धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
अरुको जग्गामा घर बनाएर बसेका पाँचथरकी कल्पना शिवाका श्रीमान मानबहादुर आफ्नै जग्गामा घर बनाउने सपना बोकेर २०७५ साल मंसिरमा परदेश लागेका थिए । तर विदेश पुगेको ३ महिना नपुग्दै आत्महत्या गरेको खबर आयो । कल्पनाले चार दिनपछि मात्र श्रीमान बितेको खबर पाउनुभयो । श्रीमानको लास भने त्यसको पाँच महिनापछि गएको शुक्रबार मात्रै काठमाण्डाै आइपुग्यो । पाँच महिनासम्म छोराछोरी सम्हाल्दै लास कुर्न कल्पनालाई पलपल जिउँदै मर्न पर्यो ।
विदेशमा कमाउन गएको आफ्नो मान्छे बित्यो रे भन्ने सुन्नुपर्दा एउटा पीडा, अनि लास आउने बाटो हेरेर महिनौं तड्पिनुपर्दाको अर्को पीडा । पाँचथरकी कल्पना शिवा र उहाँका परिवारले जस्तै पीडा भोग्ने परिवार अरु पनि धेरै छन् । यस्तै मध्येमा पर्नुहुन्छ, नुवाकोटका शुकबहादुर तामाङ । उहाँले पनि साउदीमा बितेका छोराको लास लिन ४२ दिन कुर्न पर्यो ।
नुवाकोटका शुकबहादुर तामाङले त ४२ दिन मात्र कुर्नु पर्यो । साउदीबाट धेरैको शव आउन त तीन महिनादेखि ५ वर्षसम्म लाग्छ । साउदीबाट ल्याउनका लागि पाँच वर्षसम्म लागेको ‘रेकर्ड’ छ । रामेछापका बमबहादुर तामाङको काजकिरिया गरेको पाँच वर्षपछि मात्र शव आयो ।
साउदीमा अवैधानिक बसेका कारण बमबहादुर जेल परेको र जेलमै निमोनिया भएपछि उपचारको क्रममा पाँच वर्ष पहिले ज्यान गएको थियो । उपचारमा लागेको झण्डै ८ लाख रुपैयाँ अस्पतालको खर्च तिर्न नसक्दा शव आउन ढिलाइ भएको हो । सन् २०१३ मा मृत्यु भयो । परिवारले काजकिरिया पनि त्यही बेला गरे तर शव भने २०१७ मा मात्रै आयो ।
प्रक्रिया नै लामो
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गएको १० वर्षमा ६ हजार ७ सय ९० जनाको रोजगारीकै क्रममा विदेशमा ज्यान गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३ देखि ४ वटा शव बाकसमा आउने गर्छ । विदेशमा काम गर्न गएका नेपालीको मृत्यु हुने तथ्यांक जति डरलाग्दो छ, शव आउन ढिलाई हुँदा परिवारले खेप्नुपर्ने पीडा र वेदना झन् कहालीलाग्दो छ ।
सबै प्रक्रिया पूरा गरेर शव ल्याउन कम्तिमा एक हप्तादेखि बढीमा पाँच वर्षसम्म लागेको प्रवासी नेपाली समन्वय समितिले गरेको एक अध्ययनले देखाएको छ । ज्यान गएको कारण र देशअनुसार शव आइपुग्ने अवधि फरकफरक छ । नेपाली कामदारको शव नेपाल आउन कतारबाट एक हप्तादेखि तीन हप्तासम्म, मलेसियामा एक हप्तादेखि साढे २ महिनासम्म, अनि साउदीबाट तीन महिनादेखि ५ वर्षसम्मको समय लाग्छ ।
आत्महत्या गर्ने र हत्या भएका व्यक्तिको शव नेपाल आउन धेरै समय लाग्छ । अनि कागजपत्रविहीन भएर काम गरिरहेका व्यक्तिको शव झिकाउन पनि समय लाग्छ । यी व्यक्तिहरुको कागजपत्र मिलाउन र गन्तव्य देशमा शव स्वदेश पठाउनका लागि गर्नुपर्ने प्रक्रियामै बढी समय लाग्छ ।
कामदारको मृत्यु भएपछि कम्पनीले दूतावासमा सम्पर्क गर्छ । दूतावासले परिवार वा म्यानपावरलाई खबर गर्छ वा साथीभाइले पनि खबर गर्न सक्छन् । परिवार सम्पर्कमा आएपछि उनीहरुले खोजी गर्ने भए । उता प्रक्रिया भइरहेको हुन्छ, यो मानिसले शव बुझ्छ भन्ने आधिकारिकता हुन पर्छ । कम्पनीले अस्पतालबाट मृत्युको रिपोर्टसहित कामदारले तलब तथा अन्य सेवा सुविधासहित पाउनुपर्ने सेवासुविधा लेबर कोर्टमा डिपोजिट गर्नु पर्छ । त्यसपछि रोजगारदाता कम्पनीले यी सबै कागजपत्र दूतावासमा पेश गर्छ । दूतावासले सबै कुरा बुझेर, शव पठाउन ठिक छ भनेर एनओसी जारी गर्नु पर्छ । त्यसपछि कम्पनीले शव नेपाल पठाउँछ।
गन्तव्य देशमा प्रक्रिया भैरहँदा स्वदेशमा पनि परिवारले शव ल्याउनका लागि बोर्डमा वा कन्सुलर सेवा विभागमा निवेदन दिनुपर्छ । शव आउने बेलामा दूतावासले कुन एअरलाइन्समार्फत र कहिले आउँछ भनेर जानकारी परिवारलाई दिनुपर्छ । परिवारले आफू शव बुझ्नेबारे निश्चित गर्नुपर्छ । सरकारले उपलब्ध गराउने निःशुल्क सवारीका लागि शव आउने दिन निश्चित भएपछि परिवारले वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्छ ।
शव छिटो ल्याउन के गर्दैछ सरकार ?
नेपाली नागरिक देशमा होओस् या परदेशमा । सास होओस् या लास । उसको संरक्षणको जिम्मेवारी सरकारको हो । एक त विदेशमा कामदारको ज्यान जाने घटना नै रोक्नुपर्ने काममा सरकार लाग्नुपर्छ भने अर्कोतिर ज्यान गएको अवस्थामा छिटोभन्दा छिटो शव नेपाल फर्काउने पहल गर्नुपर्छ ।
विदेशबाट शव छिटो ल्याउने प्रक्रिया के हुन सक्छ ? यसबारे सरकारले के पहल गरिरहेको छ त ? यस विषयमा हामीले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अध्यक्ष कुलप्रसाद कार्कीसँग कुराकानी गरेका छौँ ।