मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

 वैशाख २८, २०८१ शुक्रबार १२:४७:२१ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो ।

गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो ।

इमाटोल कन्ट्रक्सशले २०७६ साल साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना २०७७ साल फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको ९७ लाख रुपैयाँ फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गएको जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् ।

यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताउनुभयो । प्रारम्भमा २१ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडकको लागत बढेर २४ करोड रुपैयाँ पुगेको छ ।

अहिलेसम्म १८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताउनुभयो । राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्त्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो ।

स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ । स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुल निर्माण नसकिएकाले कोरला नाका जाने/आउने गाडीले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन् ।

लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । यसैगरी न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्काे छ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया