यी पर्व, जात्रा, दिवस र जन्मजयन्तीमा खुल्नेछ सरकारी अस्पतालको ओपीडी सेवा

 भदौ १९, २०८१ बुधबार १२:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई पर्व, जात्रा, सार्वजनिक बिदा र जन्मजयन्तीको दिनमा पनि बहिरङ्ग अर्थात् ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले ३४ अस्पताल र प्रयोगशालालगायतका स्वास्थ्य निकायलाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य निकायलाई बिदाका दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरूमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् ।

मन्त्रालयका अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, शिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा अस्पतालको ओपीडी सेवा सञ्चालन हुनेछ ।

त्यस्तै जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा तथा सार्वजनिक दिवस अन्तर्गत गणतन्त्र दिवस, शहीद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसमा पनि अस्पतालको ओपीडी खुल्नेछ । जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुने मन्त्रालयले जनाएको छ । नेपाल चिकित्सक सङ्घले भने सरकारले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया