रिठ्ठे भीरका ऐना : ‘सम्झिँदै मन झसङ्ग हुन्छ’

 बैशाख २१, २०८१ शुक्रबार ९:४८:४८ | महेश ज्ञवाली
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बीपी राजमार्गको घुमाउरो र सुन्दर सडकले चालक र यात्रुलाई लोभ्याउँछ । अग्ला पहाडको मनोरम दृश्य हेर्दै कहिले उकालो कहिले ओरालो । चिटिक्क परेको नागबेली बाटोले यात्रालाई थप रमणीय बनाउँछ । बनेपा–सिन्धुली हुँदै बर्दिबास जोड्ने बीपी राजमार्गमा दैनिक हजारौँ ठूला–साना गाडी आउजाउ गर्छन् । यो मार्गले पूर्वी, मध्य तराई र पहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डौसँग जोडेको छ ।

यही राजमार्गको खुर्काेट नेपालथोक खण्डको बीचमा पर्छ रिठ्ठे भीर । खुर्काेट र नेपालथोकको बीचमा रहेको रिठ्ठे भीरले बीपी राजमार्गको रोमाञ्चक यात्रामा अप्रत्याशित मोड लिन्छ । रिठ्ठे भीर पुगेपछि एउटा अनौठो दृश्य देखिन्छ । सडकको भित्तामा किला ठोकेर झुन्ड्याइएका हजारौँ रहस्यमय ऐना र तिनै ऐनाको बीचमा भित्ता खोपेर बनाइएको सेतीदेवीकाे सानो मन्दिर, जसले याे बाटाे हिँड्ने जो कोहीलाई पनि झसङ्ग बनाउँछ ।

जब सूर्यको किरण वा गाडीको 'हेडलाइट' अनगिन्ती ऐनामा पर्छ तब निकै नै रमाइलो दृश्य देखिन्छ । त्यसैले यो ठाउँमा सडक छेउमै गाडी रोकेर फोटो/भिडियाे खिचाउने पनि धेरै हुन्छन् । तर सेतीदेवी मन्दिरको छेउमा रहेका अनगिन्ती ऐनाले समुदायको गहिरो आस्थालाई दर्शाउँछ । प्रत्येक ऐनाले यस साँघुरो सडकमा सुरक्षित मार्गका लागि प्रार्थना झल्काउँछ ।

तर रमाइलोभित्रको रहस्य अझै गहिरो छ । रिठ्ठे भीरमा सेतीदेविको मन्दिर र त्यसको वरिपरि ऐना राख्नुको कारण आश्चर्य र डरलाग्दो छ । आजभन्दा झन्डै १३ वर्षअघि रिठ्ठे भीरबाट यात्रुवाहक बस सुनकोशीमा खस्दा १४ जनाको ज्यान गएको थियो । त्यसको पाँच महिनापछि त्यही ठाउँमा काठमाण्डौबाट सिन्धुली जाँदै गरेको बस सुनकोशीमा खस्दा ४२ जनाले ज्यान गुमाए ।

स्थानीयका अनुसार सेतीदेवीले बास गरेको स्थानमाथि अर्थात् अहिले रिठ्ठे भीरको बाटो बनेकाले दुर्घटना भएको विश्वास छ । त्यसपछि स्थानीयले रिठ्ठे भीरकै भित्तामा सेतिदेवीको मन्दिर स्थापित गरे ।

दुर्घटना कम हुने विश्वासले सेतीदेवीको मन्दिर स्थापना गरियो । त्यसपछि एक जना चालकले मन्दिर नजिकै ऐना राखे र आफ्नाे सफल यात्राको प्रार्थना गरे । साधारण जस्तो लाग्ने यो कामले एउटा अनौठो परम्परालाई जगायो । यस सडकमा यात्रा गर्ने धेरैले ऐनामा विश्वास गर्छन् । त्यसै कारण रिठ्ठे भीर पुग्ने जोकोहीले पनि ऐना चडाउनुपर्ने चलनको थालनी भयो । स्थानीयका अनुसार रिठ्ठे भीरको तीन सय मिटर लामो खण्ड हजारौँ ऐनाले भरिएको छ ।

किंवदन्तीअनुसार यो बाटो हिँड्ने जो कोहीले सुरक्षित रूपमा अगाडि बढ्नका लागि ऐना बोक्नुपर्छ भन्ने मान्यता पनि छ । कतिपयले यस अभ्यासलाई पछ्याउँछन् । तर पनि रिठ्ठे भीरमा दुर्घटनाको क्रम रोकिएन । १० वर्षअघि त्यही ठाउँमा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गयो, त्यसको दुई वर्षपछि भएको बस दुर्घटनामा थप छ जनाको ज्यान गयो । यी दुर्घटनाले यस राजमार्गबाट यात्रा गर्ने यात्रुमा गहिरो डर पैदा गरेको छ ।

रामेछापको लिखु गाउँपालिकाका सोम गुरुङको अनुभव पनि यस्तै छ । सिन्धुली र काठमाण्डौको बीचमा बारम्बार यात्रा गर्दा उहाँले रिठ्ठे भीरको बाटोमा अरू ठाउँभन्दा विशेष डरलाग्ने बताउनुहुन्छ । ‘रिठ्ठे भीर पुग्दा विगतका दुर्घटनाका सम्झना याद आउँछ, मनले चोटपटकका भयानक दृश्य सम्झिन्छ र डरलाई तीव्र बनाउँछ’, सोम भन्नुहुन्छ, ‘रिठ्ठे भीर पुगेपछि विभिन्न कुरा मनमा खेल्न थाल्छ । तर रिठ्ठे भीर कटिसकेपछि मनको डर आफैँ हराउँछ ।’

राजमार्ग खण्डमा हजारौँ ऐना प्रायः दुर्घटनामा मृत्यु भएकाको सम्झनामा राखिएका छन् । केहीले दुर्घटनामा नपरियोस् भन्ने विश्वासमा राख्ने गर्छन् । केही ऐनामा रातो अक्षरमा नाम लेखिएको छ भने कतिपयमा गाडीकाे नम्बर लेखिएको छ । तर रिठ्ठे भीर भएर हिँड्ने धेरैले यी अनगिन्ती ऐनामा झल्कने दुर्घटनाको निरन्तर सम्झनाको कारण डरको उच्च भावना महसुस गर्छन् ।

रिठ्ठे भीरको यात्रा गर्दा डर बढी लाग्ने बताउनुहुन्छ छ वर्षदेखि सिन्धुली–काठमाण्डौ रुटमा गाडी चलाउँदै आउनुभएका तुलबहादुर योञ्जन । उहाँ भन्नुहुन्छ, ‘ऐनाले गर्दा मन विचलित हुन्छ । आफूलाई पनि केही हुने हो कि भन्ने डर लाग्छ, त्यसैले रिठ्ठे भीरमा पुगेपछि गाडीको गति पनि अलि कम गर्छु ।’

सडक दुर्घटना कम हुने विश्वासले यात्रु र चालकले दुर्घटनास्थलमा ऐना राख्ने अभ्यास अरू उच्च जोखिम क्षेत्रमा फैलिएको छ । काठमाण्डौ–हेटौँडा जोड्ने चित्लाङ खण्डमा पनि ऐना राख्ने प्रवृत्ति देखिएको छ । यस्तै बढी दुर्घटना हुने अरू केही सडकमा पनि ऐना राखेको देखिन्छ । यसले अनपेक्षित नकारात्मक भावना र मानसिक समस्या निम्तिन सक्ने र दुर्घटनाको जोखिम पनि बढ्ने मनोरोग विशेषज्ञ डाक्टर विज्ञा शाह बताउनुहुन्छ ।

‘दुर्घटनाको इतिहास जोडिएको ठाउँमा पुग्दा डर लाग्नु स्वाभाविक हो । दुर्घटनामा परेर कोही आफन्त गुमाएका वा मिडियामार्फत दुर्घटनाबारे थाहा पाएकाले यी क्षेत्रमा चिन्ताको अनुभव गर्न सक्छन् । जसले गर्दा विशेषगरी बालबालिका र वृद्धमा रुने/कराउने, बरबराउने लगायतका समस्या हुन सक्छ । केहीलाई डरका कारण मुख सुक्खा हुने र वाकवाकी लाग्ने पनि बनाउँछ’, डाक्टर शाहले भन्नुभयो, ‘सडकको भित्तामा राखिएका ऐनाले पुरानो दुर्घटनाको याद गराउन सक्छ, जसले ड्राइभरमा डर बढाउन र विभिन्न मानसिक तानाव निम्त्याउन सक्छ । यसले गर्दा गाडी चलाउन ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ र दुर्घटनाको जोखिमसमेत बढाउँछ ।’

ऐनाकै कारण दुर्घटनाको जोखिम कम हुने विश्वास भए पनि साँघुरो सडक र चालकको लापर्बाहीले गर्दा नै दुर्घटना निम्तिने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

‘धार्मिक विश्वास र आस्था राख्नु राम्रो कुरा हो । तर सडकका भित्तामा राखिएका ऐनाले हुने मानसिक समस्यासहित चालकको लापर्बाही, अनियमित पार्किङ र क्रसिङ खतरनाक हुन सक्छ । याे दुर्घटनाको मुख्य कारण बनेको हुन्छ’, नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले भन्नुभयाे, ‘चाखलाग्दो कुरा के छ भने कुनै क्षेत्रमा नयाँ चालक अपरिचित परिवेशको कारणले गर्दा दुर्घटना हुने सम्भावना बढी देखिन्छ ।’

सम्भवतः सुधारिएको सडक पूर्वाधार, स्पष्ट सङ्केत र ट्राफिक नियमको कडा कार्यान्वयनमा ध्यान केन्द्रित गर्दा दुर्घटना कम गर्न सकिन्छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया