ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – हिमालमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न नेपालले आयोजना गरेको हिमाल, मानव र जलवायु परिवर्तन केन्द्रित अन्तर्राष्ट्रिय संवाद शुरु भएको छ । नेपालका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने स्थल काठमाण्डौको चन्द्रागिरिमा भोलिसम्म हुने दुई दिने अन्तर्राष्ट्रिय संवादको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ । उहाँले पर्वतीय समुदाय र उनीहरूले प्रदान गर्ने पारिस्थितिकीय सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन हुनुपर्ने बताउनुभएको हो ।
सम्मेलनमा विभिन्न देशका ६१ विदेशी विज्ञ तथा पाहुनाको सहभागिता रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
विकसित देशले गरेको उच्च कार्बन उत्सर्जनको परिणामस्वरूप नेपालका हिमालमा हिमस्खलन बढेको छ । हिउँ पग्लेर बगेको पानी समुद्रमा पुग्दा त्यसको सतह बढेर बङ्गलादेश, माल्दिभ्सलगायतका टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको सम्मेलनका संयोजक डा. महेश्वर ढकालले बताउनुभयो ।
प्रधानमन्त्रीका जलवायु विज्ञ डा. पुपलर जेण्टलले यो संवादलाई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमबारे छलफल गर्न सशक्त मञ्चका रूपमा स्थापित गरिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।