खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
घर वरिपरि चरिरहेका कुखुरा । आँगनमा बाँधेका बाख्रा । बाख्रालाई घाँस खुवाउँदै सोनिया कुमाल ।
नवलपरासी जिल्ला, मध्यविन्दु नगरपालिका – १५ की सोनियाको दैनिकी अचेल घरमा कुखुरा र बाख्रा स्याहार्नमै बित्छ ।
न आम्दानीको स्रोत थियो, न त रोजगारीको बाटो नै । केही काम नगरेर बस्न निकै गाह्रो भयो । बेरोजगारीले थलिएपछि सोनियालाई केही उद्यम गर्नुपर्छ भन्ने लाग्यो । अनि गाउँमै सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी हुनुभयो । त्यहीँबाट सोनियाको सोच परिवर्तन भयो । उद्यम गर्नको लागि सुझाव सल्लाह तथा सहयोग पाउनुभयो । अनि सुरु गर्नुभयो कुखुरा र बाख्रा पालन ।
सोनियाको परिवारमा उहाँका श्रीमान् र आफू गरी दुईजना मात्र छन् । परिवारमा आय आर्जनको श्रोत र आफ्नो जग्गा जमिन केही पनि नभएपछि सोनियाका श्रिमान् धन कमाउन भनेर दुई वर्ष पहिले यूएई जानुभयो ।
श्रीमानले परदेशमा कमाएपछि आर्थिक अवस्था उँभो लाग्ला र केही बचत गरेर घर जग्गा किनौँला भन्ने सोच थियो सोनियाको । तर सोचेजस्तो सधैँ कहाँ हुन्छ र । श्रीमान् परदेश गएपछि पहिलेको भन्दा दैनिकी चलाउन सजिलो भए पनि वचत भने नहुने भयो । कमाएको पैसा घर खर्चमै सिमित हुन थालेपछि सोनियाले आम्दानीको अरु बाटोको बारेमा सोच्नुभयो ।
परदेशमा श्रीमानले दुःख गरेर कमाएको पैसा आफूले वचत गर्न नसक्दा सोनियालाई मन मनै नराम्रो लाग्न थाल्यो । दुवै जनालाई भविष्यको बारेमा चिन्ता बढ्दै थियो । श्रीमानले परदेशमा त्यत्रो दुःख गरेर कमाएको पैसा त वचत गर्नुपर्छ बरु म अरु नै आम्दानीको बाटो खोज्छु भनेर सोनिया वित्तीय साक्षरता कक्षामा सहभागी हुन थाल्नुभयो ।
सुरक्षित आप्रवासन परियोजना (सामी) हेल्भेटास नेपालको प्राविधिक सहयोग, स्थानीय सरकारको नेतृत्व र हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)को साझेदारीमा मध्यविन्दु नगरपालिकामा सञ्चालित छ । यो योजना नेपाल सरकार तथा स्वीस सरकारको द्वीपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित हुँदै आएको छ ।
डिप्रोक्स नेपालले वित्तीय साक्षरता कक्षा सञ्चालनका लागि प्राविधिक सहयोग पुर्याउँदै आइरहेको छ । यही वित्तीय साक्षरता कक्षा सञ्चालन गर्न मध्यविन्दु नगरपालिका–१५ भण्डरामा वैदेशिक रोजगारीमा रहेका घरपरिवारका लागि लक्षित गरी गरिएको एक भेलामा सोनिया पनि सहभागी हुनुभयो ।
सोनियालाई त्यहाँ चर्चा गरिएको विषयवस्तुले मनमा उत्सुकता जगायो । जसका कारण सोनिया कक्षामा नियमित उपस्थित भएर छलफल गरिएको विषयमा अझै सक्रिय हुन थाल्नुभयो । त्यहाँबाट उहाँले आयव्ययको हरहिसाब राख्न पनि सिक्नुभयो । त्यहाँ सिकेका कुरा नियमित रुपमा श्रीमान्सँग पनि छलफल गर्दै उहाँले दैनिक आम्दानी खर्च पनि टिपेर राख्न थाल्नुभयो । विस्तारै उहाँमा वचत गर्नुपर्छ भन्ने कुराको ज्ञान बढ्दै गयो । अहिले सोनिया खर्च कम र वचत बढी गर्ने प्रयास गर्दै आउनुभएको छ ।
सोनिया विपन्नताबाट सम्पन्नताको बाटो, वित्तीय लक्ष्य निर्धारण, पारिवारिक बजेट निमार्ण जस्ता कक्षामा सञ्चालित सत्रहरुमा सहभागी हुनुभयो । त्यसबाटै उहाँले श्रीमान्को सिमित कमाईले मात्र भोलिको भविष्य सुखी र सम्पन्न नहुने भन्ने कुरा बुझ्नुभयो । आफूले केही उद्यम नगरे श्रीमान्को पुरै उमेर परदेशमै वित्ने र भविष्यको लागि केही पनि आधार नबन्ने भन्ने उहाँलाई महसुस भयो । त्यसपछि उहाँले आफ्ना श्रीमान्सगँ पनि यस विषयमा छलफल गर्नुभयो । आफूले पनि केही न केही उद्यम गर्नुपर्छ भन्ने अठोट गर्नुभयो ।
अहिले सोनिया सानोतिनै भए पनि आफ्नो उद्यममा व्यस्त हुनुहुन्छ । नजिकैको गाउँबाट केही स्थानीय जातका कुखुराका चल्लाहरु र ४ वटा उन्नत जातको बाख्रा ल्याएर गएको चैत महिनादेखि नै उहाँले व्यवसाय सुरु गर्नुभएको हो ।
पाँच छ महिनाकै अन्तरालमा उहाँले कुखुराको अण्डा र कुखुरा बेचेर राम्रो आम्दानी गरिरहनुहभएको छ ।
स्वदेशमा आम्दानीको बाटो नदेखेर परदेश जानुभएका सोनियाका श्रीमान् अहिले सोनियासँगै काममा व्यस्त देखिनुहुन्छ । कोरोना महामारीले गर्दा विदेशमा रोजगारी गुमाएर गएको असारमा नेपाल फर्किएपछि अहिले उहाँ श्रीमतीलाई काममा सघाइरहनुभएको छ ।
जिविका निर्वाहकै लागि भनेर परदेशीएका सोनियाका श्रीमान श्रीमतीले यहाँ सुरु गरेको व्यवसाय, त्यसप्रतिको लगाव, मेहेनत र आम्दानी देखेर निकै खुशी हुनुहुन्छ ।
उहाँ वित्तीय साक्षरता कक्षालाई धन्यवाद व्यक्त गर्दै भन्नुहुन्छ, ‘वित्तीय साक्षरता कक्षाले गर्दा स्वदेशमै उद्यम गर्न सिकियो ।’
सोनियाका श्रीमानले अब फेरि वैदेशिक रोजगारीमा नजाने निर्णय गरिसक्नुभएको छ । अहिले उहाँहरुले घर नजिकै रहेको अरुको ५ कठ्ठा बाँझो जग्गामा समेत खेती गर्नुभएको छ । अब छिट्टै दुवै जना मिलेर व्यवसायिक बाख्रा पालन गर्ने सोच भएको उहाँहरुले बताउनुभयो । वित्तीय कक्षाले सोनियालाई नयाँ पाठ सिकाएको छ । इच्छाशक्ति भएपछि कम लगानीमा पनि व्यवसाय गर्न सकिने उहाँको बुझाइ छ । यही कुरा आफ्ना श्रीमान्लाई बुझाइसक्नुभएको छ सोनियाले ।
‘केही कामको सुरुवात गर्नका लागि ठूलो रकम होइन इच्छा शक्ति चाहिने रहेछ’, उहाँका श्रीमान्ले खुसी हुँदै भन्नुभयो, ‘विदेश भन्नु मात्रै हो, पैसा त नेपालमा नै कमाइने रहेछ ।’