विदेशमा पाँच जनाले कामको आश देखाए, कमाई चाहिँ शून्य

 भदौ २३, २०७५ शनिबार १२:२०:४७

समिता कुमारी तामाङ/धनुषा ।

धनुषा – ‘पाँच जनाले काम लगाउने आश देखाए, तर रित्तो हात फर्किनु पर्‍यो, साहुको ऋण कसरी तिर्ने,’ धनुषाको शहीद नगर नगरपालिकाका उपेन्द्र यादवले भन्नुभयो ।

चिन्ता बढेको छ, उपेन्द्रको । केही महिना अघिसम्म उपेन्द्रको चिन्ता एउटै थियो – कसरी पैसा कमाउने ? कसरी पैसा कमाउने ठाउँमा जाने ? तर उपेन्द्रलाई अहिले अर्को चिन्ता थपिएको छ – साहुको ऋण कसरी तिर्ने ? कमाइको लोभ देखाएर ठग्ने दलालसँग फसेको पैसा कसरी उठाउने ? 

त्यति मात्र हैन, उपेन्द्रलाई कतारमा खेपेका हैरानीको पनि हिसाब किताब गर्नु छ दलालसँग । तर कसरी ? विदेशको काम र हावा पनि उपेन्द्रका लागि नौलो थिएन । उहाँ कतार र मलेसियामा १० वर्ष बिताएर फर्किनुभएको हो । 

१० वर्ष विदेशमा हात पाखुरा बजार्दा पनि पूरा नभएका सपना पूरा गर्न तेस्रो पटक विदेश पुग्दा उहाँले काम नै पाउनुभएन । ३५ वर्षका उपेन्द्र चार महिनाअघि मात्र कतार जानु भएको हो । पठाउने गाउँकै दलाल हुन । कम्पनीका मान्छेले उहाँलाई बस्ने ठाउँसम्म त पुर्‍याए ।

तर पाँच दिन बित्दा पनि गर्ने कामको टुङ्गो लागेन । ‘हामी दुई जना नेपाली र १३ जना तमिल थियौं, पाँच दिन बित्यो, तर काममा लगाएन । कोठामा बस्दा बस्दा निसासियौं भन्दा गाडीमा राखेर शहर पो घुमायो,’ उपेन्द्रले सम्झनुभयो । 

शहर घुमे पनि उपेन्द्रको काम गर्ने रहर भने पूरा भएन । शहर घुमाएर उपेन्द्र लगायत सबै जनालाई फेरि त्यही कोठामा पुर्‍याए । ‘हप्ता दिन बित्दा पनि काममा लगेन, घरमा कुरा हुँदा आजदेखि सुरु हुन्छ काम, भोलिदेखि सुरु हुन्छ भन्यो, त्यो बेला साह्रै नराम्रो लाग्थ्यो,’ उपेन्द्र नमिठो मान्दै सुनाउनुभयो । 

कमाउन भनेर कतार पुगेका उपेन्द्रलाई काममा नलगाई कोठामा थुनेर राख्दा गर्मीले तनभन्दा धेरै साहुको ऋण सम्झेर मन पोल्थ्यो । 

कतार उड्नका लागि उहाँले सय कडा तीनका दरले एक लाख रुपैयाँ ऋण काढ्नुभएको थियो ।  एक लाख रुपैयाँ बुझाएबापत उहाँले महिनाको एक हजार रियाल पाउने पक्का गरेका थिए दलालले । मेशनको काममा ओभर टाइम पनि पाउने दलालको लोभ देखाएका थिए । 

‘एक हप्तापछि ल काममा जानु पर्छ झोला प्याक गर भने, काम पाउने भएपछि के चाहियो र, एक ठाउँमा मेशनको काम पनि पाइयो, तर दुई दिन काम गरेपछि हामीलाई नराख्ने भएँ,’ दुःख मान्दै उपेन्द्रले भन्नुभयो ।

काम गर्ने ठाउँमा भनेअनुसारकै काम गरे पनि उपेन्द्र लगायत सँगै काम थालेका कसैलाई पनि कम्पनीले काममा लगाएन । ‘दलाल त हामीलाई त्यहाँ बुझाएर फर्कि हाले, उनीहरुलाई बंगाली कामदार चाहिएको रहेछ, हामी त के गर्नु के भयौं’ उपेन्द्र भन्नुहुन्छ, ‘त्यसपछि अर्को दलाले हामीलाई काममा लगाइदिने आश देखाएँ ।’ 

ती दलालले पनि उपेन्द्रलाई अर्कैै दलालको जिम्मा लगाइदिए । एक पछि अर्को गर्दै उपेन्द्रले पाँच जना दलाल भेट्नुभयो । तर दिगो काम कसैले लगाउन सकेनन् । 
‘प्रत्येक दलालले हामीलाई दुई दिन काममा लगाउँथे, काम गरेको पैसा माग्दा खाएको, बसेको खर्च कस्ले तिर्छ भन्थे, पैसा कसैले पनि दिएनन,’ उपेन्द गुनासो गर्नुहुन्छ । 

घरबाट पैसा मागेर घर फर्किएँ

तीन महिना बित्यो, तर उपेन्द्रलाई पाँच जना दलाले काम लगाउन सकेनन् । दिनहुँ साहुको ऋण बढिरहेको थियो । तर कमाइ रुपैयाँ पनि भएको थिएन ।

‘कतारका दलालको त फोन नै लागेन, नेपालका दलालले बिस्तारै फोनै उठाउन छाडेँ,’ उपेन्द्र भन्नुहुन्छ, ‘दलालले फोन नै उठाउन छाडेपछि के गर्नु घरबाट पैसा मागेर घर फर्किएँ ।’

कमाएर फर्किएला भनेर ऋण काढेर गएका उपेन्द्रलाई घरबाट पैसा मागेर घर फर्किनु पर्दा पछुतोले मन पोलेको थियो । जाने बेलामा दलालले भनेको काम र तलब नपाए लागत फिर्ता गर्छु भनेकाले पनि ऋण तिर्ने आश चाहिँ बाँकी थियो ।

तर फर्किएपछि दलालले उपेन्द्रको नै गल्ती देखाउँदै पैसा फिर्ता गर्न अस्वीकार गरे । कमाइ नगरी फर्किएपछि उपेन्द्रका घरमा साहु दिनमा दुई पटक आइपुग्छन् । ‘तिम्रो सावाँ व्याज यति भयो भन्छन्, खै कसरी तिर्नु, न पैसा लिएको कुनै प्रमाण छ,’ उपेन्द्रले आफ्नो अप्ठ्यारो सुनाउनुभयो । 

विदेशमा कमाइ हुने लोभमा ठगिए भनेर पनि साहुले मान्ने कुरै भएन । ‘साहुलाई अब घर घडेरी नै दिनुपर्ने अवस्था आइसक्यो के गर्नु,’ उपेन्द्रले दिक्क मान्दै भन्नुभयो । साहुलाई ऋण कसरी दिर्ने भनेर उहाँले कुनै उपाय भेट्नु भएको छैन । 

सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत धनुषामा रहेको सूचना केन्द्रमा सहयोगका लागि उपेन्द्रले निवेदन दिनुभएको छ । तर कुनै प्रमाण नलिइ दलाललाई पैसा बुझाएकाले दलालसँग पैसा उठाउन समस्या छ । 
 
 

तपाईको प्रतिक्रिया