बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – काबुलको आकासमा घाम चर्किएको छ । बादलका छिटपुट घेराहरु कतिबेला घाम छेक्न आइपुग्छन् । टाउकोमा ठोक्किएला झैँ गरि उडिरहन्छन् सेनाका हरिया विमान । सडकमा जताततै देखिन्छन्, लामोलामो दाह्री पालेका अग्ला कदका बन्दुकधारी ।
सिन्धुपाल्चोकका दीपेन्द्र श्रेष्ठले अफगानिस्तानबाट फोनमा कुरा गर्दा यस्तै परिवेश सुनाउनुभयो । उहाँले त्यहाँ जानुभन्दा पहिले टिभीको पर्दामा देख्नुभएको थियो ‘तालिबान’लाई । तालिबान क्रुर हुन्छन्, यिनीहरुले आत्मघाती हमला गर्नसमेत पछि पर्दैनन् भन्ने थाहा थियो । अहिले तिनै तालिबानहरु आफ्नै अगाडि यताउता गरिरहँदा दीपेन्द्रका आँखा एकोहोरो देश फर्किने सपना देख्छन् ।
सुरक्षा गार्डको काम गर्न दीपेन्द्र गएको चैतमा अफगानिस्तान जानुभएको हो । शान्त देशमा बेरोजगारीले मन अशान्त बनाएपछि उहाँले अफगानिस्तान रोज्नुभयो । तर त्यहाँ गएर पनि उहाँले काम पाउनुभएन । पाँच महिना भयो एउटा होटलको अँध्यारो कोठामा बसेर जागिर पर्खिरहनुभएको । यसैबीच अफगानिस्तानमा तालिबानको आगमन भयो । बढ्दो त्रासको बीच धेरैले अफगानिस्तान छाडे । त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्किसके । कसैलाई आफू कार्यरत संस्थाले नेपाल फर्काइदियो भने कतिपय आफ्नै खर्चमा पनि फर्किए । स्वदेश फर्किने यही हानथापका बीच दीपेन्द्र रनभुल्लमा पर्नुभएको छ । कसरी फर्किने हो कुनै मेसो पाउनुभएको छैन ।
‘यहाँबाट कति साथी नेपाल पुगिसके । कतिपय साथीहरु जाने तयारीमा छन् । तर हामी त यहाँबाट फर्कन पाउँछौं कि पाउँदैनौं थाहा छैन’, उहाँले भन्नुभयो, ‘अहिले हामी काबुलको एउटा होटलमा बसिरहेका छौं । बाहिर निस्कन पाइँदैन । होटलको कोठामा बसेर नै समाचारहरु हेर्छौं ।’
दीपेन्द्रसँगै बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोक लगायतका ठाउँका दश जना हुनुहुन्छ । धेरैजसो अवकासप्राप्त प्रहरी, सेना हुनुहुन्छ । कतिपयले त राजीनामा दिएर समेत जानुभएको छ । सुरक्षा गार्डको काम गर्न भनेर नेपालबाट एजेण्टले दुबईको बाटो हुँदै २५ जनालाई अफगानिस्तान ल्याएको हो । दुबईमा ३७ दिन राखेर अफगानिस्तान पठायो । ती २५ जनामध्ये १५ जना काममा लागेका छन् । तर बाँकी रहेका दश जनालाई काममा लगाइदिने भन्दाभन्दै तालिबानको जगजगी सुरु भयो । लाखौँ रुपैयाँ खर्चेर पनि एजेण्टले समयमै काम नलगाइदिएपछि अहिले काबुलमा विचल्लीमा परेको पीडा सुनाउनुहुन्छ, दीपेन्द्र ।
‘यहाँ आइपुगेका हामी सबैले एजेण्टलाई १७ देखि १८ लाख रुपैयाँसम्म बुझाएका छौं । बढीमा एक महिनाभित्र काम लगाइदिन्छु भनेको थियो तर भोलि भोलि भन्दै पाँच महिना बितिसक्यो’, उहाँले डराएको स्वरमा भन्नुभयो, ‘काम पाइएला भन्ने आशमा कुर्दा कुर्दै अहिले त ज्यान मात्रै पनि स्वदेश फर्कंने हो कि होइन भन्ने चिन्ता सुरु भएको छ ।’
अहिले दीपेन्द्र लगायत दश जना नै पाउरोटी र आलुको तरकारी खाएरै भोक मेटाइरहनुभएको छ । एजेण्टलाई घर फर्काउन आग्रह गरे पनि एजेण्ट अझै काम लगाइदिने ढिप्पी कसेर बसेको छ । कहिले सुरक्षित ठाउँमा लिएर जान्छु भनेर त कहिले यूएनको जहाजले उद्धार गरिदिन्छ भन्ने बहाना बनाउँदै दश जनालाई रोकिराखेको छ । एजेण्ट आफू नेपाल गएको दिपेन्द्र बताउनुहुन्छ ।
‘अफगानिस्तानमा अवस्था सामान्य हुँदासम्म एजेण्टले हाम्रो कागजपत्र लगेको थियो काम खोज्न भनेर । तर अहिले त त्यो कागजात पनि हामीलाई नै ल्याएर दिइसक्यो’ दीपेन्द्र भन्नुहुन्छ, ‘कागजात हामीलाई दिएर एजेण्ट भने नेपाल फर्किसकेको हामीले बुझेका छौं । एजेण्टको काबुलमा रहेको सम्पर्क व्यक्तिले पनि फोन उठाउँदैन, फोन उठाए पनि आनाकानी गर्छ ।’
विभिन्न नियोग तथा दूतावासमा काम गर्ने नेपालीहरुलाई सम्बन्धित देशको नियोग तथा दूतावासले उद्धार गरेर नेपाल ल्याइसकेको छ । यसरी अहिलेसम्म अमेरिकी दूतावासमा लगायत अरु नियोगमा कार्यरत दुई सय ९६ जना नेपाली सम्बन्धित नियोगमार्फत नेपाल फर्किसकेका छन् । तर सिन्धुपाल्चोकका दीपेन्द्र र उहाँका १० जना साथीहरुजस्तै काममा संलग्न नरहेका वा अनौपचारिक क्षेत्रमा रहेका, भिसाको म्याद सकिएकाहरु कसरी स्वदेश फर्किने भनेर चिन्तित छन् ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन अनलाइन आवेदन भर्न भनेको छ । तर आफूले अनलाइन आवेदन पनि भरिसकेको तर कतैबाट पनि फोन नआउँदा आफ्नो उद्धार हुने होइन कि भन्ने चिन्ता बढेको दीपेन्द्रसँगै रहेका सुर्खेतका पदम रोकाको भनाइ छ ।
‘एक हप्ताअघिदेखि हामीलाई उद्धार गर्नुपर्यो भनेको हो । सबैजना गइसके हाम्रो उद्धार कहिले हुने हो’, उहाँ भन्नुहुन्छ, ‘हामी पनि कुनै दूतावासमा काम गर्ने भएको भए, त्यो देशले हामीलाई अहिलेसम्म नेपाल पुर्याइदिसक्थ्यो होला, तर हामी बेरोजगारलाई कसले उद्धार गर्छ ।’
दीपेन्द्र र पदमजस्तै धेरैको प्रश्न यही छ, नेपाल सरकारले तत्कालै उद्धार किन गर्दैन ?, अरु नियोग तथा देशको भर परेर मात्रै किन बसेको छ ?
तर परराष्ट्र मन्त्रालयले भने अफगानिस्तानमा के कति नेपाली छन् भन्ने पूर्ण विवरण आएपछि मात्रै उद्धार प्रक्रिया अगाडि बढाउने जनाएको छ । मन्त्रालयले उद्धारको लागि आह्वान गरेको अनलाइन फर्म तीनसय जनाले भरेका छन् । नेपाल आइपुगेका दुई सय ८८ जना आफू कार्यरत नियोगले नै पठाएकाले उनीहरुले अनलाइन फर्म भरेनन् । तर मन्त्रालय अझै पनि तथ्याङ्क केलाउनमै अल्झेको छ ।
नेपाल सरकारसँग अफगानिस्तानमा यति नै नेपाली छन् भन्न यकिन तथ्याँक छैन । पछिल्लो दुई वर्षमा दुई हजार दुई सय नेपाली श्रम स्वीकृति लिएरै रोजगारीको लागि गएका छन् । तर उनीहरुमध्ये कति फर्के, पहिलेदेखि कति नेपाली त्यहाँ छन्, भारतको बाटो हुँदै गएका, तेस्रो देश भएर गएकाहरु कति छन्, के गर्दै छन् कुनै तथ्याङ्क छैन ।
यही प्रष्ट तथ्याँक नभएका कारण पनि आफूहरुले त्यहाँ रहेका नेपालीलाई सम्पर्कमा आउन अनलाइन फर्म भर्न आग्रह गरेको र त्यही आधारमा उद्धार गरिने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल बताउनुहुन्छ ।
‘त्यहाँको विमानस्थलको अवस्था भयावह छ, यस्तै यहाँबाट सिधै जहाज लिएर जान सक्ने अवस्था छैन, हामी विभिन्न निकायसँग समन्वय गरेर अगाडि बढीरहेका छौंँ’, उहाँले भन्नुभयो, ‘स्वदेश फर्किन चाहने सबै नेपाली नागरिकलाई हामी उद्धार गर्नेछौंँ ।’