आज काठमाण्डौको दरबारमार्गमा एमालेको प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
पछिल्लो समय मलेसिया जाने नेपालीहरुको सङ्ख्या दोब्बरले बढेको छ । अघिल्ला वर्षहरुमा दैनिक सरदर एक हजारदेखि १५ सय जनासम्म रोजगारीका लागि विदेश उड्थें । तर चालु आर्थिक वर्षमा दैनिक सरदर एक हजार जना त मलेसिया उड्नेको सङ्ख्या रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसिया जान श्रमिकले एक रुपैयाँ पनि शुल्क तिर्न पर्दैन । चार वर्ष अघि नेपाल सरकार र मलेसिया सरकारबीच शुन्य लागतमा श्रमिक जान पाउने गरी श्रम समझारी भएको छ । तर व्यवहारमा भने मलेसिया उड्नका लागि तीनदेखि पाँच लाख रुपैयाँसम्म तिर्र्न बाध्य छन् श्रमिकहरु । लाखौं रुपैयाँ खर्च गरेर जाँदा पनि नेपालमा म्यानपावरले भनेजस्तो काम र सेवा सुविधा उता पुगेपछि नपाएको भन्ने गुनासो पनि बढ्दो छ । हामीले मलेसियाका लागि नेपाली राजदूत डिल्लिराज पौडेलसँग मलेसियाबाट नेपाली श्रमिकका लागि आइरहेका कामको माग, मलेसिया पुगेपछि नेपाली श्रमिकले भोगिरहेका चुनौती र ध्यान दिनु पर्ने विविध पक्षबारे कुराकानी गरेका छौं ।
वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको लागि मुख्य रोजाइको गन्तव्य हो मलेसिया । कोरोना महामारीपछि यहाँको रोजगारी केही समय रोकिए पनि अहिले क्रमिक रुपमा बढ्दो छ । मलेसियामा नेपाली श्रमिकहरु विशेषगरि पाँचओटा क्षेत्र (निर्माण, उत्पादन, प्लान्टेशन, सर्भिसेज र सेक्युरिटिज)मा आउँछन् । तुलनात्मक रुपमा उत्पादन क्षेत्रमा आउने क्रम बढी छ ।
महामारीपछि काम पनि निरन्तर रुपमा अगाडि बढीरहेको छ । सबै क्षेत्रमा नेपालीको पहुँच भए पनि मेनुफेक्चर अर्थात् उत्पादनको क्षेत्रको आकर्षण अरुभन्दा तुलनात्मक रुपमा बढी छ । श्रमिकको माग त सामान्यतया अरु क्षेत्रमा पनि छ । अझै सेक्युरिटी नेपालीहरुको लागि विशिष्टिकृत सेवा क्षेत्र हो । नेपाल र मलेसियाको बीचमा सेक्युरिटी सेवा उपलब्ध गराउनको लागि मलेसियाबाहेक नेपाल मात्रै एउटा यस्तो देश हो जसले सेक्युरिटीका क्षेत्रमा आफ्ना मान्छेलाई पठाउने गर्छ । यसले गर्दा मेन्युफ्याक्चरपछिको दोस्रो क्षेत्र भनेको सेक्युरिटी हो, सँगसँगै प्लान्टेशन र कन्सट्रक्सन पनि छ ।
मलेसियामा नेपाली श्रमिकको आकर्षण बढ्नुको पछाडि पहिलो कुरा त यहाँको सुहाउँदो हावापानी, रहनसहन र नेपालसँग मिल्दोजुल्दो संस्कृति पनि हो । खाडी देशहरुभन्दा यहाँ हावापानी निकै राम्रो छ । समाज पनि खुल्ला छ ।
यस्तै, यहाँको सरकारले तलबको सुनिश्चितता गरेको छ । ८ घण्टा काम गरेको हप्तामा एक दिन बिदा भनेर १५ सय रिंगिट दिने व्यवस्था गरेको छ । यो विदेशी कामदारलाई मात्र नभएर स्वदेशी कामदारलाई पनि हो । त्यसैले पनि आकर्षण छ । त्यसैमाथि शून्य लागतको सम्झौता छ । सन् २०१८ मा शून्य लागतमा नेपाली श्रमिकले मलेसियामा काम गर्न आउने सम्झौता भएको हो । यति हुँदाहुँदै पनि ठूलो रकम लिएको भन्ने गुनासा यदाकदा बाहिर सुन्नमा आउने गरेका छन् । यो निकै गलत कार्य हो । अपराध हो । यसरी कसैले पैसा मागेमा माग्ने पनि गलत हो र दिनेहरु पनि गलत हुन् । मलेसियाबाट आउने सबै मागहरु पैसा नतिरिकनै आउन पाइन्छ । कुनै पनि सेक्टरमा पनि पैसा तिर्नुपर्दैन ।
मलेसिया रोजगारीको लागि आउने श्रमिकको लागि केही चुनौतीहरु छन् । जस्तै, नयाँ ठाउँ, कामको प्रकृति पनि नयाँ र भाषा र संस्कृति पनि नयाँ हुनु पहिलो चुनौती हो । मलेसिया आउनुभन्दा पहिले आफू जाने देशको भाषा र कामको बारेमा तालिम लिनुपर्छ । यसरी सामान्य जानकारी भयो भने काम गर्न अप्ठ्यारो हुँदैन । अहिले यस्तै कारणले एक प्रकारको समस्या आउने गरेको छ । कामको बारेमा तालिम नहुँदा रोजगारदातासँग भनाभन हुने, झैझगडा हुने जस्ता कुरा पनि हुन सक्छन् । त्यसैले कामको बारेमा थाहा हुनुपर्छ ।
धेरै पैसा कमाइयोस्, कामको वातावरण सजिलो होस् भन्ने चाहना हुनु आफैमा नराम्रो होइन । तर त्यसको लागि श्रमिकले आफूलाई योग्य बनाउनुपर्छ । कामको बारेमा थाहा हुनुपर्छ । हातमा सीप हुनुपर्छ । त्यस्तो तयारी हुनुपर्छ ।
काम गर्न भनेर आउने भएपछि आफू के काम गर्न जाने हो, त्यही अनुसार सीप सिकेर आउनुपर्छ । सीटीईभीटीबाट यस्ता सीप सिकाइन्छ । यस्तै विदेशमा आइसकेपछि यहाँको फरक भाषा संस्कृति, शैलिको बारेमा बुझ्नुपर्छ । यहाँको स्थानीय भाषादेखि अंग्रेजी भाषाको बारेमा जानकारी हुँदा काम गर्न सहज हुन्छ । यी सबै बुझेर त्यहीअनुसार तयारी गरेर आउनुपर्छ ।
यस्तै तेस्रो पार्टी संलग्न हुने, रोजगारीको बारेमा बढाइचढाइ व्याख्या गर्ने चलन पनि छ । श्रमिकहरु त्यसैमा फस्छन् । त्यस्तोमा विश्वास नगरी सरकारले तोकेका म्यानपावर संस्थाबाट रोजगारीको प्रक्रिया थाल्नुपर्छ । आफू विदेश जानुभन्दा पहिले आफूले त्यसबारे जानकारी लिनुपर्छ । यस्ता जानकारी दिनका लागि श्रम मन्त्रालय छ, वैदेशिक रोजगार बोर्ड र वैदेशिक रोजगार विभाग छ ।
मलेसियामा रहेको नेपाली दूतावासले पनि हप्तामा एक दिन कार्यक्रम सञ्चालन गरेको छ । नेपाल इम्बेसी मलेसिया फेसबुक पेजबाटै लाइभ हुन्छ । यस्तै दूतावासको वेबसाइटमा पनि विभिन्न जानकारी राखेका हुन्छौँ । यस्तै अनधिकृत व्यक्तिको पछि लाग्नुहुँदैन । यसरी गलत सूचना दिने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।
मलेसियामा रहेका नेपाली श्रमिकलाई अप्ठ्यारो नहोस् भनेर दूतावास सक्रिय भएर लागिरहेको छ । निश्चित स्रोत र साधनका बाबजुद पनि दूतावासले अधिकतम श्रमिकका माझमा पुग्ने, जनचेतना फैलाउने, सक्दो सेवा प्रवाह गर्ने काम गर्दै आएको छ । त्योबाहेक महिनामा एकचोटी, भ्याएसम्म हप्तामा एकचोटी विभिन्न ठाउँमा गएर जनचेतना फैलाउँछौँ । यस्तै मोबाइल एम्बेसीको रुपमा पनि नेपाली श्रमिकहरु रहेका विभिन्न ठाउँमा पुगेर सेवा दिने, उनीहरुका समस्या सुन्ने र समाधान गर्ने काम गर्दै आएका छौँ । यसरी दूतावासले पहिलो ध्यान भनेको श्रमिकको सेवामा कुनै पनि कमिकमजोरी राख्नुहुन्न भन्ने कुरामा सचेत छ ।
आम रुपमा हाम्रो मूल काम भनेको श्रमिकको सम्वर्द्धन र प्रवर्द्धन गर्ने नै हो । यी सबै काम मध्ये खासगरि सेक्युरिटी र क्लिनिङका सेक्टरमा अलिकति जनगुनासो बढेको छ । त्यसैले यी क्षेत्रका निर्देशकहरुसँग सामूहिक रुपमा बस्छौँ । सामूहिक रुपमा उहाँहरुले प्रतिबद्धता जाहेर गर्नुहुन्छ । श्रमिकका गुनासाहरुलाई सम्बोधन गर्नेछौँ भनेर उहाँहरुले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर पनि जानुहुन्छ । र हामी त्यसलाई प्रत्येक तीन महिना वा ६ महिना ट्र्याकमा राख्छौँ ।
दूतावास, रोजगारदाता कम्पनी र श्रमिकको बीचमा त्रीकोणात्मक सम्बन्धको विकास हुन आवश्यक छ । यसले गर्दा त्यहाँ हुने समस्यालाई समाधान गर्न सकिन्छ । त्यही अनुसार काम गरिएको पनि छ । यसले गर्दा मूलभूत रुपमा श्रमिकलाई हुने समस्याहरुको समाधान गर्न सकिन्छ । आम रुपमा यसले दुई देशबीचको दुईपक्षीय सम्बन्धलाई थप बलियो गर्न सकिन्छ । राष्ट्रिय स्वार्थलाई पनि यसले थप सहयोग पुर्याउन सक्छ भन्ने विश्वासका साथ अहिले दूतावासले प्रारम्भमा दुईवटा क्षेत्रमा विशिष्टिकृत र आम रुपमा सबै क्षेत्रमा समान ढंगले आफ्नो ध्यान आकृष्ट गरेको छ । यसरी दूतावास अगाडि बढिरहेको छ ।
Narayan oli
Jan. 17, 2023, 6:47 p.m.३ लाख भन्छन हरेक मेनपावर ले नत्र पैशा दिनेलाइ पठाउँछन नदिनेलाई पठाउदैनन के गर्ने नेपाल सरकारले एउटा भन्छ मेनपावरले एउटा कसको कुरा सुन्ने ' I के गर्ने परिवारको घर खर्च चलाउन को लागी भएपनी जानुपर्ने बाध्यता छ हजुर
Khadka bahadur Damai
Jan. 17, 2023, 6:14 p.m.Sarmik harule jahile pani badhi paisa dalaaliko hatma paisa nabujhai jan pakai xaina hjr ..ma pani malaysia security maa aauna khojeko 2.70 lakh mageko xa ...khai kasle sunne hamro kura ? Bina paisa kasaile pathaudaina launa kun men pawor le free visa free ticket dinxa jankari dinuna malaysia ko security maa ma aauna chalahanxu ma malaysia ex security ho
Uday Lama
Jan. 16, 2023, 12:09 p.m.भन्नलाई मात्रै हो १० हजार र सहिपनि गर्न लाउछ त्यत्मै लिन चाहिँ रुपैया २.५०००० हो नि ।
नविन
Jan. 15, 2023, 6:16 p.m.दुइ लाख पचास हजार तिरेर गई रहेको पाइन्छ नी