इन्डियन प्रिमियर लिग(आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ –
न घर हुन्छ परदेशीलाई
न भर हुन्छ परदेशीलाई
मर्ने बाँच्ने पत्तै हुन्न यहाँ,
यही एउटा डर हुन्छ परदेशीलाई
उपेन्द्रराज बिडारी यसरी आफ्नो मनको वह पोख्नुहुन्छ । कोरोनाले विश्व नै आक्रान्त भइरहेको बेला परदेशी भूमिमा पसिना बगाउनेहरुको मन डर र एक्लोपनले खाएको छ । घर र देशबाट टाढा रहेर महामारीको सामना गर्नुपर्दा अत्यास बढेको छ ।
विदेशमा रहेकालाई यतिबेला अनेकन समस्याले एकैपटक छोपेको छ । कसैको रोजगारी गुमेको छ भने कसैको भिसाको म्याद सकिएको छ । कोही बिरामी परेका छन् । कतिले त काम र कमाइ नहुँदा दिनको एकछाक मात्रै खाएर पनि गुजारा चलाइरहेका छन् । यसले गर्दा मानसिक पीडा पनि खेपिरहेका छन् ।
मलेसियाबाट खुमबहादुर आफ्नो भिसाको म्याद सकिएको चार महिना भइसक्दा पनि कम्पनीले घर पठाउन नमानेको गुनासो पोख्नुहुन्छ । निश्चित समय काम गरेर घर फर्कौंला भन्ने सबैको चाहना हुन्छ । तर कम्पनीले पठाइदिन नमान्दा खुमबहादुरजस्तै धेरै नेपाली परदेशी भूमिमा छटपटाइरहेका छन् ।
स्वदेश फर्किन नपाउँदा मलेसियामा मात्र होइन कुवेतबाट पनि नेपाली श्रमिक घर फर्किन नपाउँदाको पीडा सामाजिक सञ्जालमार्फत पोखिरहेका छन् ।
नेपाल सरकारले उद्धार उडान सुरु गरेपछि लकडाउनको अवधिमा कुवेतबाट मात्रै ६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् । नेपाल सरकारले प्राथमिकताका आधार छुट्याएर त्यसभित्र परेकालाई नेपाल फर्काउने निर्णय गरेको थियो ।
त्यसमा ६ हजारभन्दा बढी फर्किएका छन् । तर गएका पाँच महिनादेखि रोजगारी गुमाएका र बिरामी परेका नरेश बिक भने अझै फर्कन पाउनुभएको छैन । उहाँलाई स्वदेश फिर्ती आकाशको फल जस्तै लाग्न थालेको छ ।
‘समस्यामा परेकालाई हो भने मैले पनि नेपाल फर्कन पाउनुपर्ने थियो तर कस्ता समस्यामा परेकाहरु हुन् बुझ्नै सकेको छैन’, नरेश आफ्नो पीडा पोख्नुहुन्छ ।
कुवेतबाटै प्रसाद गुरुङ पनि घर फर्कन चाहनुहुन्छ । तर उहाँसँग फर्कनको लागि पैसा छैन । कुवेतमा २० महिनादेखि काम गर्दै आउनुभएका प्रसाद अहिले बिरामी हुनुहुन्छ । कम्पनीको काम चलिरहेको भए पनि ज्यानमा सञ्चो नभएपछि काम गर्न सकिने कुरै भएन ।
त्यही भएर जसोतसो घर पुग्न पाए हुन्थ्यो भन्ने उहाँको चाहना पनि पूरा हुन सकेन । सरकारका उद्धारका योजना चलिरहँदा आफ्नो समस्या सम्बन्धित निकायले नसुनेकोमा उहाँलाई अचम्म लाग्छ ।
‘नेपाल सरकारले उद्धार गरेर स्वदेश पुर्याउँछ कि भनेर आशा गरेको थिएँ, तर त्यो त नामको मात्र उद्धार रहेछ’ प्रसाद भन्नुहुन्छ, ‘कम्पनीसँग घर जान्छु भन्दा आफंै टिकट काटेर जा भन्छ, टिकट काट्नको लागि अब त्यत्रो पैसा मैले कहाँबाट ल्याउने ?’
कोरोना सङ्क्रमणको बेला ज्यान जोगाउने कि जागिर जोगाउने भन्ने चिन्ताको मारमा छन् धेरै नेपाली । वैदेशिक रोजगारीको लागि नेपालीको गन्तव्यमध्ये कतार पनि एक हो । पछिल्लो समय कतारमा पनि कोरोना सङ्क्रमितको संख्या एक लाख नाघिसकेको छ । कतारको स्वास्थ्य सुविधा एकदमै राम्रो भए पनि यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरु त्रसित भएका छन् ।
‘जागिर जोगाउने हो कि ज्यान जोगाउने हो, साह्रै गाह्रो भयो’, कतारबाट सिद्धराज वस्ती भन्नुहुन्छ, ‘जागिर छाडेर कोठामै बसौं भने खान बस्न चिन्ता, काममा जाउँ भने कोरोनाको चिन्ता ।’
तर स्वास्थ्य सुरक्षाका उपाय अपनाएरै भए पनि नियमित काममा गइरहेको उहाँ बताउनुहुन्छ ।
कतिपय कम्पनीले त स्वास्थ्य सुरक्षा अपनाएर कामदारलाई काममा खटाउने गरेका छन् । तर खाडी लगायत मलेसियाका कतिपय कम्पनीले भने स्वास्थ्य सुरक्षामा त्यति ध्यान नदिएको, कसैले त एकदमै लापरबाही समेत गरेको त्यहाँ कार्यरत नेपालीहरुको गुनासो रहेको छ ।
मलेसियाबाट सरगम क्षेत्रीको पनि यही गुनासो छ । आफू कार्यरत कम्पनी पहिलेको भन्दा अहिले बढी चल्न थालेको भए पनि स्वास्थ्य सुरक्षा अपनाउने नगरेको उहाँ बताउनुहुन्छ ।
समस्या उस्तै भए पनि देशअनुसार परदेशीका अनेक भोगाइ छन् । देशअनुसार नियम पनि फरक फरक हुन्छन् । परदेशमा धेरै नेपालीले ती देशका नियम बुझ्न नपाउँदा समस्या भोग्दै आएका छन् । लकडाउनको समयमा झन् विभिन्न प्रकारका नियमहरु लागू भए । यस्ता नियमबारे समयमै आफूलाई जानकारी नहुँदा धेरै नेपालीले दुःख खेप्नु पर्यो ।
यूएईबाट बमबहादूर क्षेत्री पनि यस्तै कारण आफूले दुःख खेप्नुपरेको बताउनुहुन्छ । कम्पनीको काम फाट्टफुट्ट चलिरहेको भए पनि यस्ता नियमबारे आफूलाई जानकारी नहुँदा समस्या पर्ने गरेको उहाँको भोगाइ छ ।
‘यहाँ त मास्क नलगाएर हिँडेको देखे पनि कतिबेला एक लाख रुपैयाँ जति जरिवाना तोकिदिन्छ’ उहाँ भन्नुहुन्छ ।
कोरोनाको जोखिम नियन्त्रण गर्न धेरै देशले लकडाउन गरे । कम्पनीहरु बन्द भए । त्यसले गर्दा धेरैले रोजगारी गुमाए । तर अत्यावश्यक लगायतका केही कम्पनी भने जोखिमको बीचमा पनि सञ्चालनमा आए । त्यस्ता कम्पनीमा काम गर्ने नेपालीहरु यस्तो संकटको बेलामा पनि काम गर्नुपर्दा जति दुःखी छन्, त्यति नै आफ्नो रोजगारी नगुमेकोमा खुसी पनि छन् ।
मलेसियामा कार्यरत धनकुटाका बेग थापा पनि आफू कार्यरत कम्पनी बन्द नभएकोमा खुसी हुनुहुन्छ । बन्द भएमा अरु नेपालीहरुको जस्तै आफ्नो पनि जागिर गुम्छ कि भन्ने चिन्ता थियो उहाँलाई । तर कम्पनी बन्द नभएपछि जागिर गुमेन । काम चलिरहेपछि आम्दानीको चिन्ता पनि भएन ।
‘हाम्रो कम्पनी लकडाउनको बेलामा पनि बन्द भएन’ उहाँ भन्नुहुन्छ, ‘सामाजिक दूरी कायम गरेर, सेनिटाइजर र मास्कको प्रयोग गरेर स्वास्थ्य सावधानीका उपाय अबलम्बन गरी काम भइरहेको छ ।’
पछिल्लो समय मलेसियामा कोरोना सङ्क्रमणको अवस्था निकै ओरालो लागिसकेकाले अहिले सुरक्षाको अनुभूति भइरहेको उहाँ बताउनुहुन्छ ।
साउदीबाट इभान मगरको भोगाइ पनि उस्तै छ । कोरोनाको महामारीकै सेरोफेरोमा पनि उहाँ कार्यरत कम्पनी सञ्चालनमा छ । कम्पनीमा धेरै कामदार भए पनि स्वास्थ्य सुरक्षा अपनाएर काम चलिरहेको छ ।
साउदीमा कोरोनाको जोखिम खाडीका अरु देशभन्दा बढी छ । कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख पुगिसकेको छ । त्यसैले अलि डर लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।
तर आफ्नोे स्वास्थ्य सुरक्षाको ख्याल आफैंले गर्दै सावधानी अपनाएर काम गरे कोरोना सङ्क्रमणबाट बच्न सकिने उहाँको भनाइ छ ।
यूएईमा कार्यरत कृष्ण जिसी पनि कोरोनाको बेला पनि कम्पनी बन्द नभएकाले खुसी हुनुहुन्छ ।
‘म कार्यरत कम्पनीमा कोरोना महामारीको बेलामा पनि चलिरहेको छ र काममा सावधानी अपनाइएको छ’, उहाँ भन्नुहुन्छ, ‘खुसीको कुरा मान्नुपर्छ, यसले गर्दा कसैको रोजगारी पनि गुमेको छैन र अहिलेसम्म कसैलाई कोरोना पनि लागेको छैन ।’
कम्पनीले पूर्णतया स्वास्थ्य सावधानी अपनाएको र श्रमिकले पनि ती नियमको पालना गरेकाले कसैलाई पनि सङ्क्रमण नभएको भन्दै नेपालमा पनि सबैले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।