डेङ्गी सङ्क्रमणको उच्च जोखिम कात्तिक मसान्तसम्म

 कात्तिक २१, २०८१ बुधबार १८:३०:३० | डा. गोकर्णप्रसाद दाहाल
unn.prixa.net

अहिलेसम्म देशभर २८ हजार जनाभन्दा धेरैमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । वर्षायाममा पानी सङ्कलन गरेर राख्दा सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढेको हो । डेङ्गी सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । डेङ्गी सङ्क्रमणको जोखिम जेठदेखि कात्तिक महिनासम्म उच्च हुन्छ । गएका वर्षहरूका प्रतिवेदनले पनि कात्तिकपछि जाडो बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे हराउँदै जाने देखाएकाे छ । पछिल्लो दुई हप्ताको विवरण हेर्दा विभिन्न ठाउँबाट डेङ्गीको प्रकोप कम हुँदै गएको देखिन्छ । नेपालको गण्डकी र बाग्मती प्रदेशमा अहिले धेरै डेङ्गीका सङ्क्रमित देखिएका छन् । जिल्लाअनुसार हेर्दा कास्कीमा सबैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । यस्तै काठमाण्डौ, ललितपुर, चितवन, तनहुँ, बाग्लुङ र पर्वतमा पनि धेरै सङ्क्रमित भेटिएका छन् । यी जिल्लाबाहेक अन्य ७६ जिल्लामा पनि कम सङ्ख्यामा डेङ्गीको सङ्क्रमित देखिएका छन् ।

शुरूमा सामान्य लक्षण देखिन्छ

भाइरसका कारणले डेङ्गी सङ्क्रमण हुने भएकाले शुरूमा धेरै मानिसमा समान्य रूपमा लक्षण देखिन्छ । कति बिरामी अस्पताल नगई पनि ठीक भएको पाइन्छ । जुन ठाउँमा कडा खालको डेङ्गीको लक्षण देखिन्छ ती ठाउँका सङ्क्रमित अस्पताल गएको देखिन्छ । त्यसैले जुन ठाउँमा डेङ्गी सङ्क्रमण भएको देखिएको छ त्यहाँ अस्पतालको तयारी, बिरामी व्यवस्थापन गर्नका लागि चिकित्सक, स्वास्थ्यकर्मीलाई नयाँ अद्यावधिक उपचार प्रोटोकलका बारेमा अभिमुखीकरण गरिएको छ । डेङ्गी रोगको रोकथाम र नियन्त्रणका लागि डेङ्गी सार्ने लामखुट्टको बासस्थान खोज्ने र नष्ट गर्ने, लामखुट्टेको घनत्वलाई घटाई सङ्क्रमणलाई कम गर्ने कार्य पनि सञ्चालन भइहेका छन् ।

डेङ्गी लागेका धेरैजसो बिरामीमा सामान्य प्रकृतिका लक्षण देखिन्छन् । ती लक्षण आफैँ ठीक भएर जान्छन् । तर डेङ्गीका केही जटिल प्रकृतिका लक्षण हुन्छन् । जस्तै– बिरामीलाई अत्यधिक उल्टी हुने, पेट दुख्ने, शरीरको अङ्गबाट रक्तश्राव हुने, बेहोस हुने, बेचैन हुने लगायतका लक्षण देखियो भने सामान्य डेङ्गी पनि जटिलतातर्फ उन्मुख भएको हुनसक्छ । यदि कुनै समुदायमा डेङ्गीको सङ्क्रमण पुष्टि भइरहेको छ भने आफूमा लक्षण देखिने बित्तिकै चिकित्सकको सम्पर्कमा जानुपर्छ । यसबाट डेङ्गी सङ्क्रमण भइहाल्यो भने पनि जोखिम हुनबाट बच्न सकिन्छ ।

नेपालको तथ्याङ्कलाई हेर्दा प्रत्येक महिना डेङ्गी सङ्क्रमण देखिएको छ । जेठ महिनादेखि कात्तिक महिनासम्म सङ्क्रमण सबैभन्दा धेरै देखिने भएकाले उच्च सावधानी अपनाउनुपर्छ । घर वरपर भएका खाल्डाखुल्डीमा पानीमा जम्न दिनु हुँदैन । शरीर पूरै ढाक्ने गरी कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, घरका झ्याल ढोकामा जाली लगाउने लगायतका कुरामा ध्यान पुर्‍याउन सक्यौँ भने लामखुट्टेको घनत्व कम गरी सङ्क्रमणबाट बच्न सकिन्छ ।

एक पटक सङ्क्रमण भयो भने केही वर्ष सङ्क्रमण हुने सम्भावना कम

नेपालमा डेङ्गीका चार प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३ र सेरोटाइप ४ सक्रिय रहेका छन् । पछिल्लो पाँच/सात वर्षदेखि सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ समुदायमा फैलिएको देखिन्छ । यदि कुनै सेरोटाइप सङ्क्रमण भयो भने झन्डै १८ महिनादेखि दुई वर्षसम्म पुनः सङ्क्रमण हुने सम्भावना कम हुन्छ । एक पटक डेङ्गी सङ्क्रमण भएपछि दुई वर्षसम्म मानिसको शरीरले सङ्क्रमणसँग जुध्न सक्ने क्षमता बनाएको हुन्छ । यदि यो समयअवधि भित्रै वा लगत्तै मानिसमा डेङ्गी सङ्क्रमण भयो भने जटिल प्रकृतिको लक्षण देखिन सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

डेङ्गीको प्रकृतिअनुसार कुनै ठाउँमा एक वर्ष देखियो भने त्यो ठाउँमा केही वर्षपछि मात्रै देखिने विश्वका विभिन्न अध्ययनले देखाएको छ । गएका वर्षहरूमा जुन क्षेत्रमा डेङ्गी सङ्क्रमण धेरै देखिएकाे थियाे यो वर्ष ती क्षेत्रमा कम मात्रामा डेङ्गी देखियो । गएकाे वर्ष सुनसरीको धरान डेङ्गीको 'हट स्पट' थियो भने यो वर्ष अरू नै जिल्ला देखिएको छ । काठमाण्डौ उपत्यकामा गएकाे वर्ष डेङ्गीको सङ्क्रमण केही कम थियो भने यो वर्ष बढी देखियो । त्यसैले डेङ्गी सार्ने लामखुट्टे जुन ठाउँमा पनि हुन सक्छ । समुदायमा कुनै व्यक्ति डेङ्गीबाट सङ्क्रमित भयाे भने उसबाट सजिलै सर्न सक्छ । समुदायमा कति मानिसलाई सङ्क्रमण हुन्छ भनेर सहजै अनुमान गर्न गाह्रो हुन्छ । लामखुट्टको नियन्त्रणमा हामी कति सजग हुन्छौँ भन्ने कुराले प्रभाव पारेको हुन्छ । 

(इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. गोकर्णप्रसाद दाहाल

दाहाल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया