धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
इलाम – ‘काठमाण्डौ हो ?, काठमाण्डौँ जाने कोही छ ? ननस्टप यात्रा । चढेको भाडा लिइन्न, ओर्लेको मात्र लिइन्छ’ हाँसो ठट्टा गर्दै यात्रु बोलाउने इलाम नगरपालिका–९ का डम्बरबहादुर भट्टराईको बिहानी यसरी नै सुरु हुन्छ ।
उमेरले ५१ वर्ष पुगे पनि जोश जाँगर कुनै तन्नेरीको भन्दा कम छैन । १० वर्षसम्म विदेशमा पसिना बगाएर स्वदेश फर्किएका डम्बर आफ्नै गाडीका सहचालक हुनुहुन्छ ।
डम्बर गर्वका साथ आफूलाई सहचालक भनेर चिनाउनुहुन्छ । ‘समयलाई सही तरिकाले सदुपयोग गरे जीवनमा कहिल्यै पछि फर्केर हेर्नु नपर्दो रहेछ’, आफ्नो काममा गर्व गर्दैै उहाँ भन्नुहुन्छ, ‘मेहनतले सफलता दिलाउँछ, त्यही भएर यो उमेरमा नि सहचालक भएर काम गर्दैछु ।’,
व्यवसायप्रतिको सम्मान उहाँको जीवन भोगाईको राम्रो सिकाई हो । उहाँ अरुलाई पनि काम सानो ठूलो हुँदैन भन्नुहुन्छ ।
आफूलाई सहचालकको रुपमा मात्रै चिनाए पनि डम्बर सफल यातायात व्यवसायी हुनुहुन्छ । उहाँका आफ्नै ६ वटा गाडी छन् । विदेशमा कमाएको रकमबाट डम्बरले ४ वटा बोलेरो गाडी, एउटा माइक्रोबस र अर्को एउटा बस गरेर ६ वटा गाडी खरिद गर्नुभएको छ ।
दिउँसो चल्ने ‘साकिरा यातायात’ नामको माइक्रोबसमा डम्बर सहचालकको काममा खटिनुहुन्छ । यातायात व्यवसायी भन्दा पनि सहचालकको भूमिकामा डम्बरको दैनिकी बित्छ ।
गाडीमा सहचालक भएर काम गर्दा थुप्रै फाइदा पुगेको सुनाउदै उहाँ भन्नुहुन्छ, ‘पहिले शरीको तौल ९२ किलो पुगेको थियो, अहिले घटेर ५२ किलोको भएको छु ।’
सहचालकको कामले गर्दा आफू स्वस्थ भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
यात्रामा उहाँ यात्रुसँग रमाउँदै आफ्ना कुरा गर्नुहुन्छ । उहाँको कुरामा सधैँ समयको महत्व, विदेशको भोगाइ र सिकेका कुरा हुने गर्छन् ।
डम्बर २०४१ सालतिर नेपाल प्रहरीमा हुनुहुन्थ्यो । केही वर्ष नेपाल प्रहरीमा सेवा गरेर राजीनामा दिनुभयो । ‘मलाई प्रहरीभित्रको शासन मन परेन, त्यसैले छाडेँ’, उहाँले जागिर छाड्नुको कारण बताउनुभयो ।
प्रहरी जागिरे हुँदाको कमाईको हिसाबकिताब छैन डम्बरसँग । ‘बचत हुनेगरी कमाइ हुने भए पो हिसाबकिताब रहन्थ्यो’, उहाँले जागिरे जीवनको दुखेसो पोख्नुभयो।
भएको प्रहरीको जागिर पनि छुट्यो । पारिवारिक समस्या बढ्दै गयो । अरु केही काम गरौँ भन्दा भनेजस्तो काम नभेटेपछि उहाँले विदेश जाने सोच बनाउनुभयो । वि.सं. २०६५ सालमा कतार पुग्नुभयो ।
त्यहाँ डम्बरले ‘लिभिङ्ग इन इन्टेरियस’ कम्पनीमा काम गर्नुभयो । त्यही कम्पनीमा १० वर्षसम्म काम गरेर २०७५ सालमा नेपाल फर्किनुभयो ।
समग्रमा उहाँको कतार बसाइ लाभदायक रह्यो । त्यही कमाइले जोडेको गाडीले डम्बरलाई व्यवसायीको रुपमा स्थापित गरेको छ । विदेशमा सिकेको सीपले आफूलाई स्वदेशमै व्यवसाय गर्न सजिलो भएको उहाँ बताउनुहुन्छ ।
घर परिवारको आर्थिक समस्या पार लगाउनको लागि कतार जानुभएको थियो डम्बर । त्यहाँको चित्तबुझ्दो काम र आफ्नो मेहनतबाट राम्रो कमाइ गर्नुभयो ।
राम्रै कमाइ गरेर फर्किएपछि यहाँ के व्यवसाय गर्ने भनेर सुरुमा अलमलमा पर्नुभयो । छोराले गाडी किन्न सल्लाह दिएपछि उहाँले यातायात व्यवसायीको बाटो रोज्नुभयो ।
‘आफ्नो भन्दा पनि छोराको रहर पूरा गर्न गाडी किनेको हो’, डम्बरले हाँस्दै भन्नुभयो, ‘छोराको रहर पूरा गर्न किनेको गाडीले अहिले मलाई नै जागिर दिएको छ ।’
विदेशमा कमाएको रकम र केही ऋण गरेर उहाँले गाडी किन्नुभएको हो । चार वटा बोलेरोलाई एक करोड ८ लाख, माइक्रोबसलाई ७२ लाख र बसलाई २२ लाख रुपैँया खर्च गर्नुभयो । यति लगानी गर्दा उहाँले ३४ लाख रुपैयाँ ऋण लिनुभयो।
‘एक वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य छ’, उहाँले भन्नुभयो, ‘यात्रु धेरै हुँदा दिनको २२ हजार पाँच सय रुपैयाँसम्म कमाई हुन्छ ।’ अहिले उहाँ दैनिकजसो इलाम – काठमाण्डौ यात्रा गर्नुहुन्छ । आफ्नै बसमा सहचालको कामले गराएको यात्रा हो यो र उहाँ यसै यात्रामा रमाउनुभएको छ ।
सबै यात्रुले सर्वसुलभ यात्रा गर्न पाउन् भनेर आफूले आफ्ना बस यात्रुमैत्री बनाउन लागेको उहाँले बताउनुभयो । चालक र सहचालक व्यवहारिक भए मात्रै पनि यात्रा ‘यात्रुमैत्री’ बन्ने उहाँको भनाइ छ ।