बैतडीमा महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – ‘तीन दिन भयो श्रीमानसँग सम्पर्क भएको छैन,’सुर्खेतकी सुमन विकले भक्कानिँदै भन्नुभयो,‘तपाईँको फोन आउँदा पनि मन झसङ्ग भयो, लाग्यो श्रीमानलाई केही पो भयो कि ।’
तालिबानले अफगानिस्तानको काबुल कब्जा गरेको दिनदेखि सुर्खेतमा सुमन विकको भोक निद्रा हराएको छ । दुई छोराछोरी, सासू, ससुरा र उहाँको दिन आँसुको आहालमा डुबेको छ ।
सुमनको श्रीमान् कुलबहादुर विकसहित १० जना नेपाली काबुलको एक होटलमा छन् । गएको वैशाख अन्तिम हप्ता यूएईको दुबई हुँदै सुरक्षा गार्डको काममा भनेर अफगानिस्तान पुगेका उनीहरू गैर कानुनी भएका छन् । उनीहरूसँग भिसा पनि छैन । अफगानिस्तान पुर्याउने एजेण्ट पनि सपना देखाएर युद्ध भूमिका उनीहरूलाई अलपत्रै छाडेर भागिसकेका छन् । काम पाउने आसमा उनीहरू भुमरीमा परेका छन् ।
कमाउन गएका श्रीमान् महिनौँदेखि होटलकै एक कोठामा थुनिनु अनि अहिले त्यही देशमा तालिबानले कब्जा गरेको खबरले सुमनलाई सिङ्गो आकाश आफैँ माथि खसे झैँ भएको छ ।
तालिबानले काबुल कब्जा नगर्दासम्म सुमनको श्रीमानसँग नियमित फेसबुक म्यासेन्जरमा कुराकानी हुन्थ्यो । एजेण्टले पनि काम लगाइदिने आस देखाइरहेका थिए । काम पाउने आसमा मागे जति रकम ब्याजमा ऋण काट्दै एजेण्टलाई बुझाइरहेका थिए ।
जाने बेलामै लगभग १५ लाख बुझाएका थिए कुलबहादुरले । यूएईमा ३७ दिने बसेर अफगानिस्तान पुगेपछि पनि सुमनले एजेण्टको नाममा तीन लाख रुपैयाँ त पठाइदिनुभयो ।
‘९ दिन अघि मात्रै मैले १ लाख ७७ हजार पठाएको थिएँ, अब त काममा लाग्नुहोला भन्ने आस थियो,’ सुमन मलिन स्वरमा भन्नुहुन्छ,‘अब त बाँचेर आइदिए हुन्थ्यो भन्ने मात्र छ ।’
एक दिन सबेरै सुमनले फेसबुक खोल्नुभयो । फेसबुकको भित्ताभरि अफगानिस्तानको विभिन्न खबर थियो ।
त्यो खबर देख्दा मन ढुक्क भयो । हतार हतार सुमनले श्रीमानलाई फोन लगाउनुभयो । उताबाट कुलबहादुरले भने,‘म भएको ठाउँभन्दा निकै टाढा हो, यहाँ त्यस्तो हुँदैन होला, तालिबान यहाँसम्म आइपुग्दैनन् ।’
तर त्यसको केही क्षणमै अफगानिस्तान नै तालिबानले कब्जा गरेको खबर सुमनको कानमा पर्यो ।
‘त्यो खबर सुन्दा त मुटु फुट्ला जस्तो भयो, कहाँ जानु, कसलाई भन्नु, उफ्रिनु कि रुनु कि,’ सुमन रुँदै भन्नुहुन्छ,‘अब सबै सकियो झैँ लाग्यो, तालिबानले केही गर्यो भने के गर्नु भन्ने अत्यास मात्र भयो ।’
खबर सुनेदेखि घरमा भात पाकेको छैन । परिवारको आँखामा आँशु ओभाएका छैनन् । अझ तीन दिनदेखि त श्रीमानलाई अनलाइनसमेत नदेख्दा परिवार र आफूले आफूलाई सम्हाल्न सक्नुभएको छैन सुमनले ।
घरी फेसबुक हेर्नुहुन्छ, घरी युट्युब । घरी रेडियो सुन्नुहुन्छ घरी टेलिभिजन । अनि फेरि म्यासेन्जर खोल्नुहुन्छ ।
‘दिनरात रोएर बसेको छु, रात भरी पनि म्यासेन्जर नै हेर्छु, मोबाइल नै हेर्छु, कतै फोन आइहाल्छ कि जस्तो लाग्छ,’ सुमन भन्नुहुन्छ,‘अनलाइन आउनुभएकै छैन, फोन गर्न नम्बर पनि छैन, म के गरौँ, श्रीमानको खबर कसलाई सोधौँ ।’
आफ्नो श्रीमानको खबरसमेत नआएको बेला नेपालीहरू अफगानिस्तानबाट स्वदेश आइपुगेको खबरहरू पढ्दा झन् मन आत्तिन्छ सुमनको ।
‘सबै जना आफ्नो घर आइसके, मेरो श्रीमान् त आउनुहुन्न कि झैँ लाग्छ नि के गर्नु, अनेक सोच्नु बाहेक केही गर्न सकिएन,’ सुमन आफूसँग गुनासो गर्नुहुन्छ ।
सोच्नुहुन्छ – उनीहरूको पो, कम्पनी थियो, भिसा थियो र आए, मेरो श्रीमानलाई त्यो होटलको अँध्यारो कोठाबाट कसले ल्याउला ।
जहाजको पखेटामा मानिस झुन्डिएको, अफगानिस्तानको राष्ट्रपति नै भागेको खबरले झन् अत्याउँछ सुमनलाई ।
श्रीमानसँग सम्पर्क हुँदासम्म नराम्रो खबर सुनाएनन् । राम्रो छ भन्थे कुलबहादुरले । तर ‘खाने पानी समेत नपाएर ट्वाइलेटको पानी खाएर बसेका छन्’ भन्ने पनि सुन्नुभयो सुमनले । यस्ता कुरा सुन्दा मनमा गाँठो पर्छ । तर यति बेला हातखुट्टा बाँधिएको झैँ भएको छ । न भन्ने ठाउँ कतै छ, न त जाने ठाउँ ।
अफगानिस्तान जानुअघि उहाँका श्रीमान् नेपाल आर्मीको जागिरे थिए । विदेश जाने सोच बनाएरै आर्मीबाट उपदान लिए । एजेण्टको भरमा गएको मंसिरमा पनि अफगानिस्तान जान भनेर यूएई गए कुलबहादुर । तर त्यो बेला एजेण्टले पठाउन सकेनन् । दुई महिना जति यूएई बसेर स्वदेश घरै फर्किएका थिए ।
त्यसपछि फेरि गएको चैतमा कुलबहादुर अफगानिस्तान जान घरबाट निस्किए ।
‘कमाउन गएको मान्छे अब त बाँचेर आउलान् कि नआउलान् भन्ने लाग्छ,’ सुमन भन्नुहुन्छ,‘पैसाको मोह छैन, ऋणको डर पनि छैन, मेरो श्रीमानको सद्दे ज्यान आइदिए हुन्थ्यो ।’
पठाउने एजेण्ट सम्पर्कमा छैनन् । कम्पनीले पठाउँछ कि भन्न पनि कुनै कम्पनीमा काम थालेकै छैनन् । पासपोर्टमा भिसा छैन । घर फर्कने कुनै उपाय छैन ।
यति बेला सुमनको मनमा एउटै मात्र कुरा खेल्छ,‘मेरो श्रीमान् सद्दे आइदिए, गिट्टी कुटेर भए पनि खाइन्थ्यो ।’ तर कसरी ? चारैतिर सोच्दा फेरि सुमनको मन आत्तिन्छ ।
‘त्यहाँ कोही जिम्मेवार छैन, तालिबानले भिसा पनि नभएको भनेर मारिदियो भने,’ कल्पना गर्दा पनि मुटु फुट्ला जस्तो हुन्छ सुमनको ।
तर फेरि सरकारलाई सम्झेर मन बुझाउनुहुन्छ । सोच्नुहुन्छ,‘नेपाल सरकारले त ल्याउला नि आफ्नो नागरिक ।’
कता कता नेपाल सरकारले नेपाली लिन जहाज पठाउँछ भन्ने हल्ला पनि सुन्नुभएको छ । यस्तो हल्ला सुन्दा पीडामा पिल्सिएको मनको कुनामा थोरै भए पनि आस पलाउँछ ।
‘मनमा हुरी बतास चलेको छ, रोएरै बसेको छु, यस्तो लाग्छ सरकारले मेरो श्रीमानलाई ल्याइदिए, मलाई यो जुनीमा अर्को केही चाहिँदैन,’ सुमन सरकारसँग आशावादी हुनुहुन्छ ।
साहुको ऋणको ब्याज पाकिरहेको छ । अहिले त साथमा ब्याज तिर्ने पैसा पनि छैन । तर सबै कुरा पैसा र ऋण मात्र पनि होइन । मानिस बाँचेर आए ऋण भनेको जसरी पनि तिर्थेँ भन्ने आँट छ सुमनलाई ।
१३ वर्षकी छोरी आमा रुँदा सँगसँगै रुन्छिन् । बुवालाई केही हुँदैन भनेर ढाडस दिन्छिन् । तर मन कहाँ मान्छ र ।
सुमनको मनमा एक मात्र आड भरोसा अब नेपाल सरकारको मात्र छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।