सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – पछिल्लो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।
वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार गएको जेठमा ४३ हजार ६५४ युवाले अन्तिम श्रम स्वीकृति लिएका छन । वैशाखमा ४८ हजार ७५६, चैतमा ४४ हजार ९०५ तथा फागुनमा ४४ हजार ६८८ युवा रोजगारीका लागि विदेश गएका छन् ।
चालु आर्थिक वर्षमा सरकारले बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ र युवा उद्यमशीलता प्रवद्र्धन गर्न विभिन्न प्रकारका सहुलियत कर्जा कार्यक्रम ल्याएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उनीहरुले सिकेका सीपका आधारमा स्वरोजगार बन्नका लागि सहुलियत ब्याजमा कर्जा दिने काम पनि सुरु भएको छ ।
सरकारले ल्याएको युवा लक्षित कार्यक्रमको प्रभावका कारण नै वैदेशिक रोजगारीमा जाने क्रम घटेको सरकारको दावी छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष र सीपयुक्त बनाएर पठाउने नीति लिइएको भए पनि धेरैजसो अदक्ष कामदार नै विदेश गएका छन् ।
जेठ महिनामा मात्रै २३ हजार ३३६ पुरुष र एक हजार ६६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएको विभागले जनाएको छ । १४ हजार ६०३ दक्ष, तीन हजार ९६३ अर्धदक्ष, ७६ जना व्यावसायिक सीप हासिल गरेका युवा वैदेशिक रोजगारीमा गएका छन् ।
पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका कामदारलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति ल्याएको छ । विभागले यही असार १५ गतेदेखि १२ प्रकारका कामका लागि सीप सिकेको प्रमाणपत्र पेश गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।
सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजागर बोर्डमार्फत सीपयुक्त बनाउने काम पनि सुरु भैसकेको छ ।