाध्यताले यही गर्न पर्यो ।
मैले प्रेम विवाह गरेको थिएँ । त्यो पनि १५ वर्षको उमेरमा नै । बिहे भएको एक वर्षपछि बाबु जन्मियो । बाबु जन्मिएपछि एउटा खुशी थपियो । आमा बन्दाको खुशीलाई अनुभव गर्न नपाउँदै मैले विभिन्न पीडा सहन पर्यो ।
समय उस्तै नहुने रहेछ । मेरो बैवाहिक जीवन राम्रो भएन । त्यसैले म आफ्नो र छोराको भविष्यका लागि कतार गएको हुँ ।
म २०७१ साल मंसिरमा कतार गएँ । क्लिनरको काममा ७५ हजार रुपैयाँ पर्ल म्यानपावरलाई बुझाएर गएको थिएँ । अढाई वर्षे छोरालाई मैले माइतीकै साथमा छाडेर गएको हुँ ।
तर म गएपछि सासुले आएर मेरो छोरो लग्नुभएछ । कतारमा सप्लाई कम्पनीमा काम पर्यो । काम चाहिँ क्लिनरको हो । काम गर्ने ठाउँ ६/६ महिनामा परिवर्तन भैरहन्छ ।
धेरै मानिस सप्लाई कम्पनीमा परियो, काम गर्ने ठाउँ परिवर्तन भइरहन्छ भनेर दिक्क मान्छन् । तर मलाई भने यो काममा रमाइलो लाग्छ । केटी मान्छेलाई कहिले स्कुलमा, कहिले होटलहरुमा सफाइ गर्ने काम पर्छ । नयाँ ठाउँमा नयाँ कुरा सिक्न पाइन्छ । मलाई त खुब रमाइलो लाग्छ ।
यो काममा बानी पर्न पनि कम्ता गाह्रो परेन । पहिले त उनीहरुले बोलेको पनि नबुझिने । काम पनि राम्रोसँग नजानिने । बेलाबेला त गाली पनि खाइन्थ्यो । त्योबेला चाहिँ मलाई नरमाइलो लाग्थ्यो ।
कम्पनीमा सबैकुरा राम्रो नै छ । समयमा पैसा पनि दिन्छ । तर बिरामी परेको बेला चाहिँ वास्ता गर्दैन कम्पनीले । छोराको यादले खुब सताउँथ्यो । फोनमा बेलाबेलामा कुरा हुँदा बाबुले ‘ममी छिट्टै आउनु है’ मात्र भन्ने । त्यो बेला चाहिँ भक्कानो छुट्छ ।
काम राम्रो नै छ । १२ घण्टा काम गर्छु । १२ सय कतारी रियाल (झण्डै ३७ हजार रुपैयाँ) छ तलब । म खुशी नै छु । तर पहिले घरबाट निस्कनुअघि त मलाई खुब डर लागेको थियो ।
अर्काको देशमा, आफू लेखपढ नभएको मान्छे के हुने होला भन्ने मात्र लाग्थ्यो । त्यसमाथि काखे छोरा छाडेर हिँड्न कहाँ सजिलो छ र ! असाध्यै पीडा हुन्थ्यो ।
छोरालाई अन्याय गरें भन्ने लाग्थ्यो । बाउले पनि छाडेर हिँडे । म पनि हिँडे । यस्तै कुरा सम्झँदा मन कुँडिन्छ । मेरो श्रीमानले बुझेको भए, मेरो सम्बन्ध पहिलेजस्तै भैदिएको भए छोरा छाडेर विदेश जान पर्दैन थियो भन्ने लाग्छ । तर भइसकेको कुरामा मलाई पछुतो छैन ।
म विदेश गएपछि घरपरिवार र छिमेकीले नराम्रो काम गर्न गएको भन्छन् । विदेशमा मैले पनि अरुले गर्ने जस्तै दुःख गर्ने हो । फरक के छ र ? केटाले जस्तै काम त गर्छौं हामी पनि ।
जसले नराम्रो भने पनि मैले विदेश गएर बाटो बिराएको छैन । त्यो मलाई थाहा छ । अब भविष्यका लागि के गर्ने भनेर मैले भविष्यको बाटो पनि बनाउँदै छु ।
अब तीन वर्षजति विदेश बसेर कमाउँछु । आफ्नो लागि आफैंले गर्नुपर्ने रहेछ । अरुको त के भर र । तीन वर्ष कमाएको पैसाले म आफ्नो लागि केही गर्ने योजनामा छु । त्यसपछि त कहिल्यै पनि विदेश जाँदिनँ ।
मन त पहिले पनि थिएन । सानैमा मायामा परियो । त्यो बेला यस्तो लाग्थ्यो माया नै जीवन हो । तर अहिले मसँग त्यो माया छैन, दुःख छ । परदेशमा दुःख गर्नु परेको छ । अहिले लाग्छ जीवन यही हो ।
विदेशबाट फर्किएपछि एउटा सानो पसल खोल्छु । छोरा पढाउँछु । बुवाआमा पाल्छु । मेरो चाहना यही छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।