'नाडा अटो शो' शुरू : कानूनको पालना गरी सफल व्यवसाय गर्न अर्थमन्त्री पौडेलको आग्रह

 भदौ ११, २०८१ मंगलबार १२:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शो आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको छ । प्रदर्शनीको उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभयो । उहाँले कानूनको पालना गरी सफल व्यवसाय गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । कानूनको पालना गरी व्यवसाय गर्ने व्यवसायीलाई राज्यको साथ र संरक्षण रहने उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने पनि बताउनुभयो । नेपालमा गुणस्तरीय उत्पादन गर्न सकेमा अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने उहाँको भनाइ छ ।

आजदेखि शुरू भएको नाडा अटो शो ६ दिनसम्म चल्नेछ । टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सह–प्रायोजक रहेको अटो शोमा ९५ वटा कम्पनीका लागि साना ठूला गरी एक सय ३० वटा स्टल रहेका आयोजकले जनाएको छ । मेलामा २४ वटा ब्रान्डका चार पाङ्ग्रे, १० वटा ब्रान्डका दुई पाङ्ग्रे र १२ वटा ब्रान्डका हल्का गाडी रहेका नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिनुभयो ।

अहिलेसम्मका नाडा अटो शोमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बाहुल्यता रहेकोमा यस पटकको प्रदर्शनी विद्युतीय गाडी केन्द्रित छ । प्रर्दशनीमा बीवाईडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया, महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कम्पनीका विद्युतीय कार आकर्षणका रूपमा रहेका छन् । अहिलेको सुस्त अर्थतन्त्र चलायमान बनाउन नाडा अटो शोले भूमिका खेल्ने अध्यक्ष चौधरीको दाबी छ ।

नाडा अटो शोमा विभिन्न बैंकले स्टलसमेत राखेर गाडी किन्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेका छन् । यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य सामग्रीका स्टल पनि रहेका छन् । ७५ हजार जनाले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया