एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

 असार १५, २०८१ शनिबार ६:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा 'एनजी' ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।

यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो । यसअनुसार एक लाख १५ हजार आठ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य भएका थिए । तर शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई यसअनुसार व्यवस्था गर्न भनिएको छ । केन्द्रले लागू गरेको निर्देशिकामा दुई विषयसम्म ननग्रेडिङ ल्याएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुई विषयभन्दा बढीमा ननग्रेडिङमा परे चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउने व्यवस्था रहेकोमा यो व्यवस्थासमेत संशोधन हुने मन्त्रालयले जनाएको छ ।

परीक्षा बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने समयतालिका प्रकाशित गरिसकेको छ । मन्त्रायलको यो निर्णयपछि परीक्षाको समय तालिकामासमेत संशोधन गर्ने तयारी छ ।

ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी र आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाईसमेत निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । यस वर्षको एसईईमा सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको एनजी आएको छ ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया