ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ समाराेहमा सहभागी हुन आज दिउँसाे नयाँ दिल्ली पुग्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गर्नुभएकाे छ ।
तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले आज बेलुकी प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आजै भेटवार्ता हुने नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ ।
आज बेलुका सवा ७ बजे मोदीले शपथ लिने कार्यक्रम छ । अहिले शपथ ग्रहण समारोहको भव्य तयारी चलिरहेको छ, शपथ समाराेहपछि प्रचण्ड भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
मोदीको शपथ ग्रहणमा श्रीलङ्का र माल्दिभ्सका राष्ट्रपति तथा बङ्गलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि नयाँ दिल्ली आएका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छाेरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रचण्ड भाेलि स्वदेश फर्कने कार्यक्रम छ ।
यसअघि मोदीको पहिलो कार्यकालको शपथ ग्रहणमा स्वर्गीय सुशील कोइराला र दोस्रो कार्यकालको शपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभएको थियो ।
गएको मङ्गलवार भएको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको शपथ हुनेछ । लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसके पनि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।
यसैबीच प्रचण्ड नयाँ दिल्ली गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पाउनुभएको छ । उपप्रधानमन्त्रीको वरीयताका आधारमा महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
तस्बिर : भारतकाे विदेश मन्त्रालय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।