भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – दलित र गैरदलित समुदाय बीचको सामाजिक तथा सांकृतिक प्रचलनका एकरुपता ल्याउने विषयमा यहाँका सरोकारावालाबीच अन्तरक्रिया भएको छ ।
विशेषगरी ब्राम्हण, क्षेत्री र दलित समुदाय आर्य नश्लकै भएकाले उनीहरुबीच सामाजिक चालचलन र सांस्कृतिक प्रचलनहरु मिल्दोजुल्दो रहेकाले दुवै समुदायबीचको संस्कृतिमा एकरुपता ल्याउने उद्देश्यका साथ शनिबार अन्तरक्रिया गरिएको थियो ।
२००६ साल साउन ११ गते लामजुङको दुराडाँडामा ब्राम्हणहरुले हलो जोतेर थालिएको सामाजिक क्रान्तिको अगुवाई गरेका पण्डित तोयानाथ अधिकारीका छोरा शशीकान्त अधिकारीको पहलमा सांस्कृतिक एकरुपताको चर्चा सुरु भएको हो ।
ब्राम्हण, क्षेत्री र दलित समुदायको जन्मदेखि मत्युसम्मका अधिकांश संस्कारहरु उस्तै हुने तर मनाउने तौरतरिकामा आ–आफ्नै शैली रहेको शशीकान्त अधिकारीले बताउनुभयो ।
‘संस्कार र संस्कृतिमा भिन्नता नै देखिँदैन,’ उहाँले भन्नुभयो, ‘तिनको विधि र प्रकृया लिखित रुपमा दलित समुदायमा नपुगेकाले व्यवहारमा भने फरक देखिएको हो ।’ धर्म, संस्कृति, रीतिरिवाज जानेका र बुझेकाले उनीहरुलाई नसिकाइएको र उनीहरु स्वंयमबाट पनि वास्तविकताको खोजी नभएकाले दुई समुदायबीचको संस्कारमा एकरुपता ल्याउन खोजिएको हो ।
हिन्दु धर्म नै मान्ने गैरदलित समुदायले एउटा र दलित समुदायले अर्कै तरिकाले एउटै संस्कार मनाउनुपर्ने दुखद अवस्था रहेको सहभागी दलित समुदायका प्रतिनिधिले बताएका छन् । दलित भएकै कारणले ब्राम्हण क्षेत्रीले गरेजस्तै तरिकाले धार्मिक र सामाजिक संस्कार मनाउन नपाउनु समय सापेक्ष नभएको दलित सेवा संघ लमजुङका सचिव सुकराम दुलालले बताउनुभयो ।
न्वारन, पास्नी, ब्रतबन्ध, विवाह, नागपञ्चमी, जनैपूर्णिमा, रुद्री, पुराण, सत्यनारायणको पूजा जस्ता धार्मिक तथा सामाजिक कर्महरुमा गैह्र दलित समुदायले पण्डित लगाउने र आफूहरुले ज्वाईँ तथा भाञ्जा–भाञ्जीलाई लगाउनु पर्ने बाध्यता रहेको दुलाल बताउँछन् । पहिलेदेखि नै पण्डितहरुको साथ र सहयोग नपाउँदा त्यस्तो गर्नुपरेको उहाँको भनाई छ ।
आफूहरु वर्षौंदेखि अपहेलना र विभेदको मारमा पर्दै आएको र संवैधानिक तथा राजनीतिक परिवर्तन भइसक्दा समेत त्यसका असरहरु बाँकी रहेको तोयानाथ स्मृति प्रतिष्ठानका सदस्य उत्तम बसेलले बताउनुभयो ।
संस्कार मान्ने र मनाउने क्रममा एकरुपता ल्याउन सकिए सामाजिक तथा जातीय अन्र्तघुलन र विभेदको समेत न्यूनिकरण हुँदै जाने हुँदा आफूहरुले सामूहिक संस्कारको विकासमा पहल गरेको उहाँ बताउनुहुन्छ ।
राणा शासनको अन्त्य नहुँदै सामाजिक क्रान्तिको सुरुवात भएकाले लमजुङबाटै अर्को एउटा सकरात्मक सन्देश दिनसके जातीय विभेद विरुद्धको सवालमा महत्वपूर्ण प्रयास हुने बसेलले बताउनुभयो । दलित समुदायमाथि हुँदै आएको विभेद न्यूनिकरणका लागि दुवै पक्षबीच संयुक्त प्रयास हुनुपर्ने स्मृति प्रतिष्ठानका सचिव दिपक न्यौपानेको भनाई छ ।
कार्यक्रममा तोयानाथका छोरा एवं मानव तथा वातावरण संस्थाका अध्यक्ष शशिकान्त अधिकारी, प्रतिष्ठानका सचिव दिपक न्यौपानेलगायत दलित समुदायका बुद्धिजीवि, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, अधिकारकर्मी, व्यापारी, व्यवसायीको सहभागी भए ।
यसअघि साउन ११ गते हलो क्रान्तिको स्मृतिमा आयोजित हलोत्कर्ष कार्यक्रममा स्थानीय सरोकारवालाबीच भएको सहमति अनुरुप मंसिर तेस्रो साता सामूहिक सहभोज गर्न पनि भेलाका सरोकारावालाले पूर्ण सहमति जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।