आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस : सुरक्षित वैदेशिक रोजगारीका ल...
पुस ३, २०८१ बुधबार
घरबाट बिदा माग्दै कमाउन विदेश हिँडेको मानिस एक हप्तापछि फेरि घर नै फर्किनुपरेको पीडा कस्तो हुन्छ ? धोका दिने एजेण्ट र म्यानपावरले त यो कुराको कल्पना पनि गर्न सक्दैनन् । तर एउटा गरिबको छोरो, जो साहुको ऋण काढेर विदेशमा कमाउने सपना देखेर साहुको ऋण काढ्छ, काठमाण्डौ आउछ, एअरपोर्ट पुग्छ र सपनाहरु त्यही बिसाएर रित्तै घर फर्कंदाको पीडा भोग्ने मजस्तालाई मात्र थाहा हुन्छ ।
आजभन्दा तीन वर्षअघि मैले पनि यूएई जाने सपना बुनें । साथीभाइले गुडलक म्यानपावरमार्फत प्रक्रिया अघि बढाउन सुझाव दिए । त्यही म्यानपावरमार्फत विभिन्न देशमा पुगेर साथीभाइले कमाएकै थिए । मलाई पनि म्यानपावरमाथि विश्वास थियो ।
गाउँबाट म्यानपावरमा आएँ, काम र कमाइको बारेमा बुझ्दा यूएईमा सेक्युरिटीको काम मिल्ने भयो ।
अन्तर्वार्ता भयो । अन्तर्वार्ता लिने मानिस पनि विदेशी नै थिए । अंग्रेजी भाषामा लिखित र मौखिक दुवै भयो अन्तर्वार्ता पनि । उसले हामीलाई शंका गर्ने त कुनै ठाउँ नै दिएको थिएन । जुन हिसाबले हाम्रो परिक्षा लिइयो त्यो देख्दा त ओहो अब काम र कमाइ खतरा छ कि जस्तो लागेको थियो ।
त्यसपछि मेडिकल भयो । त्यो बेलासम्ममा मैले एक लाख ५० हजार रुपैयाँ बुझाइसकेको थिएँ । मैले प्रक्रिया थालेको लगभग सात महिनामा म्यानपावरले मसहित अरु साथीलाई पनि पर्सीको उडान छ, टिकट पनि भइसक्यो भनेर काठमाण्डौ बोलायो । त्यो बेलासम्ममा मैले उसलाई तीन लाख रुपैयाँ बुझाइसकेको थिएँ । काम र कमाइ राम्रो हुन्छ भन्ने आशमा नै मैले सयकडा तीनका दरले ऋण काढेर बुझाएको थिएँ पैसा पनि ।
उडान नै तय भइसकेको खबर पाएपछि घरबाट सबैसँग बिदा भएर झोला बोकेर काठमाण्डौ आइयो । काठमाण्डौमा म्यानपावरको कार्यालय गइयो । म्यानपावर जाँदा त मुख्य मानिस नै भेटिएन । बल्ल बल्ल फोन सम्पर्क भयो । उसले अबको तीन दिनपछि उडान छ भन्यो । उसले जहिले भने पनि कुर्नुको विकल्प थिएन ।
पर्सीको उडान भनेकाले तीन दिनपछि विदेश जान झोला बोकेर विमानस्थल पुग्यौं । हामी पो विमानस्थल पुग्यौं त हामीले टिकट दिने म्यानपावरका प्रतिनिधि आएनन् ।
हिँड्न त विदेश नै हिँडेको हो नि । एअरपोर्ट पनि पुगियो तर न पासपोर्ट छ न त टिकट कसरी जानु । फोन गर्दा फोन पनि लागेन । त्यसपछि केही होला कि भनेर दुई दिनसम्म काठमाण्डौमा नै कुरियो । तर सम्पर्क नै हुन नसकेपछि घर फर्किएँ ।
कमाउनको लागि घरबाट बिदा मागेर हिँडेको मानिस, केही दिनपछि त्यही झोला बोकेर गाउँ पुग्दा त मरेकै जुनी भयो ।
त्यति बेला बल्ल बुद्धि आयो । म्यानपावरले यसरी झुक्याउँदा रहेछन् भन्ने अनुभव भयो । त्यसअघि म कहिले कतै पनि गएको थिइनँ । साथीभाइले त्यो म्यानपावरले राम्रोसँग पठाउँछु भनेकाले पनि म ढुक्क थिएँ । तर म्यानपावरको मात्र विश्वासमा अघि बढ्न नहुने रहेछ ।
विदेशमा आफूले गर्ने काम, कमाइ र हुनसक्ने ठगीका बारेमा पहिलेदेखि नै बुझ्न पर्ने रहेछ । मलाई त यो कुराको अनुभव ठगीमा परेपछि मात्र भयो तर तपाईँहरू बच्नुहोस् ।
अब ठगीमा त परियो । न्याय माग्ने कहाँ ? वैदेशिक रोजगार विभागमा गएर आफ्नो समस्या राखियो । अहिले त तीनवर्ष भइसक्यो न विभागले न्याय दिएको छ न त म्यानपावरकाे प्रतिनिधि भेटिएका छन् । मैले विभागमा उजुरी दिएपछि एकपटक म्यानपावरबाट फोन आएको थियो । तपाईँले त्यसरी उजुरी नदिएको भए हुन्थ्यो, सबै कारोबार रोक्का गरिदियो विभागले भनेको थियो । तर त्यसपछि कहिले पनि कुरा भएन ।
विभागमा म्यानपावरका प्रतिनिधि बेलाबेलामा जान्छन् रे मुद्दा मिलाउन भन्ने कुरा चाहिँ सुनेको छु । तर त्यसबारे विभागबाट हामीलाई खबर आएको छैन ।
सयकडा तीनमा काढेको ऋणको ब्याज तिर्दै मलाई त फुर्सद छैन । के गर्नु पहिले नै सोचेर बुझेर मात्र पैसा दिन पाएको भए हुने रहेछ । नजानेर म त ठगीमा परिहालें । तपाईँहरू चाहिँ बच्नुहोस् भन्न चाहन्छु ।