रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे
मंसिर ६, २०८१ बिहिबार
सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्न लागेको मात्रै थियो, बालाई बाल्कोटे सूर्यसहित बालुवाटार जाने साइत जुरिहाल्यो । बाल्कोटका मान्छेले बालुवाटारको बाटो समात्ने पक्का भएपछि बालुवाटारका मान्छे पोकापन्तुरा बोकेर पुरानै बास खुमलटार लागे । न उथल भयो न पुथल । उथलपुथल उल्टिएको शोकमा समर्थकले बजाएको बाजाको तालमा बाल्कोट र बूढानीलकण्ठतिर फर्किएर धारे हात लगाए : धोकेबाज हौ तिमीहरू !
भित्र पसेर भित्ताको ऐना हेरे । कताकता के नमिलेजस्तो अनुहार धूमिल देखियो । खल्तीबाट रुमाल निकालेर ऐना पुछे । तै पनि आफ्नो आकृति उस्तै धूमिल । समस्या ऐनामा हैन रहेछ भन्ने थाहा पाए पनि अनुहार पुछ्न मन लागेन ।
खुमलटारलाई ऐना हेर्न जाँगर मरेको बेला बाल्कोटमा ऐनाकै चुरीफुरी । बा कहिले ऐना हेरेर जुँगा मिलाउँदै, कहिले भित्ताको ठूलो ऐनाको अघिल्तिर उभिएर दौराको फेर र टोपीको चुच्चो तन्काउँदै । कहिले बालुवाटारको बासको याद, कहिले सिंहदरबारको सिंहासनको सम्झना । कहिले भित्र, कहिले बाहिर । कहिले कसको फोन, कहिले कसको भेट । अन्मिन लागेको बेहुलालाई जस्तै भ्याइनभ्याइ । त्यही बेला बूढानीलकण्ठबाट देउवा आइपुगे ।
‘उता बाढी पहिरोबाट मान्छे मरेर र हराएर बिजोग छ, भन्देखिनलाई तपाईँको चाहिँ आफ्नै चुरीफुरी ।’
‘तपाईँ पनि उदेकलाग्दो कुरा गर्नुहुन्छ, मैले ल्याएको बाढी पहिरो हो र ? अनि मैले खोजेर भेटिने हुन् र ? उनै उथलपुथलको पालामा भएको समस्या उनले नै मिलाउनुपर्थ्या नि ।’
‘ल ल पहिले लुतो फालौँ, लुतो ।’
‘हैन फालिसकेको हैन र भन्या । अस्ति भर्खर संसद्बाट फालिसकेपछि पनि अब के फाल्ने भन्नुहुन्छ ?’
‘हा.. जति बेला पनि ठट्टा नगर्नुस् न । भन्देखिनलाई साउनमा फाल्ने लुतो क्या ।’
‘साउन लाग्नै बाँकी छ, अहिले के को हतार नि ?’
‘साउन त अब लागिहाल्यो नि । उता खुमलटारमा पनि फाल्दैछन् रे ।’
‘उनले त फालेर गैहाले नि बालुवटारको लुतो । अब के बाँकी होला र फाल्नलाई ।’
‘ल ल उता जेसुकै फालुन् । यता हामीले शुरु गरौँ ।’
चलनचल्तीअनुसार लुतो फाल्दा जोडा कागती, निबुवा, अम्बा, अनार, नासपाती, कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीलगायतका फलफूल र वनस्पति चाहिन्छ । तर नागरिकले त लुतो फाल्न चाहिने यी सरसामग्री बिर्सिसकेको बेला नेताहरूले सम्झने कुरै भएन । त्यसैले लुतो फाल्न नेताहरूले आ–आफ्नै परिवेशअनुसार उथलपुथल, आक्रोश, आवेग, आरोपप्रत्यारोप, छलछाम र छलकपटको जोडा बनाए ।
सबैभन्दा पहिले बालकोट पुगेका देउवा लुतो फाल्न अघि सरे । अस्तिताकासम्म प्रचण्डको छलछाम र उथलपुथलको मार । अब ओलीको सङ्गतमा भोलि उस्तै छलछाम र धोकाधाडीको डर । लुतोको मज्जा फाल्नुमा भन्दा कन्याउनुमा छ भन्ने अनुभव देउवासित धेरै नै छ । तै पनि फाल्न त परि गयो । खै खै यता आउ, त्यो ल्याउ, यसो गर, त्यसो गर भन्दै उनी आँगनमा निस्के । कोटको एउटा खल्तीबाट एमालेसँग भएको सहमतिको गोप्य कागज र अर्को खल्तीबाट ज्योतिषीले बनाएको चिना झिकेर ढोगे । अनि नाङ्लोको छेउमा राखे । हातमा पानी लिएर अर्कोतिरका ओली र आफ्नैतिरका गगनको नाम सम्झँदै नाङ्लोमाथि धूप अक्षता र फूलपाती चढाए । भित्तामा टाँसिएको राष्ट्रपतिको फोटोतिर हेरेर मुसुक्क हाँसे । अनि तल भुइँमा मिल्किरहेको प्रचण्डको फोटो एउटा हातमा र अर्को हातमा राँको लिएर आँगनबाट हुत्त तलतिर बत्याउँदै फलाके : लु भनेर भन्देखिलाई लुतो, पिलो, खटिरा, पटिरा, उथलपुथल सबै उतै लैजा है खुमलटारे ।
त्यसपछि पालो आयो ओलीको ।
‘लुतो त अस्ति संसद्मै फालेको हो । तै पनि देउवाजीले रहर गरिहाल्नु भो ।’
‘लुताले दशा ल्याउँछ, पिलाले दशा लग्छ’, ‘लुतेलाई काउसाको मालिस’, ‘लुतो कन्याएको सञ्चो’, ‘लुतो न कन्याइ, मलाई केको बलाइ’ भन्ने उखान फलाक्न थाले । सिरानबाट चुच्चे नक्सादेखि चुच्चे रेलसम्मका फोटो निकाले । उति बेला प्रधानमन्त्री हुँदा भाषण गरेका आश्वासन र दाबीका कागजातको चाङ लगाए । देउवासँग गरेको सहमति र संविधानको धारा ७६ (२) पल्टाएर ढोगे । देउवाको अनुहार र राष्ट्रपतिको फोटोतिर हेरेर सलाम गरे । अनि प्रचण्ड र माधव नेपालको फोटो समातेर खुमलटारतिर बत्ताउँदै फलाके : उति बेला जनै खटिरा लाग्यो भन्दै मलाई लुतो फालेझैँ फाल्ने लुते बाहुनहरूले देख्यौ हैन ? अब कहिल्यै बालुवाटारतिर नफर्कने गरी छलछाम र उथलपुथल आफैँसँग लैजा है खुमलटारे ।
बालकोटबाट लुतो फ्याँकेको राँको आउँदैछ भन्ने थाहा पाएपछि प्रचण्ड पनि आँगनमा निस्के । नाङ्लामा माधव र रविको फोटो राखे । गोजीबाट उथलपुथल र छलकपटको मन्त्र भएको कागज झिके । हेरौँ न कति दिन मिल्दा रहेछन् भन्दै राँको लिएर बाल्कोटतिर हुत्याउँदै फलाके : मने निश्चित रूपमा बालकोटेको पिलो, बूढानीलकण्ठको खटिरो आफैँ राख, बालुवाटारको लुतो चाहिँ फेरिफेरि पनि पालैपालो मलाई दिँदै गर है कांग्रेस–एमाले !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।