दुई दिनदेखि बन्द बेनी–दरबाङ सडक खुल्यो

 भदौ ११, २०८१ मंगलबार १२:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – लगातारको वर्षासँगै पहिरो खसेर दुई दिनदेखि बन्द भएको पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक आज बिहानदेखि खुलेको छ । बेनी नगरपालिका–४ तातोपानी र मङ्गला गाउँपालिका–२ सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरो पन्छाएर सडक खुलाइएको हो ।

वर्षासँगै सडकमा खसेर थुप्रिएको ढुङ्गा, माटो र गेगरलाई एक्स्काभेटर मेशिनको सहयोगले हटाएपछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरबाङ सडकमा वर्षासँगै पहिरो खसेपछि गएको शनिवार रातिदेखि नै सडक बन्द भएको थियो ।

पहिरोको अवरोध पन्छाएर सडक खुलेपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । सडक खुलेसँगै पहिरोका कारण बीच सडकमा रोकिएका गाडीहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

पहिरोले सडकमा यातायात सेवा बन्द हुँदा यात्रा गर्न जोखिम हुनुका साथै सिमलचौर–पखेर–मसार भएर घुमाउरो बाटोमा यात्रा गर्नुपर्ने बाध्यता थियो । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको घुमाउनेभीर खण्ड वर्षाकाे समयमा पटकपटक पहिरो खसेर बन्द हुँदै आएको छ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया