विदेशबाट फर्कनेलाई कोरोना लिएर आयो भनेर घृणा नगरौं, सुरक्षित रहन भनौं

 जेठ ७, २०७७ बुधबार १७:४८:५ | दिनेश प्रसाईँ

विदेशबाट फर्किएकालाई हाम्रो समाजले जुन आदरपूर्वक, मायापूर्वक व्यवहार गर्नुपर्ने हो, त्यो भएको देखिंदैन । विदेश गएका नेपालीले नै आफ्नो परिवार, समाज र देशको अर्थतन्त्र धानिरहेका छन् र अहिले उनीहरुलाई आपत परिरहेको छ । उनीहरु राज्यविहीन स्थितिमा छन् ।

जुन देशमा काम गरिरहेका थिए, त्यहाँ कामबाट हटाइएका छन् । कोरोना भाइरसको त्रासमा बाँचिरहेको बेला उनीहरु आफ्नो जन्मभूमि फर्किन खोजिरहेका छन् ।

परिवारसँग समय बिताउन पाइयोस् भनेर जुन सहारा खोजिरहेका छन्, यो बेला हाम्रो समाजले उनीहरुले रोग सार्छन्, उनीहरुलाई देश भित्रिन नदिउँ जस्तो व्यवहार गरिरहेको मैले देखेको छु । यो एकदमै दुःखलाग्दो कुरा हो ।

विभेद नगरौं

विदेशबाट आएकाहरुलाई गाउँमा हेलाँहोचो गर्ने, परिवारलाई पनि टेढो नजरले हेर्ने जस्तो पनि देखिएको छ । यस्तो बेलामा सुरक्षाका उपायहरु अपनाउनुपर्छ । भेदभाव गर्ने होइन । सञ्चारमाध्यम, नागरिक समाजले सञ्चार गर्नुपर्यो कि सुरक्षित बस्नुपर्यो, घृणा गर्ने होइन । हुन त बिस्तारै हामी सबैले बुझ्नेछौं भन्ने लाग्छ ।

विभिन्न अध्ययनलाई हेर्ने हो भने पनि यो कोरोना सङ्क्रमण कहिले टुंगिन्छ भन्ने नै थाहा छैन । केही दिनअघि  विश्व स्वास्थ्य संगठनले यो भाइरस पाँच, सात वर्ष पनि जान सक्छ, हामीले एउटा भ्याक्सिन पत्ता लगायौं भने पनि यस्तै अर्को भाइरस आउन सक्छ भनेको छ । त्यसैले पाँच, सात वर्ष अथवा दुई वर्ष नै पनि यो भाइरसको सङ्क्रमण जारी नै रह्यो भने पनि हामी कोही अछुतो हुने सम्भावना देख्दिनँ म ।

त्यसैले कोरोना लागेको मान्छे अछुत नै हो, यसलाई छुनै हँुदैन, यसलाई घृणा नै गर्नुपर्छ भन्ने मलाई लाग्यो र मैले त्यस्तो व्यवहार गरें भने त त्यो व्यवहार मैले भोग्नुपर्ने हुन्छ ।

अहिले मैले गरेको घृणा त पछि मलाई नै फर्केर आउने हो नि । त्यसैले यो कुरा बुझ्यो भने, बुझाउन सक्यो भने उहाँहरुप्रति अलि मानवीय व्यवहार हुन्थ्यो कि जस्तो लाग्छ ।

यी उपाय अपनाउन सकिन्छ

कोरोना हावाबाट सर्दैन । भौतिक सम्पर्क भएपछि मात्रै सर्ने हो । मानौं कोही आफ्नो घरमा फर्केर आउनुभएको छ भने कम्तिमा पनि एक महिना त घरमा पनि छुट्टिएर बस्नुपर्यो । त्यो अवस्थामा पनि हामी दुरी कायम गरेर खेतबारीमै पनि काम गर्न सक्छौं ।

भाइरसबाट सङ्क्रमित छ कि छैन भन्ने कुरा त स्वास्थ्य परीक्षण गरेर नै थाहा हुने भइहाल्यो । त्यसैले एक महिनासम्म सबै सजग हुनुपर्छ । त्यो कुरा जो फर्केर आउनुभएको छ उहाँहरुको दायित्व हो ।

हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । जुन नैसर्गिक अधिकारभित्रै पर्छ । अहिले गाउँगाउँमा, टोलटोलमा भन्नलाई स्वयंसेवक भन्ने तर व्यवहार चाहिँ भिजिलान्तेको जस्तो गरेको देखिन्छ । मान्छेहरुलाई गैरकानुनी हिसाबले खानतलासी गरेको छ, लगेर थुनिदिएको छ । त्यस्तोमा जनप्रतिनिधिहरु र प्रहरी प्रशासन पनि सतर्क हुनुपर्यो । 

राज्यबिहीनताको अवस्था अथवा जंगली कानुन, त्यस्तो संस्कारकै रुपमा विकसित भयो भने त देशमा अराजकता आउँछ । अहिले हामीलाई सबैभन्दा नचाहेको भनेको अराजकताबिहीन समाज हो नि त । यस्तो भयो भने हामीले जे जति गर्ने भनेका छौं, त्यो केही पनि हुँदैन । 

यसरी गरौं व्यवस्थापन

अहिलेको अवस्थामा राज्यबाट नै बढी अपेक्षा गर्ने हो । गर्न पाउने अधिकार पनि हो । राज्यको दृढ राजनीतिक इच्छाशक्ति चाहियो । 

तर सरकारको नीति तथा कार्यक्रममा विदेशबाट फर्किन चाहने नेपाली नागरिकलाई कसरी फर्काउने भन्ने विषयमा कतै पनि बोलेको देखिएन । बुझ्नुपर्ने कुरा के हो भने वैदेशिक रोजगारीमा गएका धेरैजना अब बेरोजगार भएर अथवा मानवीय संकट, स्वास्थ्य संकट भएर नेपाल फर्कन्छन् । यो कुरालाई हामीले आत्मसात गर्नुपर्छ र त्यहीअनुसार पूर्ण व्यवस्थापन गर्नुपर्छ । 

राज्यको अधिकांश स्रोत मानवीय संकटमा प्रयोग गर्नुपर्छ । किनकी देश चाहिने भनेको यहीबेला त हो नि, सहज वातावरणमा त मान्छेहरु ऋण गरेर भए पनि  फर्किरहेका हुन्छन् । 

त्यसैले आइसकेपछि उनीहरुलाई एकदमै सुरक्षित क्वरेण्टीनको व्यवस्था हुनुपर्यो । क्वरेण्टीन कुनै यातना गृह होइन भन्ने विश्वास दिलाउनुपर्यो, नत्र किन यति धेरै क्वरेण्टीनबाट भागिरहेका छन् त ? 

क्वरेण्टीनमा बस्ने र खाने साथै अन्य दैनिक उपभोग्य सुविधाहरु सम्पन्न हुनुपर्यो । यस्तै आफ्नो परिवारसँग सम्पर्क गर्नको लागि टेलिफोन सुविधा, यस्तै मनोरञ्जनको लागि वाईफाई लगायत खेलकुदका सामग्रीको व्यवस्था गरिनुपर्यो । 

त्यसपछि स्वास्थ्य परीक्षण राम्रो हुनुपर्यो । त्यहाँको व्यवहार रामे हुनुपर्यो । १४ दिन होइन, महिनौंसम्म बसौंबसौं लाग्ने हुनुपर्यो । 

क्वरेण्टीनमा पनि सिर्जनात्मक काम गर्ने तथा सीप सिकाउन सकिन्छ । जस्तै अहिले पनि कतिपय ठाउँमा क्वरेण्टीनमा बसेकाहरुलाई कृषि तालिम दिएर बीउबिजनसहित गाउँमा पठाउने गरिएको छ । त्यो निकै प्रशंसनीय काम हो । हामीले त्यस्ता कामहरु गर्यौं भने जो फर्केर आउनुभएको छ, उहाँहरुको पनि समयको सदुपयोग हुन्छ । र समाजमा पनि राम्रो सन्देश जान्छ जस्तो मलाई लाग्छ । 

हुन त बजेटमा अलि ठोस रुपमा पनि आउन सक्छ । तर अहिले तुरुन्तै चाहिने भनेको व्यवस्थित क्वरेण्टीन यसरी बनाइने छ भनेर ढाडस दिनुपर्ने समय थियो । अब देशले प्रमुख रुपमा गर्ने भनेको कोभिड १९ को व्यवस्थापन नै हो ।

यसको व्यवस्थापन गर्दागर्दै मानवीय संकट टार्न खोज्ने हो । त्यसैले उनीहरुको लागि स्थानीय तहले, प्रदेशले र केन्द्र सरकारले यो गर्नेछ भनेर ठोस रुपमा आएको छैन । उहाँहरुले अनुसन्धानपछि अलि ठोस कार्यक्रम ल्याइने छ भन्नुभएको छ । 

तर कृषि आज भन्नेबित्तिकै भोलि नै हुने होइन । किनकी कृषिले नधानेरै लाखौं मानिस विस्थापित भएका हुन् । अनि कोही मान्छे कृषिमा संलग्न भयो भने कम्तीमा पनि ६ महिना लाग्छ । कुनै बाली रोप्नुभयो र त्यो फसल भएर बेच्नसम्म वा आफूले उपभोग गर्ने बेलासम्म ३ देखि ६ महिना लाग्छ ।

रातारात हुने कुरा होइन । त्यसैले अहिले ल्याउनुपर्ने विषय भनेको उत्पादनमुलक दिगो विकासमा टेवा पुर्याउने तर तुरुन्तै गर्न सकिने विकास निर्माणका कामहरु हुन् । त्यो भयो भने मान्छेले तुरुन्तै रोजगारी पाउँछन् ।

त्यसले जे पायो त्यही काममा लगाउने भन्दा पनि, जस्तो अहिले कृषि सडक बनायौं भने त्यसले भविष्यमा दीर्घकालीन टेवा पुर्याउने भयो । त्यसैले अब एकजुट हुने बेला आएको छ । 

विदेशबाट आएको भन्दैमा हेलाँहोचो गर्ने समय होइन र नगरौं पनि, यो जोखिमबाट बच्ने बेला हो । 

(समाजशास्त्री  प्रसाईँसित सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित । उहाँसँगको यो कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)

दिनेश प्रसाईँ

प्रसाईँ समाजशास्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया