त्रिशूली थ्री बी हब २२० र भाल्चे ३३ केभी सबस्टेशन उद्घाटन

 जेठ ४, २०८१ शुक्रबार १८:३०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेकाे पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन उद्घाटन भएकाे छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेशन पनि उद्घाटन भएकाे छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियन (ईयू) की राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक (ईआईबी) की निर्देशक थौउराया ट्रिकीले आज संयुक्त रूपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गर्नुभयो ।

झन्डै १ सय ४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेशनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाण्डाै २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेशन मातातीर्थ सबस्टेशनसँग जोडिएको छ ।

भाल्चे सबस्टेशन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन र सबस्टेशनबाट प्रभावित तथा त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेशन निर्माण गरिएको हो । यसबाट नुवाकोट र रसुवाका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

उद्घाटन समारोहमा मन्त्री बस्नेतले त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि मात्र नभएर समग्र देशको विद्युत् प्रणाली व्यवस्थापनका लागि सबस्टेशन निर्माणबाट महत्त्वपूर्ण पाइला थपिएको बताउनुभयो ।

आउँदाे १२ वर्षभित्रमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणको क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत, कानुनी र संरचना सुधार शुरु गरिसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले प्राकृतिक स्रोतमा प्रभावित क्षेत्रका स्थानीयवासीलाई हिस्सेदार बनाउने गरी आयोजनाहरू अगाडि बढाइएको बताउनुभयो । उहाँले जलविद्युत् क्षेत्रमा सरकार, स्थानीय समुदाय, वैदेशिक र निजी क्षेत्रको लगानीलाई समन्वयात्मक रूपमा अगाडि बढाइने बताउनुभयाे ।

युरोपेली आयोगकी उपमहानिर्देशक फेरनले जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न नवीकरणीय हरित ऊर्जाको उत्पादन वृद्धिका लागि सबस्टेसन महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सबस्टेशन निर्माणबाट नेपालको ठूलो समुदाय लाभान्वित हुने भएकाले युराेपेली युनियनका लागि गौरवको विषय भएको उल्लेख गनुभयो ।

जर्मन राजदूत थोमस प्रिन्जले उत्पादित स्वच्छ हरित ऊर्जा उपभोक्ताको घरसम्म पुर्‍याउन ७ करोड युरो अनुदान दिन लागिएको जानकारी दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको हरित ऊर्जाको दिगो विकासका लागि यस क्षेत्रको पूर्वाधारमा लगानी गर्न युरोपली युनियन र यसका सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभयो । उहाँले आउँदाे १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधारमा झन्डै ४६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भएकाले लगानीका लागि आग्रह गर्नुभयो ।

आयोजनाका निर्देशक थर्कबहादुर थापाले सबस्टेशनबाट नेपालको समग्र विद्युत प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले चिलिमे हब–त्रिशूली थ्री बी हब प्रसारण लाइन एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उल्लेख गनुभयो ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतमा चिलिमे हब २२० केभी सबस्टेशनदेखि त्रिशूली थ्री बी हबसम्मको २८ किलोमिटर  २२० केभी डबल सर्किट प्रसारण लाइन र चिलिमे हब २२० केभी सबस्टेशन निर्माण अन्तिम चरणमा छन् ।

अनुमानित लागत ६ अर्ब १९ करोड रुपैयाँ रहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) तथा ईयूको अनुदान सहयोग रहेको छ । ईयूले स्थापना गरेको ईआईबीले आयोजनामा सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेशन निर्माण गरिएको हो । प्रसारण लाइन तथा सबस्टेशनबाट झन्डै १ हजार २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्दछ ।

कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरमध्ये ७० वटाको जग हालिएको छ । बाँकी ५ वटा टावरको आंशिक जग हालिएको छ । ६० वटा टावर खडा गरिएको छ भने १० वटाको काम धमाधम भइरहेको छ । १५ किलोमिटर तार तानिएको छ भने खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बिजुली जोड्नका लागि मल्टी सर्किट लाइन बनाइएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गा–गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढी–पहिरो, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ सङ्क्रमणलगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

प्रसारण लाइन समुद्री सतहदेखि ६८० देखि २ हजार ६०० मिटरसम्म पर्ने भू–भागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । त्याे ठाउँसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरूको ४२ मेगावाट, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन, १४ दशमलव ३ मेगावाटको माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली यही प्रसारण लाइन तथा सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा समाहित हुनेछ ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनिजसँग २०७४ सालको कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ सालको पुसमा कार्यान्वयनमा आएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया