शेयर कारोबारमा हुने गैरकानुनी गतिविधि रोक्न कडा कानुन ल्याउने तयारी

 भदौ ९, २०८१ आइतबार १२:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले शेयर कारोबारमा हुने गैरकानुनी गतिविधि रोक्न कडा कानुन ल्याउने तयारी गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मस्यौदामा स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि सेयर बजारमा भित्री कारोबार गर्नेलाई कडा कारबाही गर्नेलगायतका धेरै प्रावधान छन् ।

कुनै व्यक्तिले शेयरको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीका आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा जरिबाना बढाइने विधेयकमा उल्लेख छ । भित्री कारोबारमा दोषी देखिए बिगोअनुसारको जरिबाना वा तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यस्तै हुँदै नभएको वा कृत्रिम वा झुटो कारोबार गरेर धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा मूल्यमा तलमाथि गराएको ठहरिने पनि विधेयकमा उल्लेख छ । मूल्य तलमाथि गराएको अवस्थामा पनि बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिमको जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा पाँच लाखदेखि ५० लाख रुपियाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा छ ।

यस्तै सेयर कारोबारमा संलग्न व्यक्तिले धितोपत्र बोर्ड अध्यक्ष र सञ्चालक बन्न नपाउने व्यवस्था पनि विधेयकमा रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा दफाबार छलफलका लागि पेस गर्नुभएको धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदका दुवै सदनमा छलफलपछि पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र लागू हुने छ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया