पेरिस ओलम्पिक : एलेक्स शाहले राष्ट्रिय कीर्तिमानमा सुधार गरे

 साउन १५, २०८१ मंगलबार १५:३४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस ओलम्पिककाे पुरुष सय मिटर फ्री–स्टाइल स्विमिङमा नेपालका एलेक्स शाहले आफ्नै नाममा रहेकाे राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

आज भएकाे हिट–३ काे प्रतिस्पर्धामा शाहले सय मिटरकाे दुरी ५१ सेकेन्ड ९१ मिलिसेकेन्डमा पार गरे । गएकाे फेब्रुअरीमा कतारको दोहामा भएको विश्व च्याम्पियनशिपमा उनले ५२ सेकेन्ड १७ मिलिसेकेन्डमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

हिट्समा तेस्रो भए पनि एलेक्स अघिल्लो चरणमा प्रवेश गर्न भने सकेनन् । १० वटा हिट्सको प्रतिस्पर्धापछि उत्कृष्ट १६ जना खेलाडी अघिल्लो चरणमा पुग्ने नियम छ ।

नेपाललाई प्रतिनिधित्व गर्दै पेरिस पुगेका ६ खेलमा ७ खेलाडीमध्ये यसअघि ४ जना बाहिरिइसकेका छन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन् ।

अब नेपालकाे तर्फबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ । यस्तै लगातार दाेस्राे खेलमा हार बेहाेरेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले समूह चरणको अन्तिम खेलमा इजरायलका मिशा जिलबरमनसँग खेल्न बाँकी छ ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया