भोलिदेखि शुरु हुने प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अन्तिम चरणमा
मंसिर १६, २०८१ आइतबार
कपिलवस्तु – गएराति गोली प्रहार गरी हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको छ ।
स्थानीय नेता चौधरीको हत्या अजित पाण्डेयले गरेको भन्दै हत्याको विरोधमा पाण्डेयको मोतीभारीमा हरेको २ तल्ले घर, गोठ, गोदाम आगजनी गर्दा झण्डै २ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको हो ।
हत्यामा संलग्न रहेका मुख्य आरोपित अजित पाण्डेय फरार रहेका छन् । घटनाबारे अनुसन्धानका लागि प्रहरीले आरोपित पाण्डेयका दाजु अमित पाण्डेय र स्थानीय युवा दीलिप नाउलाई पक्राउ गरेको छ । आक्रोशित भीडले आरोपित पाण्डेयको घर र घर आसपासका सबै भौतिक सम्पत्तिमा आगजनी गरी पूर्ण रुपमा ध्वस्त पारेका छन् ।
आगजनीबाट १ थान ट्याक्टर, १ थान हार्वेस्टर कम्वाइन, ४ थान मोटरसाइकलमा, २ तल्ले घर, घर अगाडिको गोडठ गोदाम सबै नष्ट भएको छ । यसै गरी आक्रोशित भीडले आरोपित पाण्डेको घरमा आगजनी गर्ने प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच झडप समेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाइफायर र गोली समेत चलाएको छ । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागेको छ । थप २ जना प्रहरी पनि घाइते भएका छन् ।
आक्रोशित भीडले हत्याको विरोधमा हत्या आरोपित पाण्डेयको लवनी चोकमा रहेको परमिला आयल सेन्टरमा पनि आगजनीको प्रयास गरिरहेका छन् । पेट्रोल पम्पको सुक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको ठूलो संख्यामा उपस्थिति रहेको छ ।
हत्या आरोपित पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रहरी प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युतम पुडासैनीलगायतको टोली घटनास्थल लवनीमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।