उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीमार्फत नेपालका विभिन्न जिल्लामा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन भइरहेको छ ।
वैदेशिक रोजगारीका दुईवटा पक्ष छन् । एउटा सकारात्मक र अर्को नकारात्मक । देशभित्र रेमिट्यान्स आएको छ, देशको विकासमा योगदान पुर्याएको छ । व्यक्तिका घर परिवारको आर्थिक अवस्था पनि यसले सुधारेको छ । यो सकारात्मक पक्ष हो ।
सँगसँगै वैदेशिक रोजगारीका कारण सामाजिक मूल्य पनि चुकाउनुपरेको छ । वैदेशिक रोजगारीले परिवारमा तनाव बढ्नु, त्यहाँबाट आएको पैसा कसरी प्रयोग गर्ने भन्ने विषयमा परिवारमा द्वन्द्व बढ्नु, विदेशमा श्रीमान काम गरिरहँदा श्रीमतीले पैसाको गलत प्रयोग गर्नु वा पर पुरुषसँग लाग्यो भनेर गलत आरोप लाग्नु जस्ता नकारात्मक असर पनि वैदेशिक रोजगारीले पारेको छ ।
यसले गर्दा उहाँहरुलाई विभिन्न मानसिक समस्या जस्तै चिन्ता बढ्ने, निन्द्रा नलाग्ने, आत्महत्या गर्ने जस्ता जटिल समस्याहरु बढ्ने हुँदा यस्ता समस्यालाई सम्बोधन गर्न मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
यो कार्यक्रम सामी परियोजना अन्तर्गतका सबै जिल्लाहरु र एउटा जिल्लाका चार वटा पालिकामा गरी एक सय ५६ वटा पालिकामा सञ्चालित छन् । अधिकांश अर्थात ९४ प्रतिशत पालिकामा यो कार्यक्रम लागू भइसकेको छ भने ६ प्रतिशत पालिकामा मनोसामाजिक परामर्शकर्ता भर्नाको काम अगाडि बढिसकेको छ ।
यो कार्यक्रम सम्बन्धित पालिकाले नै लागू गरेको छ । एउटा पालिकामा एकजना तालिमप्राप्त मनोपरामशकर्ता हुनुहुन्छ । उहाँहरुले गाउँगाउँमा गएर यस्ता समस्या भएका घरपरिवार पहिचान गरेर उहाँहरुलाई मनोपरामर्श दिनुहुन्छ।
सामीको जिल्ला कुन हो कुन होइन भनेर द्विविधा भएमा सामीको फेसबुक पेज ‘सेफर माइग्रेसन प्रोजेक्ट फेज ३’ छ । सामी परियोजना अहिले देश ३९ जिल्लामा सञ्चालित छ ।
यो पेजमा गएर आप्रवासी स्रोत केन्द्र एमआरसीको सम्पर्क नम्बर लिन सकिन्छ । एमआरसी जिल्ला प्रशासन कार्यालयको हाता भित्र वा कार्यालय नजिकै हुन्छ । त्यहाँ गएर वैदेशिक रोजगारीसँग सम्बन्धित मानसिक स्वास्थ्यका केसलाई सम्बोधन गर्नको लागि आग्रह गर्न पनि सकिन्छ ।
सूचनाको काम, सीप तालिमको काम र न्यायको पहुँचको काम ३९ वटा जिल्लभर नै हुन्छ । सामी परियोजना विशेषगरी नेपालबाट वैदेशिक रोजगारीमा बढी व्यक्ति जाने जिल्लाहरु लागू भएको छ ।
यो कार्यक्रम स्थानीय सरकारले नै चलाउने हो । कतिपय जिल्लामा उहाँहरुले स्थानीय सेवाप्रदायक संस्था छनोट गरेर त्यहाँमार्फत गर्नुहुन्छ । कतिपय जिल्लामा पालिका आफैंले मनोसामाजिक परामर्शकर्ता भर्ती गरेर यो कार्यक्रम चलाइरहनुभएको छ ।
यस कार्यक्रमको लक्षित समूह भनेको वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारहरु, जस्तो उहाँका बुवा आमा श्रीमती, छोराछोरी, दाजुभाइ दिदीबहिनी नै हुनुहुन्छ । कतिपय वैदेशिक रोजगारबाट फर्किएका श्रमिक आफैंमा पनि यस्ता समस्या देखिएका हुन्छन् ।
उहाँलाई वैदेशिक रोजगारीको कारण भावनात्मक कठिनाइ हुने, चिन्ता हुने, आत्महत्याको सोच आउने, आत्महत्याको प्रयास पनि गरिसकेका केसहरु पनि छन् । यसरी मनोसमस्या भएका व्यक्तिहरु नै लक्षित समूहमा पर्नुहुन्छ ।
यस्तो समस्यामा पर्नुभएका व्यक्तिलाई परामर्श प्रदान गर्ने मनोसामाजिक परामर्शकर्ता भनेको स्थानीय समुदायकै दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ । उहाँहरु मनोसामाजिक परामर्श गर्न तालिमप्राप्त हुनुहुन्छ । कहिलेकाहीँ केस हेर्दै जाँदा कडा खालको अथवा जटिल समस्याहरु पनि देखिन सक्छन्, त्यस्तो अवस्थामा उहाँहरुले नजिकैको मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालमा रेफर गर्नुहुन्छ ।
यो परियोजना अन्तर्गत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी छ । सीएमसी मानसिक स्वास्थ्य क्षेत्रमा हेल्भेटासको प्राविधिक सहयोगी पार्टनर संस्था हो । मनोसामाजिक परामर्शकर्ताहरुलाई तालिम दिने काम पनि सीएमसीले नै गर्ने हो । छ महिना लामो तालिम हुन्छ । त्यसपछि पनि सीएमसी नेपालले केस निरीक्षण गर्ने काम गर्छ । उहाँहरुले पनि कस्तो केसलाई कहाँ देखाउने कुन अस्पतालमा रेफर गर्ने भनेर ‘गाइड’ गर्नुहुन्छ ।
व्यक्तिलाई आफूमा मानसिक समस्या छ भनेर समुदायबाट बाहिर आउन निकै गाह्रो हुने गरेको छ । मानसिक समस्या भएमा ‘यो त पागल भइहाल्यो’ भन्ने जुन सामाजिक बुझाइ छ त्यसले गर्दा पनि समस्यामा परेका व्यक्ति खुल्न सक्नु हुन्न ।
त्यही भएर यो परियोजना अन्तर्गत पालिकाले सञ्चालन गरिरहनुभएको कार्यक्रममा विदेशबाट फर्किएका स्वयमसेवक अर्थात ‘रिटर्नी भोलिन्टिएर’ हुनुहुन्छ । उहाँहरुले आफ्नो गाउँठाउँमा देखिएका यस्ता समस्यालाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई रेफर गर्नुहुन्छ ।
यसैगरी कतिपय केसहरु परियोजना अन्तर्गतको आप्रवासी स्रोत केन्द्रमा आइरहेका हुन्छन् । यहाँबाट पनि वैदेशिक रोजगारीमा समस्यामा परेका, वैदेशिक रोजगारमा ज्यान गुमाएका, अपाङ्ग भएर फर्किएका, वैदेशिक रोजगारीको लागि ठूलो ऋणमा परेका अथवा ठगीमा परेका कारण मानसिक तनाव भएका केसहरु एमआरसीबाट मनोपरामर्शकर्तालाई रेफर गरिरहनुभएको हुन्छ । यस्तै कतिपय केसहरु स्थानीय जनप्रतिनिधिमार्फत पनि आइरहेका हुन्छन् ।
साथै तपाईँले भर्खरै यो कार्यक्रमको बारेमा जानकारी पाउनुभएको छ र यसमा सहभागी हुन चाहनुहुन्छ भने तपाईँले विभिन्न ठाउँमा सम्पर्क गरेर सहभागी हुन सक्नुहुन्छ । तपाईँ वा तपाईँको परिवारलाई यस्तो सेवा चाहिएको छ भने सर्वप्रथम त उहाँहरु यो कार्यक्रम सञ्चालन भएका एक सय ५६ वटा पालिका अन्तर्गत पर्नुपर्यो । त्यस जिल्लामा रहेको सूचना केन्द्रमा पनि सम्पर्क गर्न सकिन्छ । यस्तै सम्बन्धित पालिकाका जनप्रतिनिधि, पालिका प्रमुखहरुसँग भनेर पनि यस कार्यक्रममा आबद्ध हुन सक्नु हुन्छ ।
हुन त मनोपरामर्श भनेपछि मानिसलाई भेटेर, नजिक भएर उनीहरुको मनसँग कुरा गर्ने हो । यो कोरोनाले त्यो सम्भव थिएन । तर कोरोनाको समयमा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यको महत्व अलि बढी जनमानसमा फैलाएको छ । परिस्थिति पनि मनोसामाजिक परामर्श दिने खालको छ ।
स्थानीय तहद्वारा सञ्चालित क्वरेण्टीनहरुमा, आइसोलेशन क्षेत्रमा, विदेशबाट आउनुभएका श्रमिकहरु काठमाण्डौमा होटेलमा बस्नुभएको अवस्था पनि थियो । त्यहाँ गएर हामीले प्राथमिक मनोसामाजिक सहयोग गर्ने काम पनि गर्यौं । अहिले क्वेरेण्टीनहरु पनि घट्दो अवस्थामा छन् । त्यसैले अहिले त्यो कार्यक्रम होम क्वरेण्टीनमा बसिरहनुभएका व्यक्तिहरुमा गरिरहेका छौं ।
अहिले महामारीबाट आएको मनोसामाजिक समस्यालाई पनि सम्बोधन गरिरहनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर आएका व्यक्तिहरुको समूहमा गएर पनि सामूहिक रुपमा पनि परामर्श दिइन्छ । लकडाउन भएको बेला फिल्डमै गएर काम गर्ने परिस्थिति थिएन ।
त्यतिबेला फोनमार्फत नै परामर्श दिने काम भयो । स्थानीय सरकारले पास दिएको थियो, त्यसो हुँदा क्वरेण्टीनमा बसेकाहरुलाई त्यहीँ गएर पनि परामर्श दिने काम भयो । महामारीको कारणले परेको मानसिक समस्यालाई सम्बोधन गर्नको लागि जनवरीसम्म कार्यक्रम निरन्तर चलिरहेको छ ।
कतिपय अवस्थामा मनोसामाजिक परामर्शकर्ता भनेपछि तर्सिने गरेका छन् । उनीहरुले आफ्नो बारेमा सबैलाई भन्ने होलान् भनेर डराउँछन् । तर मनोसामाजिक परामर्शकर्ताहरुले तपाईँको गोपनियतालाई ख्याल गर्नुहुन्छ । तपाईँको समस्याको बारेमा कसैलाई पनि भन्नुहुन्न ।
मनोसामाजिक परामर्शकर्ताले घरघरमै गएर धेरैपटक कुराकानी गरेर सम्झाउनुहुन्छ । उहाँहरुलाई भावनात्मक समस्यालाई समाधान गराउनको लागि विभिन्न विधिहरु सिकाइएको हुन्छ ।
मनोसामाजिक परामर्शकर्ता समुदायभित्रकै व्यक्ति भएकाले चिनिरहेकै मान्छे पनि हुनुहुन्छ । उहाँहरुसँग भेटेर सम्पर्क गरेर आफ्नो समस्या राख्न सकिन्छ ।
यदि कसैलाई वैदेशिक रोजगारीका कारण मानसिक तनाव भएको छ भने झर्को नमानिकन मनोसामाजिक परामर्शकर्तासँग कुराकानी गर्न सक्नुहुन्छ । उहाँबाट सहयोग लिन सकिन्छ । यसले गर्दा भावनात्मक समस्या समाधानको लागि मात्रै नभएर न्यायसम्बन्धि चुनौती छन् भने उहाँहरुले त्यस्ता समस्याको पनि समाधान गर्न सहयोग गरिदिनुहुन्छ ।
रोनी प्रधान सुरक्षित आप्रवासन परियोजना सामीमा आप्रवासी स्रोत केन्द्र तथा मनोसामाजिक परामर्श कार्यक्रम संयोजक हुनुहुन्छ ।
नारायण शिशिर
Jan. 27, 2021, 3:33 a.m.यस्ता प्रकारका कार्यक्रम लागू हुन जरुरी पनि हो यसलाई सकारात्मक रुपले लिन सकिन्छ तर,कति सकारात्मक छ भन्ने मुल्यांकन पनि आवश्यक छ अथवा यस्ता कार्यक्रमलाई कसरी अझ प्रभाबकारी बनाउन सकिन्छ भन्ने कुरामा अझ जोड दिनु आवश्यक देखिन्छ