तनहुँ र चितवन जोड्ने त्रिशुली नदीमा ११ वर्षसम्म पनि पुल बन्न सकेन

 माघ २३, २०८१ बुधबार १२:५:२३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा निर्माण शुरू भएको पुल ११ वर्षसम्म पनि बन्न सकेको छैन ।

पुल नबन्दा स्थानीयवासीले सास्ती पाएका छन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल शुरू गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए । पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति नै गठन गरिएको छ ।

बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा सङ्घर्ष समिति गठन गरेको हो ।

पुल सम्पन्न नहुँदा देवघाट गाउँपालिका–२, ३ र ४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा व्यास नगरपालिका–१३ र १४ का बासिन्दालाई दैनिक हिँडडुल गर्न सास्ती भएको संयोजक थापाले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष चुनाराम गुरूङले सम्बन्धित निकायले दुःख बुझेर तत्काल काम शुरू गर्नुपर्ने बताउनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले यस वर्ष दुई पटक आएको बाढीले पुल निर्माणमा समस्या भएको जानकारी दिनुभयो । पुलको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएको र त्यसको काम भइरहेकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० सालकाे असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि पनि अहिलेसम्म जम्मा ४५ प्रतिशत मात्र काम सकिएको छ ।

पुलको थपिएको निर्माणको अवधि आउँदो चैतसम्म रहेको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो ।

अहिलेसम्म त्रिशूलीको वारिपारिका पिल्लर मात्र ठडिएका छन् । पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । पुलको लागत नौ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको मोटरेबल पुलको निर्माण सम्पन्न भएपछि पोखरा र दमौली भएर नारायणगढ आउन जान अहिले सञ्चालनमा रहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया