परदेशको पीडा, नभोग्नेलाई के थाहा ! (भिडियोसहित)

 चैत २८, २०७५ बिहीबार ९:३५:५५ | सन्जिता देवकोटा

झापा – ‘विदेश नगएको भए यस्तो हुँदैन थियो होला,’ पाँचथरकी ममता राईको एक मन पछुतोले भरिन्छ । 

‘विदेश नगएको भए ऋण कसरी तिर्थें होला र ?’  पछुतोले भरिएको मन उतिखेरै बुझाउनुहुन्छ । अनि आफूलाई सम्हाल्नुहुन्छ । 

ममताको मन बिचलित छ । गाउँठाउँमै केही गर्ने सोचले थालेको व्यवसाय डुब्दाको ऋण तिर्ने सपनाले परदेश जाँदाको दिन, अनि ठूलो भइसकेको छोरो र लोग्ने आँखाभरी नाचिरहन्छन् । घोचिरहन्छ, परदेशमा काम गदै गर्दा परेको बज्रपातले । 

सपना त ममताले विदेशमा कमाएर ऋण तिर्ने, अनि परिवारसँग सुखैले रमाउने सोच्नुभएको थियो ।

तर साँचेका सपना कहाँ सधंै बिपना बनेर आउँछन् र ? जीवनमा यस्तो मोड आइदिन्छ जुन देखेका सपनाभन्दा एकदम फरक र नमिठा हुन्छन् । यस्तै भयो ममताको जीवनमा पनि । ऋण तिर्नका लागि लेबनान पुग्दा श्रीमान् र छोरा गुमाउनु पर्‍यो । जिन्दगीले दिनुसम्मको पीडा दियो । 

ऋण तिर्न परदेश 

पाँचथर लालीखर्ककी ममताका दुई छोरा र एक छोरी । सबै गाउँमै बस्थे ।

गाउँमा उद्योग पनि थियो, नेपाली कागज बनाउने । ऋण गरेर कमाउन परदेश लाग्नुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने सोचले नै उद्योग खोल्नुभएको थियो । 

केही समय त उद्योग राम्रो नै चल्यो । तर कच्चा पदार्थको अभाव हुँदा उद्योग चलाउन मुश्किल पर्‍यो । उद्योग बन्द नै भयो । ‘उद्योग बन्द हुँदा ऋण लाग्यो, त्यो बेलाको समयमा दुई लाख रुपैयाँ ऋण चानचुने कुरा थिएन,’ ममता सम्झनुहुन्छ । 

दुई लाख रुपैयाँ ऋण लाग्यो । छोराछोरी दिनदिनै बढ्दै थिए । श्रीमान पहिलेदेखि नै जण्डिसको बिरामी, केही गर्न नसक्ने । आम्दानीको बाटो कुनै थिएन । घर व्यवहार धान्नै मुश्किल भइरहेका बेला ऋण कसरी तिर्ने ? साह्रै आपद आइलाग्यो ।

जण्डिसले गलाएका श्रीमानलाई कमाउन कहाँ पठाउनु । ममतालाई लाग्यो – ‘दुई चार वर्ष आफैं विदेशमा कमाएर ऋण तिर्छु ।’

विदेश जाने चाँजोपाँजो मिलाउँदै जाँदा लेबनान जाने मेसो मिल्यो । म्यानपावरलाई ३० हजार रुपैयाँ बुझाउनुभयो । घर सल्लाहमै उहाँ १० वर्षअघि सन् २००९ मा घरेलु कामका लागि लेबनान उड्नुभयो । ममता लेबनान उड्दा छोरी १३, एक छोरा ११ र कान्छो छोरा ९ वर्षका थिए । 

काठमाण्डौबाट उडेको जहाजले बहराइन ट्रान्जिट हुँदै लेवनान पुर्‍यायो । मासिक तलब १५० डलर हुन्छ भनेको थिए म्यानपावरका मान्छेले । १५० डलर अथवा त्यो बेलाको विनिमय दर अनुसार झण्डै १२ हजार रुपैयाँ हुन्थ्यो । 

खाना बनाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने यस्तै थियो ममताको काम । घरका साहु साहुनीले दुःख दिँदैन थिए । आरामले काम गर्न पाइन्थ्यो । तलब पनि महिनैपिच्छे दिन्थे ।

‘श्रीमानलाई महिनैपिच्छे पैसा पठाउथें, ऋण तिर्न मात्रै तिर्न वर्ष लाग्यो,’ ममता भन्नुहुन्छ, ‘१२ हजार रुपैयाँ कमाएर दुई लाखको सावाँ ब्याज तिर्न मलाई हम्मेहम्मे पर्‍यो ।’ 

घरबाट आएको छोराछोरीको त्यो फोन 

सुरुवाती दिनहरुमा भाषा नबुझ्दा केही अप्ठ्यारो परे पनि उहाँलाई काम गर्ने वातावरण सहज बन्दै थियो । 

उता काम गर्ने घरको परिस्थिती सहज भइरहेका बेला ममताले अर्को असहज परिस्थितीको सामना गर्नु पर्‍यो । ममता लेबनान पुगेको चार वर्ष लागेको थियो । छुट्टीमा आएर फर्किएको दुई महिना मात्रै  ।

एक दिन काम गरिरहँदा फोनमा घण्टी बज्यो । छोरीले फोन गरेकी थिइन् ।

ममताले हेलो भन्न नपाउँदै छोरीले भनिन् ‘बुवा त खसे ।’ 

‘छोरीको रुँदै गरेको बोली याद छ मलाई, म पनि रोएँ होला, म होशमा आउँदा त मैले मेरो बुढा बितेर बेहोस भएछु भन्ने कुरा पनि याद रहेछन्,’ ममता सम्झनुहुन्छ, ‘म बिउँझिएर यताउता हेरें, मलाई पनि उसैगरी सबैजना हेरिरहेका थिए ।’

उहाँलाई एकपल पनि त्यो ठाउँमा बस्न मन थिएन । काम गर्नु त परको कुरा । तर घर बिदामा आएर केही महिनाअघि मात्रै फर्किएकाले बिदा मिलेन । ‘मलाई त औडाहा भएको थियो, तर साहुनीले नै सम्झाइन्, मर्ने मरेर गइहाले यसो नगर भनिन्,’ ममताले त्यो क्षण सम्झनुभयो, ‘अर्काको देशबाट मिल्दैन भनेपछि कसरी आउनु, पाइनँ आउन ।’

हुन त घर बिदामा आएका बेला छोरा र श्रीमानले अब विदेश नजानु भनेका थिए । तर ममताको मन मानेन । 

‘यतै केही गरी खानुपर्छ नजाउ त भन्नुभएको थियो,’ पछुतो मान्दै ममता भन्नुहुन्छ, ‘ऋण त तिरेको थिएँ, अलिअलि कमाएर एउटा घर पनि बनाउँछु भन्ने रहरले गएको, मर्ने बेलामा अनुहार पनि देख्न पाइनँ ।’

त्यस अवधिमा ऋण तिरेर उहाँले झापाको धाइजनमा जग्गा पनि किन्नुभएको थियो । थप एक दुई वर्ष परदेशमा काम गरेर घर बनाउन पुग्ने पैसा कमाउने उहाँको योजना थियो । तर घर बनाएर स–परिवार रमाउने सपना पूरा हुन पाएन । 

श्रीमान बिते पनि छोराछोरी सम्झेर त्यो बेला आफूलाई सम्हाल्नुभएको थियो । दिनहरु बित्दै गए । ममता काम गर्दै जानुभयो । 

एकपछि अर्को मृत्युको खबर

श्रीमान बितेको झण्डै डेढ वर्ष भएको थियो । कान्छो छोरा मावली (सिक्किम) मा बसेर पढिरहेका थिए । जेठो छोराले ममतालाई गाउँमै गएर बाख्रा पालन गर्ने योजना सुनाए । 

छोराले बाख्रा पाल्छु भनेपछि उहाँले २० हजार रुपैयाँ पठाइदिनुभयो । २० हजार रुपैयाँ बोकेर झापाबाट पाँचथर लागेको छोराले तीन चार दिन बित्दा पनि फोन गरेनन् ।

‘मैले उताबाट गर्दा पनि छोराको फोन लागेको त थिएन,’ ममता सम्झनुहुन्छ, ‘आफन्तलाई पनि फोन गरेर सोधेँ, छोरालाई सबैले देखेको छैनौं नै भने ।’ तर नहुनु पर्ने कुरा भइसकेको रहेछ । 

एकदिन आफन्तले नै फोन गरेर भने, ‘कान्छी  तिम्रो छोरा त बितेछ ’ भनेर सुनाए । सुनेर भाउन्न भएकी ममताले केही बोल्न नपाउँदै ती आफन्तले भने ‘लडेछ, लडेकै ठाउँमा बितेछ ।’ 

१९ वर्ष लागिसकेको छोरा कहाँबाट लड्यो होला । अस्पताल लग्न पनि नपाइ बित्ने कस्तो ठाउँबाट लड्यो होला ? यस्तै अनगिन्ती प्रश्न उब्जियो ममताको मनमा  ।
नहुनु भैसक्यो । छोराले संसार छाडिसकेका थिए । तर पनि छोराको मृत्युको खबर पत्याउन गाह्रो भयो उहाँलाई । 

‘बाख्रा पाल्छु भनेर गाउँ गएको छोरा मर्‍यो भनेर कसरी पत्याउनु,’ ममता भन्नुहुन्छ, ‘अहिले पनि मलाई त्यो क्षण सपना जस्तै लाग्छ ।’

श्रीमानको मृत्यु हुँदा त्यही छोराछोरी सम्झिएर सम्हालिएर बस्नुभएकी ममतालाई त्यही छोराको मृत्युको खबर सहन निकै गाह्रो भयो । ‘मलाई त्यो खबर सुनेदेखि एकछिन पनि बस्न मन थिएन त्यहाँ, १५ सय डलर तिरेर म नेपाल फर्किएँ, ’ एकपछि अर्को सहारा गुमाउनुपर्दाको अवस्थाले ममतालाई छटपटी भयो ।

घर बनाउने सपनाले अरुको घरमा दुःख गर्दागर्दै आफ्नो साहारा गुमेको पत्तै भएन ममतालाई । तीन वर्षअघि ममता आफ्ना गुमाउनुको पीडा लिएर घर फर्किनुभयो।

 ‛छोराको मृत्युपछि गाउँमा बस्न सकिनँ′

श्रीमानले छोडेर जानुअघि नै छोरीको बिहे भैसकेको थियो । कान्छो छोरो पनि मावलमा बसेर पढ्छन् । ठूलो छोरो पनि बित्यो । 

कोही नभएको सुनसान घरको आँगनमा पुग्दा ममताको पाइला गह्रौं भयो । छोराको सदगत भइसकेको थियो । घर आँगन उजाड थियो । ममतासँगै घर आँगन नै शोकमा जस्तो देखिन्थ्यो । 

ममता घर त जानु भयो । तर जताततै छोराकै सम्झना र झल्को देख्नुभयो । 

‘मेरो मन त एकछिन पनि मानेन, जता हेरे पनि छोराले संगालेको घर, बस्तुभाउ, जता हेर्दा पनि उही आइहाल्छ कि झैं लाग्ने,’ ममताले आँखाभरी आँसु पार्दै भन्नुभयो, ‘कसरी त्यही ठाउँमा बस्न सक्नु र ।’

मन भुलाउने बहानामा कहिले माइती त कहिले झापातिर भौंतारिनुभयो । काम नगरी बस्दा  यादले गलाउन थालेपछि उहाँले आफूलाई सम्हाल्न भए पनि केही काम गर्ने निधो गर्नुभयो । 

‘काम गर्दा त बरु मन एकछिन भए पनि बरालिएला भनेर मैले बिर्तामोर्डमा होटल खोलेँ,’ ममता भन्नुहुन्छ, ‘होटल राम्रो नै चल्यो, धेरथोर कमाइ पनि भयो त्यहाँबाट ।’ 

पहिले आफ्ना थिए । सबैको साथ थियो । तर ऋणले परदेश धकेल्यो । जब साहुको ऋणको भारी बिसाउनुभयो, तब सन्तान वियोगको पीडा थियो । ममता भन्नुहुन्छ, ‘र पनि सम्हालिन पर्दोरहेछ, आफू बाँचुञ्जेल संसारको रीत अनुसार नै चल्नुपर्ने रहेछ ।’ 

कुखुरा बाख्रा साथी

ममताले अहिले बिर्तामोडमा सानो घर किन्नुभएको छ । त्यही घरमा किराना पसल पनि चलाउनुभएको छ । अहिले ममतासँग एउटा सामान्य जीवन गुजारा गर्न आवश्यक पर्ने सबै कुरा छ ।

टाउको लुकाउन घर छ । दुईचार पैसा पसलबाटै आम्दानी हुन्छ । तर सबै कुरा भएर पनि ममतालाई आफू रित्तो लाग्छ । सबै कुरा फिक्का लाग्छ । 

‘मेरो आफ्ना भन्ने नै रहेनन्, जसका लागि दुःख गर्न परदेश गएँ, उनीहरुलाई गुमाउन पर्‍यो,’ ममता विरक्त मान्दै भन्नुहुन्छ, ‘गुमाउन बाँकी केही नभएर होला अहिले त आफूसँग भएका कुरामा खुशी पनि लाग्दैन, किन यस्तो भएन भनेर दुःख पनि लाग्दैन ।’

ममताका घरभरी कुखुरा छन् । बाख्रा र सुँगुर पनि पाल्नुभएको छ । एक्लै बस्ने ममताको अहिले साथी यिनै भएका छन् । 

‘पाहुनापाछा आउँछन्, उनीहरुलाई पनि टार्न पुर्याउन पर्‍यो, मनमा दुःख छ भनेर संसार त्याग्न नसकिने रहेछ, के गर्नु,’ ममताले सुस्केरा हाल्नुभयो । उहाँका कान्छो छोरा अहिले कतार गएका छन् । पढ्न भन्दा परदेशको रहर गरेपछि ममताले छोरालाई परदेश नजाउ भन्न सक्नुभएन । 

परदेश नगएको भए आफ्ना मुटुहरु गुमाउन पर्दैन थियो कि भन्ने पछुतो मात्रै बाँकी छ अहिले ममतासँग । 

परदेशले केही दिएको पनि थियो । दुई चार पैसा कमाइ भएको थियो । साहुको ऋणबाट मुक्ति मिलेको थियो । तर अहिले फर्केर हेर्दा सबै कुरा फिक्का लाग्छ उहाँलाई । भन्नुहुन्छ, ‘अहिले त मलाई सबै कुरा गुमाएँ भन्ने लाग्छ ।’

ममता भन्नुहुन्छ, ‘कोही पनि सन्तान छाडेर बाध्यताले परदेशिन नपरोस् । सुख होस् या दुःख, आफ्नाहरुकै साथमा जीवन बिताउन पाइयोस् ।’ 
 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया