खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – कतारमा पहिले भिडभाड हुने ठाउँहरु अहिले सुनसान छन् । केही कम्पनी बन्द भए पनि धेरैजसो कम्पनीमा भने काम धमाधम चलिरहेको छ । सडकमा गाडी पनि गुडिरहेका छन, तर फाट्टफुट्ट मात्रै । कम्पनी जानको लागि समयमै गाडी नभेट्ने भएपछि कतारमा कार्यरत अर्घाखाँचीका विश्व श्रेष्ठ यतिबेला कम्पनीको क्याम्पमै बस्नुहुन्छ । तर कम्पनीको क्याम्पमा बस्दा कोठामा बसेको जस्तो सजिलो भने छैन ।
‘कोरोनाले गर्दा काम गर्न र क्याम्पभित्रै बस्न पनि निकै असहज भएको छ, तर गर्ने के ?’ श्रेष्ठ चिन्ता गर्दै भन्नुहुन्छ, ‘एउटै कोठामा धेरैजना बस्नुपर्छ, यसले निकै समस्या हुने देखिन्छ ।’
खाडीको ४० डिग्रीको गर्मी । त्यसैमाथि एउटै कोठामा १०/१२ जना बस्नुपर्दा कसलाई सजिलो होला र ? शरीरको गर्मीलाई पंखा र एसीले केही कम गरे पनि मनको उकुसमुकुसलाई कसरी कम गर्ने ? यो खाडी देशमा रहेका धेरै श्रमिकको साझा समस्या हो ।
कम्पनीले एउटै कोठामा क्षमता भन्दा बढी श्रमिकहरु राख्ने गरेका छन् । यसकारण कम्पनीको क्याम्पमा बस्दा नेपाली श्रमिकले निकै जोखिम मोल्नु परेको छ । लकडाउन पहिले कम्पनीमार्फत एउटा होटलमा काम गर्दै आएका ओमानमा कार्यरत पाल्पा रामपुरका बुद्ध विश्वकर्मालाई कम्पनीको क्याम्पमा फर्किएपछि यस्तै समस्या भएको छ ।
धेरैजना एउटै कोठामा कोचिएर बस्नु परेको र कम्पनीले पनि सुरक्षाको नाममा सामान्य मास्क र सेनिटाइजर मात्र दिएको र यतिले मात्र सुरक्षित अनुभव नहुने उहाँ बताउनुहुन्छ ।
‘जतिबेला पनि कोठामा बस्नुपर्दा एकप्रकारको मानसिक तनाव उत्पन्न भइ अर्को समस्या निम्तिने डर छ’, उहाँ भन्नुहुन्छ, ‘केही भइहाल्यो भने कम्पनीको अन्तिम विकल्प भनेको अस्पताल पठाउने हो, अस्पतालमा पनि हामीले अपेक्षा गरेअनुसारको उपचार पाईंदैन ।’
कोभिड १९ को सङ्क्रमण अहिले मलेसिया तथा खाडी देशहरुमा तीव्र रुपमा बढिरहेको छ । वैदेशिक रोजगारीको क्रममा ती देशहरुमा रहेका लाखौं नेपाली श्रमिकहरु यसको जोखिममा छन् । यतिबेला कतिको परदेशमा काम बन्द भएको छ । काम नहुँदा धेरैलाई तलब पनि नपाइने हो कि भन्ने चिन्ता छ ।
कति कम्पनीले त तलब काटेर दिन थालेका छन् । यसले गर्दा काम बन्द भएका कम्पनीमा कार्यरत श्रमिकको मनमा छटपटी छ । तर काम गरिरहेकाहरुको मन पनि कहाँ मानेको छ र ? ओमानमा कार्यरत मोरङकी सपना भट्टराई कोरोना सङ्क्रमणका बेला हातमा काम भए पनि मनमा चिन्ता भएको बताउनुहुन्छ ।
हप्तामा दुई दिन भए पनि काम चलिरहेको छ, बन्द नै भएको छैन । तर काममा ओहोरदोहोर गर्नमै समस्या हुने गरेको सपना बताउनुहुन्छ ।
‘कम्पनीमा लिने, फर्काउने बेला र कम्पनीभित्रै पनि सुरक्षाका कुनै उपायहरु अपनाउने गरेको छैन, काम गर्ने बेला मास्क र ग्लोब्स पनि दिंदैन’, उहाँ भन्नुहुन्छ, ‘स्वास्थ्य सुरक्षाका उपाय नअपनाउँदा कोरोना लाग्छ कि भन्ने चिन्ता बढेको छ ।’
बाहिर बढेको गर्मी र गर्मीसँगै कोरोनाको त्रासले मलेसिया लगायत खाडी देशमा धेरै नेपाली श्रमिकको मन जलेको छ । त्यसैमाथि काम नहुँदा भन्दा काम दैनिक रुपमा चल्दा झन् जोखिम बढेको बताउनुहुन्छ, कतारमा कार्यरत कतारमा कार्यरत अर्घाखाँचीका रामप्रसाद पाण्डे ।
‘हाम्रो कम्पनी नजिकका कम्पनीहरुमा कार्यरत साथीहरुलाई कोरोना लागिसक्यो भन्ने सुनिन्छ, हामीहरुको कम्पनीमा पनि काम धमाधम चलिरहेको छ’, रामप्रसाद भन्नुहुन्छ, ‘कोरोना लागेर मान्छे मरेको समाचार सुन्दा निकै डर लाग्छ ।’
सधैंजसो खाडीका देशमा भएका कुरा सजिलै बाहिर आउँदैनन् । अहिले कतारमा पनि धेरै नेपाली कोरोनाका कारण सङ्क्रमित भएका छन् । तर कतारले सङ्क्रमितको राष्ट्रियता नखुलाउँदा नेपालीको अवस्थाबारे त्यहाँ रहेको नेपाली दूतावाससमेत जानकार छैन । सन् २०२२ मा हुने विश्वकपको तयारी गरिरहेको कतारमा कोरोना सङ्क्रमणको जोखिम बढ्नु र कतारले राष्ट्रियता नखुलाउँदा पनि नेपालीलाई थप जोखिम भएको रामप्रसाद बताउनुहुन्छ ।
यूएईमा कोरोनाको सङ्क्रमण रोक्न सबैजसो कम्पनीले कडाइका साथ सुरक्षाका उपाय अनुसरण गर्दै आएका छन् । यूएईमा सुरक्षा क्षेत्रमा धेरै नेपाली काम गर्छन् । अहिले त्यही क्षेत्र धेरै जोखिममा छ । आफूहरुले सुरक्षाका उपाय कडाइका साथ पालना गरिरहेको तर जोखिमबाट मुक्त भने नभएको धेरैको गुनासो छ ।
दुबईमा सुरक्षा गार्डमा कार्यरत रुपन्देहीका कमल न्यौपाने आफ्नो कम्पनीले नियमित स्वास्थ्य परीक्षण गरिरहेको भए पनि आफूलाई मनमा डर लागिरहने बताउनुहुन्छ ।
‘म काम गर्ने ठाउँ र मेरो कम्पनी दुबैले स्वास्थ्य सुरक्षा अपनाएका छन् । काममा जानेबेला र काम सकेर आएपछि पनि स्वास्थ्य परीक्षण हुन्छ’ उहाँ भन्नुहुन्छ, ‘तर जति सुरक्षाका उपाय अपनाए पनि मनको डर भने कहिल्यै कम हुँदैन ।’
यस्तै चिन्ता लाग्छ, साउदीमा कार्यरत पाल्पाका लक्ष्मण जिसीलाई पनि । उहाँले पनि काम गर्दा मास्क र ग्लोब्सहरु अनिवार्य रुपमा लगाउनुपर्छ । कम्पनीमा पनि नियमित अनुगमन हुन्छ र उच्च सतर्कताका उपायहरु अपनाइएको छ । तर लक्ष्मणको मनको चिसो भने हटेको छैन ।
‘सुरक्षाका लागि जति सतर्कता अपनाए पनि नियमित काम चल्दा र नयाँ मानिसहरुसँग भेट हुँदा असुरक्षित महसुस हुन्छ’, लक्ष्मण बताउनुहुन्छ । तर परदेशीको मनको पिर र चिन्ता कसले बुझ्ने ?
काम नगरौं महामारीको बेलाको काम, गरौं कोरोनाको डर । नेपाल फर्कौं, जहाज उड्दैनन् । यस्तै बाध्यताकाबीच धेरै नेपाली घर फर्कने दिनको आश बोकेर परदेशमा बसिरहेका छन् ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।