एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – भिजिट भिसाको नाममा रोजगारीमा पठाउने क्रम बढेको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा जान गरेको कडाइलाई केही खुकुलो बनाएको छ ।
भिजिट भिसा र त्यसबाट सृजित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृहलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भिजिट भिसामा जान दश लाख रुपैयाँ आय देखाउनुपर्ने उल्लेख थियो । तर चौतर्फी विरोध भएपछि गृहले तत्कालको लागि पाँच लाख रुपैयाँ आए देखाए पुग्ने जनाएको छ । कार्यदलको सिफारिसले दश लाख रुपैयाँ उल्लेख गरेको भए पनि कार्यविधि तयार भएर आउनसम्म यो अझै व्यवस्थित भएर आउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उज्यालोलाई बताउनुभयो ।
‘समितिको सिफारिसमा दश लाख रुपैयाँ उल्लेख छ । तर भिजिट भिसासम्बन्धी अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले कार्यविधि बनाउँदै छन् । त्यसमा अझ यो व्यवस्थित भएर आउनेछ’, पोखरेलले भन्नुभयो, ‘तत्कालको लागि हामीले दश लाख रुपैयाँलाई पाँच लाख बनाइ सकेका छौँ । पाँच लाख वार्षिक आम्दानी र त्यसको कमसेकम आधा रकम बैंक खातामा भएको हुनुपर्ने भनिएको छ ।’
कार्यविधि बनाएर आउनसम्मको लागि गृह मन्त्रालयले १८ बुँदे निर्देशन तयार पारेर अध्यागमनमा पठाएको जनाएको छ । यी बुँदामा खाडी देशभन्दा बाहिर कम्तीमा एक पटक र खाडी देशमा दुईपटक सम्म गएकाे अभिलेख भएका, न्यूनतम दुई वर्ष सम्म विदेशमा बिताएका, १२ कक्षा पढेका, अंग्रेजी वा गन्तव्य देशको भाषा बुझेका, आफ्नाे परिवारका सदस्यहरुलाई भेट्न जाने मान्छे, गन्तव्य देशको सिफारिसमा आउने मान्छे, व्यापारिक कारोबारमा विदेश आवतजावत गरिराख्नुपर्ने मान्छेले आय देखाइरहनु नपर्ने पनि उल्लेख भएको पोखरेलले बताउनुभयो ।
यस्तै उहाँले भिजिट भिसाको नयाँ प्रावधानले कसैलाई समस्या नपर्ने तर भिजिटको आवरणमा वैदेशिक रोजगारीको धन्दा गरिरहेकाहरुले गलत प्रचार गरिरहेको पनि बताउनुभयो ।