चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र

 भदौ १५, २०८१ शनिबार १७:५५:५२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका ६३ वटा ट्रक र  यात्रु बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् ।

कालीकोट शुभकालिकाका गाउँपालिका–१ गगनेखोला सडकको पहिरो हटाउन जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेपालीले पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको बताउनुभयो । गएको बुधवार बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड बेलुकासम्म खुलाउने पहल भइरहेको छ । दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सडक खुलाउन तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताउनुभयो ।

मालाचौरमा गएको पहिरो पन्छ्याएपनि किटु खोलामा सडक भाँसिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ । पहिरो पन्छ्याउने कामलाई तीब्र गतिमा बढाउन सुर्खेत र नेपालगञ्जबाट बुलडोजर मगाएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको पहिरो पन्छ्याएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्नेछ ।

यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पु¥याउन प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाडी भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज र सुर्खेत गाडी पुर्‍याउन नसके करोडौँ रुपैयाँको क्षति हुने चन्दननाथ नगरपालिका–९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोख्नुभयो । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया